राष्ट्रपतिका लागि आउँदै छ डेढ अर्बको हेलिकप्टर: नागरिक उड्डयनमा दर्ता, सेनाको रेखदेख

फाइल फोटो।

काठमाडौँ- राष्ट्रपतिसहित अति विशिष्ट व्यक्ति-भीभीआईपीलाई बोक्नका लागि  सरकारले इटालीको निर्माण कम्पनी अगुस्ता वेस्टल्यान्डसँग अर्डर गरेको हेलिकप्टर आगामी मंसिरभित्र नेपाल ल्याउने तयारी गरिएको छ।

एडब्लू १३९ हेलिकप्टर अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन सकिने जनाइएको छ। यस हेलिकप्टरको उडानका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणका  एक जना निरिक्षक पाइलट र नेपाली सेनाका तीन जना पाइलट हाल इटालीमा ‘टाइप कनभर्जन’ प्रशिक्षण गरिरहेका छन्।

पाँच साता लामो प्रशिक्षणको केही अंश मलेसियामा पनि हुने छ। यहि हेलिकप्टरको उडानका लागि नेपाली सेनाका दुई जना इन्जिनियर र नागरिक उड्ड्यनका एक जना निरिक्षक इन्जिनियर पनि इटाली र अमेरिकामा प्रशिक्षण गरिरहेका छन्।

अगुस्ता वेस्टल्यान्डसँग करिब दुई वर्षअघि नै हेलिकप्टर खरिद सम्झौता पाएको थियो। एउटा हेलिकप्टर गत मंसिरमा नेपाल ल्याइसकिएको छ। विपद् व्यवस्थापन र सेनाकै काममा मात्र यो प्रयोग भइरहेको अधिकारीहरु बताउँछन्।

उच्च स्रोतका अनुसार इटालीबाट ल्याउन लागिएको पछिल्लो हेलिकप्टरको लागत करिब डेढ अर्ब रुपैयाँ छ। राष्ट्रपतिसहित अति विशिष्ट-भीभीआईपीहरुको भ्रमणका लागि यो प्रयोग हुने छ। स्रोतका अनुसार यो हेलिकप्टर नागरिक उड्ययन प्राधिकरणमा दर्ता भएर सेनाले चलाउने छ।

व्यवसायिक एयर अप्रेटरको अनुगमन र नियमन नागरिक उड्ययन प्राधिकरणले गर्दछ। यसमा पाइलटदेखि विमानसम्ममा प्राधिकरणले नियमित अनुगमन र नियमन गर्दछ। प्राधिकरणले निर्धारण गरेका मापदन्डलाई ती एयर अप्रेटरले अनिवार्य लागु गर्नुपर्दछ।

‘तर नागरिक उड्ययनभित्र सेना नरहने भएकाले भोलिका दिनमा सेनाले उडाउने त्यो हेलिकप्टरको अनुगमन र नियमन कस्ले र कसरी गर्छ भन्ने अन्योलको विषय हो’, प्राधिकरणका एक अधिकारी भन्छन्। सेनाका आफ्ना हेलिकप्टर तथा जहाज र पाइलट भने नागरिक उड्ययनमा आबद्ध भइरहनु पर्दैन।

‘नागरिक उड्ययनले चाहने एयर अप्रेटिङ सर्टिफिकेट सेनासँग नरहेको अवस्थामा व्यवसायिक एयर अप्रेटरलाई लागू हुने नेप्लिज सिभिल एभिएसन एयर वर्दिनेस रिक्वायरमेन्ट अब सेनालाई लागु गर्ने की नगर्ने भन्ने हो’, ती अधिकारी भन्छन्।

भीआईपी र भीभीआईपीलाई उडाउने सेनासँग चार वटा हेलिकप्टर रहेकामा दुई वटा गत वर्ष चिनलाई बेचिएको थियो। बाँकीमध्ये एउटा बिग्रिएर थन्किएको छ। एउटा भने सन्चालनमा रहेको छ।

हेलिकप्टरतर्फ नेपाली सेनाको आफ्नै चार वटा एमआई, तीन वटा इक्विरल, एउटा वेल ४०७,  २ वटा ल्यान्डसर र  भारतले दिएको एउटा एएलएच ध्रुव छ। यसैगरि फिक्स ट्विन (हवाईजहाज)तर्फ एम२८ स्काई ट्रक र बीएन२T आईल्यान्डर रहेको छ।

इन्डोनेसियामा बनाई राखेको ६० सिट क्षमताको कासा २३५ स्काई ट्रक केही महिनामै नेपाल ल्याउने तयारी सेनाको छ। अमेरिकाले चाँडै ४ वटा स्काई ट्रक दिन लागेको पनि जनाइएको छ।

सेनाका पाइलटको प्रशिक्षणका लागि हालै अमेरिकाबाट किनिएको पाइपर आर्चर नेपाल ल्याईसकिएको छ। ९ सिट क्षमताको पाइपर आर्चर सानो रनवेमा पनि अवतरण गर्न सक्ने नेपाली सेना स्रोत बताउँछ।

नेपाली सेनाले भर्खरै मात्रमा पश्चिम क्षेत्रमा एयर बेस स्थापना गरेको छ। सुर्खेतमा रहेको यो एयर बेसबाट आकस्मिक हवाई सेवाका लागि सेना उपलब्ध हुने छ। चाँडै पूर्वी क्षेत्रमा पनि एयर बेश विस्तार गर्ने सेनाको तयारी छ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्