नाटकको एक दृश्यमा गीता मल्ल, सुशील बिक र पुष्पा विसी(बसेकी)
नाटकमा आफ्ना र आफू हराएकाहरुको कथा

… र ‘हराएकी म’

पिलपिल आँखाबाट आँशु झर्छन्, कसैले आमाको बारेमा सोध्यो भने । आमाको याद आउँछ मन भारी हुन्छ, आँखा रसाउँछन्, टाउको निहुराउछिन् खुट्टाको बुढी औलाले भूईँ कोट्याउँछिन् ।

जाजरकोटकी गीता मल्ल आमासँग बिछोडिएको १२ वर्ष भयो । बुवा कहाँ छन् उनलाई थाहा छैन । न उनलाई सोध्न हिम्मत आउँछ न कसैले बताउँछ । आजसम्म उनलाई आमाले पनि बताएकी छैनन् बुवा कहाँ छन् भनेर । भन्छिन् ‘सोध्यो भने त्यो कुरै ननिकाल भन्नुहुन्छ ।’

विज्ञापन

गीता मल्ल

६ भाइ बहिनी र आमाको परिवारबाट लगभग टाढा नै छिन् उनी । आमालाई ‘आमा’ भनेर अंगालो हाल्न पाएकी छैनन् । लाडे पल्टेर काखमा बस्न पाएकी छैनन् । न त्यो उनको परिवारले दियो न उनको कर्मले ।

गाउँको याद धमिलो छ उनको मनमा । ५ वर्षको उमेरमा काठमाडौँ आइन र ५ कक्षामा पढ्दा एक पटक गाउँ गएकी थिइन् । मलिन उनले भनिन् ‘याद आउँछ’ । कहिले कहि एक्लै टोलाएर डाको छोडेर रुन्छिन् उनी ।

सुशील बिक

पीडा उस्तै हो तर कथा फरक, रुकुमका सुशील बिकको । उनलाई उनको बुवा आमा कहाँ गए थाहा छैन । बुवा आमा कस्तो थिए अनुहार पनि याद छैन । उनले बुवा आमा सशस्त्र द्धन्दका बेला बेपत्ता हुनु भयो भन्ने चाहिँ सुनेका छन् ।

परिवार के हो थाहा छैन उनीहरुलाई । आमा बुवाको माया अहिलेसम्म महशुस गर्न पाएका छैनन् । दुबैले न आमाको माया पाए न बुवाको ।

लौ मेरो छोरीलाई गौरा माताले रक्षा गरुन् । छोरीलाई टिका लगाउँदै आमाले भनिन् । यसलाई सधै खुशी राखुन् । यसलाई ठूलो मान्छे बनाउन् । आमाले छोरीको खुट्टा ढोग्छिन् । लाडे पल्टेर छोरीले आमाको शिरमा हात राख्दै आशिर्वाद दिन्छिन् छोरीलाई धेरै माया गर्नु, गलत गरे पनि गालि नगर्नु । आमा र छोरी बिचको मायाको राम्रो दृश्य हो यो ।

कलाकारहरु

सुदूरपश्चिमको ठूलो चाड गौरा पर्वको माहोल छ । बुवा, आमा, छोरी र हजुरआमाको सानो सुखी परिवार, जो भर्खर बसाई सरेर काठमाडौँ आएका छन् । एउटा शिक्षित परिवार तर जसले आफ्नो धर्म र रिवाज पूरै बिर्सिएको छैन, समाजका केही नराम्रा परम्परा पनि साथ ल्याएर आएको छ । नाटक ‘हराएकी म’ । आमाको भूमिकामा जाजरकोटकी गीता मल्ल, बुवाको भूमिकामा रुकुमका सुशील बिक र छोरीको भूमिकामा नेपालगञ्जकी पुष्पा बिसी छन् ।

पुष्पराज अवस्थी, नाटकका निर्देशक

जसले आजसम्म आमा र बुवाको माया पाएनन् तिनिहरुले आमा र बुवाको भूमिका गरेर छोराछोरीलाई माया गर्ने तरिका सिकाएका छन् । नाटक गर्दा धेरै पटक रोइन गीता आमाको याद आएर । सुशीलका पनि आँखा रसाउँछन् बेलाबेलामा । थाम्न सक्दैनन् उनी आँशु । उनीहरुको मात्र हैन नाटकमा अभिनय गर्ने सबैको दुःखले भरिएको बालापन छ । आ–आफ्नै काहानी छन् ।

काठमाडौँ टौदहको शुभकामना एकेडेमीमा २२ जना अनाथ बालबालिका अध्ययन् गर्छन् । धरैको परिवार छैन । कतिपएका परिवारले वास्ता गर्दैनन् । पढ्न सक्ने स्थिती छैन ।

उनीहरुको सम्पूर्ण खर्च होर्क हाेराक नेपाल संस्थाले गरेको छ । सन् २००५ देखि सञ्चालनमा आएको यो संस्थाले हाल २७ जना द्धन्द पीडित बालबालिकाको सम्पूर्ण खर्च व्यहोरिरहेको छ । २२ जना शुभकामना एकेडेमीमा र ५ जना कलेज पढ्ने संस्थाका अध्यक्ष तेज बिक्रम शाहीले बताए ।

तेज बिक्रम शाही

शाही आफै पनि द्धन्द पीडित हुन् । रुकुम गोतामकोटका शाही द्धन्दको चरम समय २०६१ सालमा उनी हजुर बुवासँगै भागेर बाँकेको कोहलपुर पुगे । रुकुम फर्किन सक्ने स्थिती थिएन । काकाको पछि लागेर काठमाडौँ आए । बालगृह चलाइ रहेका उनका काकाले उनको हेरचाहा गरे । १२ कक्षा पढे अनि हाेराक नेपालमा आबद्ध भए । उनी सन् २०१४ देखि संस्थामा अध्यक्ष छन् ।

उनका अनुसार हाेराक नेपाल संस्था द्धन्द पीडित बालबालिकाहरुको सहयोगको लागि खोलिएको संस्था हो । शान्ति सम्झौता भइसके पछि संस्थाले गरिब, दलित र पढाउन नसक्ने अवस्थाका परिवारका बालबालिकाहरुलाई पनि सहयोग सुरु गर्‍यो । शाही भन्छन् ‘हामीले कुनै पनि शाहारा नभएका बालबालिकाहरुको हेरचाहा गर्छौँ।’

खाने, बस्ने, पढाउने र आफै कमाउने नहुँदासम्म सहयोग गर्ने गरेको उनको भनाई छ । उनीहरुको धरै काममा सहयोग गर्दै आएको छ शुभकामना एकेडेमीले । विद्यालयले ४ वर्षदेखि २२ जना विद्यार्थीहरुलाई न्युन शुल्कमा पढाएको छ ।

‘हराएकी म’

नाटकले एउटी किशोरीको कहानी बोल्छ । हजुरआमा, बुवा, आमा र छोरीको सानो सुखी परिवार । गाउँबाट भर्खर शहर बसाई सरेको छ । हुर्किदै गरेकी छोरी (पुष्पा बिसी)  घरमा सबैको प्यारी छे । सबैसँग लाडे पल्टिन्छे । तर त्यो माया सधैँ टिक्दैन ।

पुष्पा बिसी

छोरी महिनावारी हुन्छे । परिवारले महिनावारी हुँदा हाम्रो समाजले अझै पनि छोड्न नसकेको व्यवहार गर्छ । सबैकी प्यारी छोरी एकै छिनमै सबैको तिरस्कारको पात्र हुन्छे । निर्देशक पुष्पराज अवस्थी भन्छन् ‘महिनावारी भइसकेपछि परिवारले गर्ने व्यवहार नाटकले बोल्छ ।’

अनि नाटक

सानैदेखि सामाजिक कु–संस्कारका विरोधी थिए प्युठानका विजयराज आचार्य । प्युठानमा हुँदै सामाजका नराम्रा परम्पराको खुलेर विरोध गरे । गाउँको उनको परिवार शहर (काठमाडौँ) बसाई सर्‍यो । गाउँमा विरोध गर्दै हिँड्ने उनले परिवारमा पनि कु–प्रथाको जरा बाँकी छ भन्ने भेउ नै पाएनन् । उनको परिवारले बसाई सर्दा त्यो अन्धविश्वास पनि बोकेर ल्याए जसको विजयले विरोध गर्दै आएका थिए ।

पुष्पा बिसी

एक वर्षअघि आफ्नी छोरी महिनावारी हुँदा छोरीलाई श्रीमतीले गरेको व्यवहार गरेको देखेर उनको मन कुँडियो । कुँडिएको मनसँगै उनले नाटक लेखे । अनि बन्यो ‘हराएकी म’ । यसमा उनले आफ्नै काहानी उतारेका छन् ।

बिजयराज आचार्य

नाटकले समाजमा रहेको कुसंस्कारको विरोधसँगै अर्को पाटो पनि बोकेको छ । शुभकामना ऐकेडेमीका प्रधानाध्यापक समेत रहेका आचार्य भन्छन् ‘यसले विद्यार्थीको व्यत्तित्व पनि विकास हुन्छ । नाटकबाट उठेको रकम अनाथ बालबालिकाहरुको लागि खर्च गर्ने उनीहरुले बताए ।

नाटक भदाै २९, ३० र ३१ गते थिएटर मल कीर्तिपुरमा देखाइने छ ।