जग्गा खोज्न आयो आयोगको टोली

बागेश्वरी मन्दिरको जग्गा हिनामिना

नेपालगञ्ज – नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा कति छ ? यतिबेला सर्वत्र चासोको विषय बनेको छ । केही वर्ष बिराएर चर्चामा आउने गरेको बागेश्वरीको जग्गा हिनामिना काण्डले यतिबेला सरकारको ध्यान तानेको छ । मन्दिरको जग्गा कति छ भन्ने अहिलेसम्म यकिन छैन । न त कतै जग्गाको पूरा ‘रेडर्क’ नै भेटिएको छ ।

इन्द्रपुर, खजुराखुर्द, परसपुरलगायत ठाउँमा मन्दिरको जग्गा रहेको छ । मालपोतबाट यी ठाउँमा केही जग्गा रहेको देखिन्छ । कर्मोना (इन्द्रपुर) मात्रै ८४ विगाह जमिन रहेको र तीन सय जनाबढीलाई टुक्रा–टुक्रामा बेचिएको विषयको छानबिन गर्न सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोली नेपालगञ्जमा आइपुगेको छ ।

विज्ञापन

आयोगका सदस्य जगत देउजा र गुठीका कानून अधिकृत जनक पोखरेलको टोलीले तीन दिनदेखि बागेश्वरीको सम्पति खोजिरहेको हो । मन्दिरको नाममा रहेको भनिएको जग्गाको स्थलगत अवलोकन गर्नुका साथै आयोगको टोलीले विभिन्न व्यक्तित्वहरुसँग राय लिइरहेको छ । शुक्रबार बिहान पत्रकारहरुसँग सुझाव लिएको थियो ।

बागेश्वरीको २ सय २५ विगाह जमिन रहेको एकथरी बताउँछन् । आयोगको टोलीले मालपोतमा गएर जग्गाको यकिन गरिरहेको छ । मालपोत कार्यालयमा बागेश्वरीको सबै जग्गा फेला परेको छैन । २०२७, २०२८ र २०५७ सालमा जग्गाको विषयमा निर्णयहरु भएका छन् । यी निर्णयबाट बागेश्वरीको जग्गा व्यक्तिको नाममा गएको छ । आयोगका सदस्य देउजाले २०५७ सालको निर्णय भेटिएपनि अरु मिसिल नभएको जानकारी दिए ।

आयोगले जग्गाको मूलस्रोतको कागजपत्र फेला पारेको सदस्य देउजाले बताए । ‘मूल स्रोत भेटिएकाले हामीलाई छानबिन गर्न सहज नै हुन्छ भन्ने लागेको छ, २०२७/२०२८ सालका निर्णय पनि भेटिए अझ राम्रो हुन्थ्यो, सदस्य देउजाले भने, २०४४ सालमा मालपोतले जिल्ला पञ्चायतलाई बागेश्वरीको चल अचल सम्पत्तिको बारेमा लेखेको पत्र पनि हामीले खोज्दैछौ ।’

मालपोतबाट देखिएको जग्गाको अवस्था कस्तो छ ? कसले भोगचलान गरिरहेका छन् ? आयोगको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । बागेश्वरीको भनिएको कर्मोनाको जग्गामा १ सय २० वटा जति घर देखिएको आयोगको सदस्य देउजाले बताए । ‘यी जग्गाहरु विधिपूर्वक व्यक्तिका नाममा गएको छ कि कानून विपरित गएको छ, त्यो हाम्रो चासोको विषय हो, आयोगका सदस्य देउजाले थपे, यो कुरा हामीले प्रतिवेदनमा छर्लङ्ग पार्छौ ।’

सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न गठन गरेको आयोगमा १ सय ५० वटा उजुरी परेका छन् । त्यसमध्येको एउटा बागेश्वरी मन्दिरको रहेको छ । आयोगलाई ६ वटा म्यान्डेट दिएको सदस्य देउजाले जानकारी दिए । अधिग्रहण गरेको जग्गा हेर्ने, सरकारी, सार्वजनिक र गुठी जग्गाको अवस्था हेर्ने, यस्तो जग्गा हिनामिना गरेको भेटिए कारबाहीको सिफारिस गर्ने, सरकारी दस्तावेज सुरक्षित राख्न र समग्र भूमि नीति कस्तो हुनुपर्छ भन्ने सुझाव दिन आयोग गठन गरिएको छ ।

गुठी संस्थानका कानून अधिकृत पोखरेलले गुठी तैनाथी, गुठी अधिनस्थ, गुठी रैतान र गुठी नम्बरी जग्गा हुने जानकारी दिए । बागेश्वरी मन्दिरको जग्गा गुठीकै भएपनि कुन प्रकारको हो पत्ता लगाउने पोखरेलले बताए ।

मन्दिरको जग्गामा महन्तहरुले रजाई गरिरहेको बेलाबेलामा समाचार आउने गर्दछ । २०५२÷०५३ सालदेखि नै यस्ता समाचार आइरहेका छन् । नेपालको प्रसिद्ध शक्तिपीठमध्येको बागेश्वरीको जग्गा हिनामिनाको विषयले पछिल्लो दुई वर्षदेखि नेपालगञ्ज तातिने गरेको छ । विशेष गरेर जनप्रतिनिधिहरु आएपछि मन्दिरको सम्पति खोजबिन हुन थालेको छ । मेयरको अध्यक्षतामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएको छ ।

यसले लामो समयदेखि बन्द रहेको मन्दिरको बाकस खोलेको थियो । तर, बाकसमा चर्चा गरिएकोजस्तो अमूल्य बस्तु फेला परेन । समितिका सचिव गोपाल अधिकारीले मन्दिरको सम्पति चुस्तदुरुस्त राख्न पहल गरिरहेको बताए । एक प्रश्नमा आयोगका सदस्य देउजाले बिक्री भएको भएपनि मन्दिरको जग्गा फिर्ता ल्याइने बताए ।

खासमा मूल महन्त र महन्तहरुको नाममा कति जग्गा छ र त्यो मन्दिरको हो कि होइन भन्ने विषय पेचिलो देखिन्छ । महन्तहरुले आफ्नो नाममा ल्याएर अरुलाई बिक्री गरेको आशंका रहेको छ ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्