माओवादी युद्धमा मारिएका सैनिककी श्रीमतीको संघर्ष-यात्रा

दीर्घायुको व्रत बसेकै दिन पतिको मृत्युको खबर आएको थियो

शोभा बिसी।

चिट्ठीहरुमा लेखिने शब्दहरु शायद शब्द मात्रै होइनन्। त्यसमा जीवन भरिएको हुन्छ। कहिले काहिँ यिनै जीवन भरिएका चिट्ठीहरुले मन नराम्रोसँग चिमोट्छन्। बर्दियाकी शोभा बिसीलाई चिट्ठीहरुले अहिले पनि चिमोट्छन्, ती चिट्ठीहरु उनका श्रीमानले पठाएका हुन्।

श्रीमानले पठाएका चिट्ठी उनको मृत्युपछि प्राप्त गरिन् शोभाले। आफ्ना जीवनसाथीले पठाएको मायाले भरिएका चिट्ठीहरु उनको मृत्युपछि पाउनु जस्तो पीडा र दुःख शायदै अरु केही होला। शोभाले त्यो असह्य पीडा अहिले पनि बाँचिरहेकी छन्।

शोभालाई नेपाली सेनामा कार्यरत उनका श्रीमानले हुलाकमार्फत पठाएको चिट्ठीको एक अंश

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला अर्घाखाँचीको सन्धिखर्कमा भएको भिडन्तमा मारिनेमा उनका श्रीमान् सुरेन्द्र बिसी पनि थिए। उनका श्रीमान नेपाली सेनामा थिए। लोग्नेको निधन भएको दिन तीज थियो २०५८ सालको। उनी रंगिन लुगामा सजिएर शृंगार गरी तीजको रमझम हेर्न तथा नाच्न जान थालेकी थिइन्।

बिहान ११ बजेको समाचारमा भिडन्तको खबर सुनिन्। उनको मनमा चिसो पस्यो। श्रीमानको दीर्घायुका लागि व्रत बसेकै दिन उनले जीवनसाथीको साथ गुमाउनु पर्‍यो। त्यति बेला अहिले जस्तो मोबाइलको सुविधा थिएन । शोभाले दिदीको पिसिओमा गएर ब्यारेक फोन गरिन्। र, पनि श्रीमानको अवस्थाबारे खबर पाउन सकिनन्। उनका देवर अर्को पिसिओमा थिए। उनले ब्यारेकमा फोन गरे, त्यसपछि मात्रै आफ्ना दाइले वीरगति प्राप्त गरेको खबर पाए।

शोभालाई उनका श्रीमानले हुलाकमार्फत पठाएको चिट्ठी। यो चिट्ठी श्रीमानले वीरगति प्राप्त गरिसकेपछि मात्रै शोभाको हात परेको थियो।

ब्यारेकबाट बोल्नेले फोनमा भनेका थिए, ‘तपाईँको भाउजूलाई हामीले भन्न सकेका छैनौँ।’ त्यसपछि उनी घर आए, भाउजू (शोभा) लाई भने। शोभालाई वीरगति प्राप्त गरेको भन्ने कुराको अर्थ पनि थाहा थिएन। देवरले ‘दाइ अब आउनु हुन्न भनेपछि मात्रै शोभाले थाहा पाइन् कि श्रीमान् अब यो संसारमा छैनन् भन्ने।

मुस्किलले चार–पाँच महिनाको साथ


१७ वर्षको उमेरमा उनको मागी विवाह भएको थियो। बर्दियाको शान्तिनगरमा बेहुली बनेर भित्रँदा उनले देखेका सपनाहरु २१ वर्षका हुँदा टुट्यो। मुश्किलले चार वर्ष पुगेर पाँच वर्ष लाग्दै थियो विवाहको। बिहे हुँदा उनका श्रीमानले नेपाली सेनामा जागिर खाएको केही वर्ष भएको थियो।

२१ वर्षको कलिलो उमेरमा जीवनसाथी गुमाएकी शोभालाई अहिले पनि त्यो दिन चिमोट्ने भएर आउँछ, ‘त्यो दिन अहिले सम्झँदा पनि मलाई गाह्रो हुन्छ। तीजको दिन, श्रीमानको आयु लामो होस् भनेर व्रत बसेको। तर सधैँका लागि श्रीमानसँग टाढा हुनु पर्‍यो।’ त्यति बेला उनकी छोरी तीन वर्षकी थिइन्।

विवाह भएको ती वर्षहरुमा उनी घरमा श्रीमान् काममा। दुवैले सँगै मुश्किलले चार–पाँच महिना मात्रै साथै बिताएका थिए । ती अवधिमा उनीहरुबिच कहिले मनमुटाव भएन । शायद समय नै मिलेन।

श्रीमानको मत्यृपछि आयो उनले लेखेका मायालु चिट्ठीहरु । ती चिट्ठी सम्हालेर राखेकी छन् शोभाले । पत्रमा लेखिएका कुराले उनलाई श्रीमानको याद दिलाउँछ र सँगै मन अमिलो पनि बनाउँछ ।

एक्लिएपछिको कठिन यात्रा


श्रीमानको मृत्युपछि शोभाका असजिला दिन सुरु भए। जीवन साथी गुमाउनुको पीडा थियो । त्यसमा नुन–चुक छर्किने काम परिवार र समाजले गर्‍यो। परिवार र समाजले उनलाई अलच्छिनीको बिल्ला भिरायो। श्रीमानको मृत्युमा उनलाई दोषी देखायो। र पनि उनले हिम्मत हारेकी थिइनन्।

श्रीमानको मृत्युको ४५ दिन नपुग्दै उनको घरमा गाडीमा केही मानिसहरु पुगे । त्यसरी गाउँमा गाडी लिएर आएका मान्छे देख्दा उनलाई आफूलाई नै केही गर्न आएका हुन् कि भन्ने पनि लाग्यो ।

तर ती मध्येकी एक महिलाले भनेकी थिइन्, ‘नडराउनु तपाईँ जस्तै एकल महिला आउनु भएको छ, जो एकल महिला केन्द्रकी अध्यक्ष हुनुहुन्छ।’ शोभाले उनैलाई प्रतिप्रश्न गरेकी थिइन्, ‘त्यसो भए उहाँ मेरो दुःख हेर्ने घरसम्म किन नआउनु भएको त ?’

एकल महिला केन्द्रकी अध्यक्ष थिइन् लिली थापा । शोभा घरमै बस्न चाहन्थिन् विभिन्न आरोपहरुका बाबजुद । तर लान्छनाको लहर सहन सक्ने अवस्थाको रहेन । केही समयपछि आरोपहरु सहन नसकेर उनी छोरी पढाउन भनेर कोहलपुर आइन् ।

त्यतिबेलासम्म उनलाई लिली थापा अध्यक्ष रहेको मानव अधिकारका लागि महिला एकल समूहकाबारे केही जानकारी थियाे । त्यो बिचमा उनले सेनाले दिएको सिलाइकटाइको तालिम लिएर टेलर पनि खोलेकी थिइन् । एक्लिएपछिको कठिन यात्रामा उनलाई त्यसैले साथ दियो ।

उनले एउटा नमिठो अनुभव सुनाइन्, ‘त्यो बेला सशस्त्र द्वन्द्वमा परेर वीरगति परेकालाई तक्मा दिने भनिएको थियो । म पनि काठमाडौँको यात्रामा थिएँ । मैले अलि कालो लुगा लगाएकी थिएँ । हातमा चुरा थिएन् । गलामा पोते र सिन्दूर पनि नाई ।

मलाई बारम्बार एकजना पुरुषले अलि अर्को तरिकाले कहाँ जाने हो ? विवाह भएको छ कि छैन ? भनेर सोधीरहेका थिए । उनको प्रश्नले मलाई असहज भएको थियो । मैले संसार छोडेका मेरो श्रीमान जिउँदै भएको बताए ।’

शोभाले घटनाको बिस्तार लगाइन्, ‘मैले ती मानिसलाई आफ्नो विवाह भएको र श्रीमान् बसपार्कमा लिन आउने बताएँ ।’ त्यो दिनको घटनाले दुःख लाग्यो तर धेरै कुरा सिकेँ पनि ।

सेतो लुगासँगको विमति


तक्मा लिन काठमाडौँ आएका उनीहरुलाई सेनाले कस्तो पहिरन लगाउने पनि भनेको थियो । उनले सुनाइन्, ‘हामीहरुलाई सेतो सारी लाउन र तक्मा लिँदा झुक्ने वा कसरी लिने भनेर सिकाइएको थियो ।’ राजाले तक्मा दिँदै थिए ।

आफ्ना श्रीमानको बलिदानका लागि दिईँदै गरेको तक्मा उनलाई सेतो पहिरनमा लिन मन थिएन । बसमा आउँदा ती पुरुषको व्यवहार र लुगाप्रतिको सानैदेखिको मोहले पनि उनलाई सेतो पहिरन लाउनै मन लागेन ।

श्रीमानको बलिदानका लागि दिईँदै गरेको तक्मा ग्रहण गर्दै शोभा ।

उनले रातभरि आफ्नो एक साथीलाई सम्झाइन् रातो सारी नलगाए पनि अरु रंगको सारी लगाउ है भनेर । अनि दुईजनाले हरियो सारी लगाएर तक्मा लिन जाने भए । उनले सम्झिइन्, ‘हामीले रातभरि लगाएर सारीमा फल्स हालेका थियौँ । अनि एक दिनमा ब्लाउज सिलाएका थियौँ ।’ अरु भन्दा फरक पहिरन हरियो सारीमा तक्मा लिन गएका उनीहरुलाई आर्मीले मुख्य गेटमै रोकेको थियो । उनले पनि आफ्नो कुरा राखिन् ।

उनको कुरा भित्रसम्म पुग्यो । त्यसपछि उनीहरु दुईलाई भित्र छिराइयो । राजाबाट लिने तक्मा आफूहरुले लुगाको रंगमा क्रान्ति गरेर लिएको उनलाई लाग्छ । तीजको दिन श्रीमान् गुमाएकी उनले त्यसपछिका वर्षमा एकल महिलाहरुलाई चुरापोते उपहार दिने अभियान चलाइन् । उनीहरुलाई मनाउन थालिन् ।

संकटकालको बेला थियो, उनले सेना र बिद्रोहीबाट मारिएकाका श्रीमतीहरुलाई एकैठाउँमा ल्याएर सिलाइकटाइको तालिम पनि दिइन् ।

अहिलेकी शोभा


श्रीमान गुमाउँदा २१ वर्षकी शोभा अहिले ३९ वर्षकी भइन् । त्यो बेला तीन वर्ष रहेकी उनकी छोरी अहिले स्नातक पढ्ने भएकी छन् । पहिला घरबाट बाहिर निस्किन डराउने शोभा अहिले अरुको लागि बोल्ने भएकी छन् । मानव अधिकारका लागि महिला एकल समूहको उपाध्यक्ष, सैनिक एकल महिला तथा घाइते समूहकी अध्यक्ष्य भएकी छन् ।

उनी अहिले विभिन्न मन्त्रालयमा गएर सजिलै आफू जस्ता धेरै पीडितका कुरा राख्ने अवस्थामा पुगेकी छन् । उनकी छोरीले कानून पढ्दै छिन् । उनले भनिन्, ‘जीवनमा मैले कानून नबुझेर पनि पीडितका लागि लडेँ अब छोरी कानून बुझेर दुःखीहरुका लागि लडोस् । देशमै राम्रो काम गरोस् ।’

उनले नजानेरै सुरु गरेको अधिकारको यात्रामा सफलता पाएका छन् । उनी र उनीहरु जस्ताले आधा पेन्सन पाउँदै आएकोमा हाल पूरा पाउने भएका छन् । अरु केही कुरा पनि पुगेको छ । केही पूरा हुने क्रममा छन् । अलक्षिनीको आरोप लागेकी उनी हाल अरुको सारथी बनेकी छन् ।

भिडियो हेर्नुहोस्:

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्