नागरिकता प्रकरणमा मुछिएका वडाध्यक्षसहित १० जना धरौटीमा छुटे

जिल्ला अदालत कास्की, पोखरा। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार

पोखरा– तिब्बती शरणार्थी दुई युवतीलाई नागरिकता दिलाएको प्रकरणमा मुछिएका पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित १० जना धरौटीमा छुटेका छन्।

नागरिकता लिने तिब्बती युवती, बाबु बनेर सनाखत गर्ने र सर्जमिन मुचुल्कामा दस्तखत गर्नेसहित १० जनालाई जिल्ला अदालत कास्कीले शुक्रबार धरौटीमा हिरासतमुक्त गर्न आदेश गरेको हो।

विज्ञापन

बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगरलाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न न्यायाधीश डण्डपाणि शर्माको इजलासले आदेश गरेको छ।

सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर, पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

वडाध्यक्ष र वडा सदस्य यसअघि नै महानगरमा जिम्मा जमानीमा हिरासतमुक्त भएका थिए। बाँकी अरु पनि शुक्रबारै धरौटी बुझाएर बाहिरिएका छन्।

मुद्दा दर्ता भएका ४ कर्मचारी भने हालसम्म फरार छन्। जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायव सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल र रामचन्द्र थापा भने अदालतमा उपस्थित भएका छैनन्।

उनीहरुलाई पक्राउ गर्न अदालतबाट आदेश लिई खोजी कार्य जारी राखेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए।

आरोपित १४ जनामध्ये बाबु बनेर झुठो विवरणमा सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने तिब्बती शरणार्थीलाई नागरिकता ऐन, २०६३ को दफा २१ (१) बमोजिम ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना माग गरिएको थियो।

वडाबाट सिफारिस दिने वडाध्यक्षसहित सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ७ जनालाई उक्त ऐनको दफा २१ (२) बमोजिम ३ वर्ष कैद र ५० हजारसम्म जरिवाना माग दाबी गरिएको थियो।

जिल्ला प्रशासनका शाखा अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल र रामचन्द्र थापाका हकमा उक्त ऐनको दफा २१ (७) बमोजिम उपदफा १, २, ३ ले व्यवस्था गरेको सजायको आधा माग दाबी गरिएको छ।

नागरिकता लिने युवतीको जन्मदर्तामा संलग्न पञ्जिकाधिकारीद्वय विष्णुप्रसाद पौडेल र राजेन्द्र पौडेलका हकमा भने मुद्दा दायर गरिएको छैन।

पूर्व स्थानीय पञ्जिधिकारी विष्णुप्रसाद पौडेललाई पक्राउ गर्न प्रहरीले अदालतबाट आदेश लिईसकेको छ। उनीसमेत फरार रहेको प्रहरीको भनाई छ। हाल उनी राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरामा कार्यरत छन्।

वडाध्यक्ष थापा र वडा सदस्य थापा साउन ३१ गते पक्राउ परे पनि महानगरपालिकाको जिम्मा जमानीमा भदौ ४ गते छुटेका थिए। बहालवाला स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेलसमेत परिवारको जिम्मा जमानीमा भदौ ५ मा हिरासत मुक्त भइसकेका छन्।

पोखरा १८ सराङकोट निवासी लेखबहादुर थापाले हेम्जाको तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका आफ्ना २ नातिनीलाई छोरी बनाई कास्कीबाट नागरिकता उपलब्ध गराएको भन्दै उजुरी परेको थियो।

उक्त प्रकरणमा प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालय मार्फत मंगलबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको थियो।

जेठ २६ गते र असार ६ गते जारी भएका २ नागरिकता भने जिल्ला प्रशासन कार्यालयले यसअघि नै खारेज गरिसकेको छ। तत्कालीन सिडिओ चक्रबहादुर बुढाले छानबिन थालेर यो विषयमा कारबाही प्रक्रिया अघि बढाएका हुन्।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू