संरक्षणकाे अभावमा विस्तापित हुँदै मिथिलाको लोक बाजा ‘रसन चौकी’

जनकपुरधाम– मैथली संस्कृतिको आफ्नै भाषा, साहित्य, नाच–गान र बाजासहितको ऐतिहासिक र साँस्कृतिक पहिचान छ।

तर पछिल्लो समय युवा पुस्ताले विविध कार्यक्रमहरुमा मिथिलाको लोक बाजाको रुपमा रहेको रसन चौकीको साटो ब्याण्ड बाजा र डिजेको प्रयोग गर्न थालेपछि उक्त लोक बाजा लोप हुने अवस्थामा पुगेको छ।

ब्याण्ड बाजा र डिजेको प्रयोगमा नयाँ पुस्ताको आकर्षण बढेपछि रसन चौकी बजाउनेहरुको आम्दानी दिनप्रतिदिन घट्दै जाँदा मिथिलाको यो लोक वाद्ययन्त्र लोपान्मुख अवस्थामा पुगेको हो।

मिथिलामा बिहे, व्रतबन्ध, मुण्डन लगायत दशैँ, छठसहितको पर्वमा रसनचौकी वाद्ययन्त्र बजाउने परम्परा रहेको थियो। रसन चौकी बजाउने कलाकारहरुको संख्यामा दिनानुदिन घट्दै गएको छ। उनीहरुसमेत आधुनिक बाजामा आकर्षित हुँदै गएका छन्।

रसन चौकी लगायतका मिथिला क्षेत्रमा बजाईने बाजालाई जातियतासँग जोडिएको हुनाले युवाहरुमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका लोकबाजाप्रति विकर्षण बढेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षीले बताए।

प्रेमर्षीका अनुसार मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रुपमा लिइन्थ्यो। तर कलान्तरमा गएर यो पेशालाई जातियतासँग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरुको दुर्दशा सुरु भयो।

मिथिला क्षेत्रमा रसन चौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरु चमार जातिले बजाउने गर्छन्। वाद्ययन्त्र बजाउने पेशालाई तल्लो स्तरमा राखेर हेर्न थालिएपछि बजाउनेहरुमा पनि हिनताको भावना पैदा भएको छ। जसका कारण चमार जातिका युवाहरुसमेत अन्य पेशामा रमाउन थालेका छन्।

लोक बाजा बजाउँदै आएका धनुषा जिल्लाका धनौजी गाँउपालिकाका रोशन रामले मनोरञ्जनका लागि मात्रै अब रसनचौकी बजाउने गरेको बताए। उनले रसनचौकी बजाएर जिविका नचल्ने भएपछि वाध्यताले आधुनिक बाजागाज बजाउनु परेको बताए।

अर्का रसन चौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिला विहारी मन्दिरमा मात्रै बेलुका आरतीको समयमा रसनचौकी बजाउने गरेको बताए। उनले रसनचौकी बजाएर जिविका चलाउने उपाय नभएपछि जहाँबाट पैसा आउँछ परिवार चलाउन त्यही काम गर्ने गरेको बताए।

रसन चौकी लगायतका वाद्ययन्त्रलाई पुनर्जीवन दिनका लागि युवाहरु अगाडी आउनु आवश्यक रहेको प्राज्ञ प्रेमर्षीले बताए। उनले जातीय विभाजनलाई त्यागेर युवाहरुले ब्याण्ड निर्माण गरी मिथिलाको लोक बाजासहित लोकगीतहरुको संरक्षणतर्फ अगाडी आए मात्रै यसको संरक्षण गर्न सकिने बताए।

यता प्रदेश–२ सरकारले ढोल, पीपही, डम्फा, झाल, डमरु, सारंगी, घुना तिसि, करताल, सिंग्हा आदि परम्परागत बाजाहरु लगायतका मौलिक तथा परम्परागत साँस्कृतिक पहिचान बोकेका बाजाहरुलाई संरक्षण गर्न विशेष सहुलियत दिई साँस्कृतिक महोत्सवको आयोजना गरी प्रदेशको पर्यटन विकाससँग जोडिने निति लिएको बताउँदै आएकाे छ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्