रोगले थलिएका एक युवा पत्रकारको अनुभूति

‘के गरिब हुनु पाप हो?’

जीवनको यात्रा गर्दागर्दै कहिलेकाँही नसोचेको बिन्दुमा पुगिने रहेछ। धेरैले भन्ने गरेको ‘सेकेन्ड चान्स’ हुँदैन रहेछ। त्यहाँ पुगेपछि फर्कन सकिँदैन र अगाडि बढ्ने बाटो हुँदैन। तर झिनो आशा भने झुण्डिएको हुने रहेछ, जसलाई भेट्न कठोर परिश्रम गर्नुपर्ने रहेछ।

म परिश्रमसँग डराउने मान्छे त हैन, तर के गरुँ परिश्रम गर्न ज्यानले भर दिएको पनि हुनु पर्‍यो नि! ‘पहाडै फोर्न सक्छु’ भन्ने मेरो शक्ति चार महिनादेखि अस्पतालहरुमा छरिएको छ। मेराे आत्मविश्वास परिवार, चिकित्सक र आफन्तबीच रुमलिएको छ। गतिशील मेरो जीवन अहिले अड्किएको छ।

विज्ञापन

पेशाले पत्रकार,

उमेर २३ वर्ष

स्थायी ठेगाना, दैलेख भगवतीमाई गाउँपालिका–२, वीरेन्द्रनगर सुर्खेतबाट काम गर्छु। हाल लोकन्थलीको एक घरको कोठामा बसिरहेको छु। मात्र केही महिना भयो, मेरो दैनिकी के थियो के भयो!

काममा मग्न थिएँ, व्यस्त थिएँ। नियमित खानपान, व्यायाम गर्न समय नै पुगेन अथवा प्राथमिकतामा परेन। पढाई, परिवार अनि कामलाई सोच्दा सोच्दै आफ्नो शरीरको बारेमा सोच्नै भ्याइन।

पातलो आङको मेरो ज्यान देखेर आमाले भन्नुहुन्थ्यो, ‘खाना खान्नस् कि क्या हो ? आफ्नो ज्यान भएन भने केही हुँदैन।’ मेरो धपेडी शायद आमाले बुझिन् तर मलाई शरीरबारे सोच्ने फुर्सद तब मिल्याे जब बिस्तारबाट उठ्न नसक्ने भएँ।

मेरो पेशा नै व्यस्त हुने खालको छ। गत जेठ महिनादेखि म रोगबाट उन्मुक्ति पाउन खोजिरहेको छु। अस्पताल चाहार्दैमा महिना बितिरहेका छन्। काममा दौडँदा दौडँदै बिरामी भएँ। झण्डै एक महिना सुर्खेतका सरकारी र निजी अस्पताल धाउँदैमा बित्यो।

सुर्खेत अस्पतालमा जाँच गर्दा शरीरमा रगतको कमी देखियो। १५–१५ दिनमा परीक्षण गर्न आइरहन चिकित्सकले सुझाए, यतिबीचमा मैले औषधी खानुपर्ने पर्ने भयो। टाउको दुख्यो, पेट दुख्यो भने एक चक्की औषधिले दुखाई कम गर्थ्यो तर मेरो समस्या घट्ने तरखरमा थिएन।

संघीय व्यवस्था लागु भएपछि सुर्खेत कर्णाली प्रदेशको राजधानी घोषित भइसकेको छ। तर अस्पतालले दिने सेवा, सुविधा र स्वयं अस्पतालको अवस्था देख्दा उदेक लाग्छ।

यहाँ कतिपय रोग पहिचान गर्न चिकित्सकले परीक्षणकालका लागि अनुमान गरेर औषधि दिन्छन्। आवश्यक प्रविधि र उपकरणकाे अभाव छ।

सुर्खेतको उपचारले निको नभएपछि म कोहलपुर मेडिकल कलेज पुगेँ। वीर अस्पतालमा कार्यरत श्रेष्ठ थरका डाक्टरले हेरे । खाना नपच्ने र हिँडडुलमा समस्या थियो। कमजोरी महशुस हुन्थ्यो। उनले मलाई ग्यास्ट्रिक भएको निष्कर्ष निकाले । झण्डै १५ दिनको औषधि खाएर पुनः आउन निर्देशन दिए।

औषधि सकियो, शरीरमा समस्या झन् बढ्दै गयो। ज्यान शिथिल हुँदै थियो, आत्मबल घट्दै गयो। के गर्ने कसो गर्ने, केही उपाय सुझेन।

पारिवारिक सल्लाहअनुसार भारतको अहमदावाद उपचारका लागि बाटो तताएँ। अंकल (काका) रोजगारीका लागि उतै बस्नुहुन्छ, बिरानो ठाउँमा उहाँको साथले मलाई केही सहज बनायो। डा.जीवराज मेहता स्मारक हेल्थ फाउन्डेसनमा १५ दिन उपचार गराएपछि थाहा भयो, मलाई ग्यास्ट्रिक होइन, ‘वोनम्यारोमा एप्लाष्टिक एनिमिया’ भएको रहेछ।

मैले थोरै अनुमान लगाएँ कस्तो खालको रोग हो। निको कसरी हुने भन्नेमा मलाई चिकित्सकले हौसला देलान् भन्ने लागेको थियो। किनकी अहिलेलाई मेरो भगवान, जीवनदाता त उनी नै थिए।

तर, डाक्टरले उपचार गराउन ‘आर्थिक समस्या हुन्छ, महँगो छ तिमी सक्दैनौ’ भनेर डिस्चार्ज गरिदिए। मलाई निको बनाइदेलान् भनेर आस्था राखेका उनले अर्धसरकारी अस्पतालमा पनि उपचार खर्च कति लाग्छ समेत भनिदिएनन्। मनमा धेरै कुरा आयो।

‘ती डाक्टरले किन मलाई डिस्चार्ज गरे, के पैसा नहुनु पाप हो? मैले मेरो बलबुताले भ्याउनेसम्म उपचार गर्न नपाउनु? अथवा मलाई लागेको रोगको उपचार नै छैन कि क्या हो?’

मनले कहाँ मान्छ र ! हामी ‘जहाँ केही छैन, त्यहाँ आशा हुन्छ’ भन्दै हिँड्ने मान्छे, यसै हरेस खान त सक्दिन नि! निजी क्लिनिकमा रिर्पोट देखाउँदा ४० लाख रुपैयाँ खर्च लाग्ने निष्कर्षमा पुगियो।

‘४० लाख !’

सामान्य रोजगारी गरी परिवार पालिरहेको मैले भविष्यको बारेमा भर्खर सोच्दै थिए। कमाउन थालेपछि मेरो घर सामान्य हुन खोजिरहेको थियो। मैले भविष्यमा काम आउला भनेर जोगाएको के थियो र ? मेरो उपचार सम्भव भयो त?

मन दुख्यो, पिरो भएर। सोच्ने कुरा पनि केही भएन। घर व्यवहार धानेर बसेको छोरा बिरामी हुँदा ‘केही हुन्न, टारौँला’ भन्ने मेरी आमा पनि मौन भइन्। यति रकम जोहो गर्ने हैसियत हाम्रो छैन भन्ने थाहा थियो।

पैसा नै नभएर म उपचार नपाउने अवस्थामा पुगेपछि विधवा आमा र हजुरआमा, काका, काकी सबैमा निरासा छायो। अध्ययन र परिवारको जिम्मेवारी धानेको मेरो पेशाले सुर्खेत र कोहलपुरमै उपचार गर्न हम्मे हम्मे खेपेको थियो। जीवन सामान्य भएन अब।

एकातिर आर्थिक अभावको चिन्ता थियो, अर्कातिर रोग निको होला कि नहोला भन्ने चिन्ता। शरीरलाई नियमित औषधिसँगै हप्तामा दुई पटक रगत चढाउनुपर्ने अवस्था थियो। रातो रगत, सेतो र प्लेटलेट्स उत्पादन नै नहुँदा शरिरले निकै कष्ट सहनु पर्‍यो त्यो भन्दा धेरै मन शिथिल हुँदै गयो।

क्लिनिकबाट डिस्चार्जपछि सिभिल अस्पतालले भर्ना लिन मानेन। मेरा अंकल प्रेम शर्मा गुजरातमा बस्दै आएको राशन कार्ड र म उपचारकै लागि नेपालबाट केही दिन पहिले अहमदावाद पुगेको जानकारी दिएपछि अस्पतालले भर्ना लियो।

सरकारी अस्पतालको उपचार सहुलियत नसोचेकै थियो। बोनम्यारो ट्रान्सप्लान्टका लागि सरकार मुख्यमन्त्री राहत कोषबाट आठ लाख रुपैयाँ पाइँदो रहेछ। तर भारतीय नागरिक बाहेक अन्य देशका नागरिकलाई अस्पतालले सहुलियत दिँदो रहेनछ।

सिभिल अस्पतालले पनि ट्रानप्लान्टका लागि आवश्यक रकम जम्मा गरेर आउनु भन्दै १५ दिनका लागि डिस्चार्ज गरिदियो। भारतमा उपचार गराउन नसक्ने अवस्था भएपछि वाध्यताले नेपाल फर्किनु पर्ने भयो।

काठमाडौँको सिभिल सर्भिस अस्पतालमा बोनम्यारो ट्रानप्लान्ट हुन्छ भन्ने सुनेको थिएँ तर प्रक्रिया, सेवा सुविधा कस्तो छ, त्यसबारे त्यति जानकार थिइन। डिस्चार्ज भएकै भोलिपल्ट साउन १४ गते रोगी शरीर र मनदेखि निरोगी हुन पाउँ भन्ने भगवानसँग प्राथना गर्दै नेपाल फर्केँ।

संयोग पनि कस्तो, जुन दिन उपचार खर्च नपुग्ने भएर म भारतबाट नेपाल फर्कँदै थिएँ, त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो उपचारको लागि सिंगापुर जाँदै हुनुहुन्थ्यो। तपाईँ उपचार गरेर फर्किसक्नु भयो म अस्पतालमा बेड कुरेर बसिरहेको छु। तपाईँलाई सुस्वास्थ्यको कामना छ।

रोग बोकेर दौडिनु रहर होइन, बाध्यता हो। दुई दिन भएपनि निरोगी अनुभूत गरी बाँच्न पाइयोस्, रहर यो छ। यही रहरले तपाईँलाई सिंगापुर पुर्‍यायो, म काठमाडौँ फर्किए।

सुविधा सम्पन्न मुलुक पुगेर यहाँले मृगौलाको प्लाज्माफेरेसिस गराउनु भयो। बोनम्यारोमा एप्लाष्टिक एनिमियाबाट ग्रसित म संघीय राजधानीमा रहेको सिभिल सर्भिस अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टका लागि बेड कुरेर बसिरहेको छु।

तपाईँ राम्रो हुनुहोस् कामना तर हाम्रो मुलुकमा गरिब र विपन्न नागरिकले उपचार पाउन सक्ने अवस्था नै छैन्, प्रधानमन्त्री ज्यू। खासमा मलाई उपचारका लागि बाहिर देश पनि जानु छैन।

राजनितिक दलका नेता र सरकारका नेतृत्वकर्ता तथा म जस्ता आम सर्वसाधारणलाई मुलुकमै समयमा भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पताल बनाई दिनुहोस् यो अनुरोध छ।

साउन १७ देखि म सिभिल अस्पतालमा उपचारार्थ छु। सुर्खेत, नेपालगञ्ज, भारतसम्म पुग्दा आफन्तको सरसहयोगबाट भयो। पत्रकार भएर पैसा कमाउन नसकेको भएपनि आफन्त कमाएको रहेछु।

आर्थिक संकट टार्न सुर्खेत लगायत देश विदेश पुगेका नेपालीहरुले सहयोग गर्नुभयो, कति ठाउँमा गुहार मागिसकियो। भारतमा उपचारका लागि लाग्ने खर्चभन्दा बेड कुरेर काठमाडौँमा बस्दा लाग्ने खर्च आधा जस्तो देखियो। मुलुकमा एकातिर चर्को महँगी छ भने अर्कातिर उपचारका लागि भरपर्दो सेवा छैन।

उपचारका लागि योग्य जनशक्ति र प्रविधि कम छ। यसले रोग पहिचान भए पनि देशमा उपचार गर्न असहज बनाइदिएको छ। रोग पालेर बस्नुपर्ने बाध्यता छ। मजस्ता हजारौँ व्यक्ति समयमा उपचार नपाएर थला परेका छन्।

यसलाई टुलुटुलु हेर्नु बाहेक म केही गर्न सक्दिन। मलाई त अहिले चाँडै निको भएर घरपरिवारसँग बस्न, जन्मथलो पुग्न र कर्मथलोमा रमाउन मन छ। तर म बेड कुर्दैछु।

कस्तो बिडम्बना संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरेको छ। अनिवार्य र गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने अवस्था निमुखा र विपन्नका लागि छैन।

सहुलियत दिने, स्वास्थ्य बीमा लगायतका उपचारमा सहुलियतबारे जानकार नै छैनन् आम नागरिक। जानकार भए पनि सरकारले दिने सहुलियत एक लाख रुपैयाँ रोग पत्ता लगाउँदैमा सकिन्छ। रोग पत्ता लागेपछि ऋण, घर, खेतले पनि उपचार सम्भव हुँदैन।

मलाई विदेशी भूमिमा उपचार गराउन हैन, यही उपयुक्त उपचार होस् भन्ने चाहन्छु। भारतबाट नेपाल फर्किएपछि जब म सिभिल अस्पतालमा भर्ना भए, मलाई धेरैले भेट्न आउनुभयो। उहाँहरुको माया र साथले मेरो ओइलाएका हौसला फेरि फलाएको छ।

म दीर्घ जीवन बिताउन चाहन्छु। एक नेपाली नागरिकले निरोगी भएर देश र नेपाली माटोका लागि केही गर्ने चाहना राख्दछ। अकालमै मृत्युवरण हुने रहरले अस्पताल पुगिँदैन।

तसर्थ समयमा उपचार पाउँ। स्वास्थ्य सेवा गुणस्तर होस्। उपचारको लागि कसैले पनि विदेश जानुपर्ने बाध्यता अन्त्य होस्। सबैले उपचार पाएर एक दिन मुलुक बनेको देख्न पाउन्, रोगी व्यक्ति निरोगी भएर देशको निम्ति केही गर्न पाउन्।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्