एक रुपैयाँमा तीन दाना स्याउ !

धनगढी– बजारकाे अभावमा बाजुराको जुकोटका किसानले एक रुपैयाँमा तीन दाना स्याउ बेच्ने गरेका छन्।

सडक यातायातको पहुँच नभएपछि बारीमा फलेका स्याउ बिक्रि नभएर त्यत्तिकै कुहिने गरेका र बिक्रि भइहाले पनि सस्तोमा बेच्नु पर्ने अवस्था रहेको स्थानीय कृषकहरु बताउँछन्।

विज्ञापन

शहर बजारमा ताजा स्याउ महँगो मुल्य तिरेर खान खोजे पनि पाउन नसकिरहेका वेला बाजुरामा भने बारीमा त्यत्तिकै स्याउ कुहिरहेका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीले बारीमा १२ सय स्याउका बिरुवा रोपेका छन्। शाहीले स्याउ खेती गरेको १५ बर्ष भयो।

‘वर्षौदेखि बारीमा लटरम्म स्याउ फल्छन् तर बजार अभाव छ त्यत्तिकै खेर गईरहेका छन’, शाहीले भने, ‘लाखौं मुल्य बराबरका स्याउ खेर जान्छ, किन्ने कोही आउँदैन, बजारसम्म भरिया लगाएर पुगाउन सकिँदैन, बस्तु भाउलाई दिने गरेका छौँ।’

बारीमै आएर किन्नेलाई उनले एक रुपैयाँको तीन दाना दिने गरेका छन्। कसैले तौलेर लग्यो भने किलोको १५ रुपैयाँमा दिने गरेको महेन्द्रले बताए। स्वामीकार्तिक खापर गाउँपलिकाबाट कोल्टीमा रहेको बजारसम्म पर्‍याउन भारी बोकेर दुई दिन लाग्छ। कोल्टीको यातायात वर्षायाममा बन्द हुने भएकाले पनि बजारसम्म पुर्‍याउन नसकिएको उनले बताए।

महेन्द्रको जस्तै हिमालको नजिकका गाउँका दुई सय भन्दा बढी किसानसँग स्याउको बगैँचा छ। प्रत्येक परिवारको बारीमा तीन सय भन्दा बढी स्याउका बोट छन्। सबैको समस्या बजारकै छ।

बाजुरको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साविकको जगन्नाथ गाविस क्षेत्र र बुढिनन्दा नगरपालिकाकाको साविकको पाण्डुसेन गाविसमा अत्याधिक मात्रामा स्याउ फल्छ।

त्यस क्षेत्रमा स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको खर्चको एकीन डाटा छैन। किसानहरुले हौसलाका साथ स्याउ फलाए तर बजार नपाएर समस्यामा परेको गुनासो गरेका छन्।

स्वामीकार्तिक गाउँपालिका र जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। राम्रो ग्रेडको स्याउको मुल्य किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यही १५ रुपैयाँ पनि किसानलाई बढी लागेको छ। ‘एक रुपैयाँ एक दाना त कोही किन्दैनन्, १५ रुपैयाँ किलो त महँगो नै भयो नी, ४/५ दानामा किलो भई हाल्छ’ किसान गजुर शाहीले भने। जुकोटमा मात्र २ सय भन्दा बढी परिवारले स्याउ खेती गरेका छन्।

किसानहरुले वर्ष दिनमै फल दिने कल्मी स्याउहरु लगाएका छन्। गाउँपालिका अध्यक्ष चिरन्जीबी शाहीले भने, ‘सानो बोटमा पनि लठरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा यातायात नै नभएकाले किसानहरु निरास छन्।’

यता केहीदिन अघि मात्र जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले बारीबाटै स्याउ ढुवानी गर्ने व्यवस्था गरेको छ। कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीका अनुसार बाजुराको हिमाली, स्वामिकार्तीक जगन्नाथ, गाउँपालिका र बुढीनन्दा नगरपालिकामा गत वर्षको तुलनामा ये वर्ष दोब्बर स्याउ उत्पादन भएको छ।

स्याउको उत्पादन बढेपनि बिक्रीको लागि उचित बजार नहुँदा र ढुवानीमा समस्या हुँदा स्याउ कुहिएर खेर जाने गरेको थियो। कृषकलाई स्याउ खेतीमा हौसला र उत्प्रेरित गरेर स्याउ प्रर्वद्धनको लागि खेतबारीबाटै ढुवानीको व्यवस्था मिलाइएको कृषि प्रसार अधिकृत जैशीले बताए।

रातो र पहेलो गरी दुई प्रजातीको स्याउ फल्ने बजुरामा २.३० हेक्टर जमिनमा खेती गरिदै आएको छ। एक हजार ५० मेट्रीक टन स्याउ उत्पादन हुने बाजुरामा ढुवानीको समस्याले गर्दा बजार व्यवस्थापन हुन सकेको थिएन।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्