हुम्लामा यस वर्ष करिब दुई सय हेक्टरमा स्याउ खेती गरिने

सिमकोट– प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोग रहने गरी हुम्ला जिल्लामा पहिलो पटक परियोजना कार्यान्वय इकाई स्याउ जोन कार्यालय स्थापना भएको छ।

यसअघि साबिकको कृषि कार्यालयद्धारा संचालन भैरहेको उक्त कार्यक्रम अब आफ्नै कार्यालय स्थापना भएर प्रत्यक्ष रुपमा परियोजनालाई हेर्ने उद्देश्यले कार्यालय स्थापना भएको हो।

विज्ञापन

हुम्ला जिल्लामा परियोजनालाई आफ्नै जनशक्तिबाट कार्यान्वयन गर्ने उद्देश्यले स्याउ जोन कार्यालय स्थापना गरिएको जोनका प्रमुख रामसुरथ पालले बताए।

जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले उद्घाटन गरेको कार्यालयले हाललाई नौ जना जनशक्तिबाट सिमकोट गाउँपालिकाका ३ र ४ नम्बर वडाबाट सुरु गरी चालु आर्थिक वर्षमा डेढदेखि दुई सय हेक्टर जमिनमा स्याउ खेती गरिने छ।

यसको अवधिसम्म न्यूनतम पाँच सय हेक्टर जमिनमा स्याउ खेती विस्तार गरिने छ। यो हजारदेखि दुई हजार हेक्टरसम्म पनि पुग्न सक्नेछ।

कार्यक्रम संचालन भएको चौथो वर्ष भएपनि आफ्नै कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्न लागिएको पहिलो वर्ष भएको कारण एक करोड ५९ लाख ४६ हजार वार्षिक बजेट रहेको छ।

स्याउ जोनबाट विशेष गरेर उत्पादनमा वृद्धि, कृषिमा यान्त्रिकरण, कृषिलाई व्यवसायिक, प्रारम्भिक प्रशोधन केन्द्रको स्थापना, रोजगारी सृजना जस्ता पक्षलाई विशेष महत्व दिएर कार्यक्रम संञ्चालन गरिनेछ।

सम्भावित स्याउ जोन सञ्चालन हुन लागेका दुई वटै वडाहरुमा हाल किसानहरुले आफ्नै प्रयासमा स्याउ खेती गरिरहेको अवस्थामा अब परियोजनाले व्यावसायिक स्याउ खेतीका रुपमा बिस्तार गर्नेछ।

जोनले पहिलो वर्ष विभिन्न १६ वटा क्रियाकलाप संचालन गर्ने भएको छ। यी कार्यक्रमहरु अगुवा किसान, समूह र सहकारीमार्फत संचालन गरिने छ।

परियोजना अब जिल्लामा सात वर्षसम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रमुख रावतले हुम्ला जिल्लामा परम्परागत खेतीलाई संरक्षण गर्दै बाँकी जमिनमा स्याउ खेती गरेर उत्पादनमा वृद्धि गरी किसानहरुको आम्दानी बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए।

सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, नेकपाका अध्यक्ष लालकेश जैसीले पनि आफ्नो विचार राखेका थिए भने कार्यक्रमका बारेमा प्रमुख पालले जानकारी गराएका थिए।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्