नेपालगञ्जमा पनि खुल्याे ‘रोजगारी पसल’

नेपालगञ्ज – नेपालगञ्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ। केही वर्षदेखि काठमाडौं, इटहरी र पोखरामा सञ्चालनमा आइसकेको रोजगारी पसल शनिबारदेखि नेपालगञ्जमा खुलेको हो।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले रोजगारी पसलको उद्घाटन गरे। उनले बेरोजगारको संख्या बढिरहेको बेलामा खुलेको रोजगारी पसलले उनीहरुलाई रोजगारी दिन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, ‘तपाईहरुले राजनीति गर्ने कामदार उत्पादन नगर्नु होला।’

रोजगारी पसलका प्रवन्धक निर्देशक शैलेन्द्रराज गिरीले नेपालमा नै काम र पैसा दुवै रहेको बताए। सात वर्षदेखि देशका विभिन्न शहरमा रोजगारी पसल सञ्चालन गरिरहेका गिरीले ८/९ हजारलाई रोजगारी दिइसकेको जानकारी दिए।

‘हामीले माग अनुसारको कामदार तयार गरेर पठाउँछौँ। उनीहरुलाई सीप सिकाउँछौँ। उमेर अनुसारको कामदार तयार पाछौँ’, प्रवन्धक निर्देशक गिरीले थपे, ‘पैसा कमाउन विदेश जानु पर्दैन।’

शाखा प्रवन्धक उपेन्द्र गुरुङले माग अनुसारको कामदार यहीँ उत्पादन गर्ने र यहाँ हुन नसकेका कामदार अन्यत्र शाखाबाट ल्याएर परिपूर्ति गरिने जानकारी दिए।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले शैक्षिक बेरोजगार बढ्दै गएकाले उनीहरुलाई माग अनुसारको सीप दिलाएर पठाउन सके रोजगार गर्ने र रोजगारी दिलाउने दुवैलाई फाइदा पुग्ने बताए ।

भदौ २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्