सरकार, डाडुपन्यु हातमा भएका बेला केही त गर

सरकारले जनतालाई दिएका आश्वासनहरु पूरा गर्न नसकिरहेको अबस्थामा समाजप्रति वफादार केही व्यक्तित्वहरुको कार्यबाट जनतामा उनीहरुप्रति विश्वास बढिरहेको देखिन्छ।

सरकारद्वारा सुरु गरिएका केही ठूला योजनाहरुमा जनताले चाँडै प्रतिफल नपाउने हुँदा उनीहरुको त्यत्ति चासो रहँदैन। आधारभूत विषयहरुमा जनतालाई बढी चासो हुनु स्वभाविक नै हुुन्छ। तर, ती विषयहरुमा सरकार र यसका अंगहरु गम्भीर नहुँदा सरकारप्रति जनता निराश हुुँदै गइरहेका छन्। यही अवसरमा केही व्यक्तिहरुले जनताको मन जित्नेगरी कार्य गरेर छोटो समयमा उनीहरु सामाजिक सञ्जालमा मात्र होइन, सचेत नागरिकमाझ पनि राम्रो प्रभाव छोड्न सफल भएका छन्।

विज्ञापन

डा. गोविन्द केसी जसले गाउँगाउँका जनताले समेत सस्तो र सुुलभ स्वास्थ्योपचार पाउन् भनेर धेरैपल्ट आफ्नो ज्यान जोखिममा पारेर भए पनि सरकारलाई आफ्ना सर्तहरु कार्यान्वयन गर्न बाध्य पारे। कतिपय विषयहरु कार्यान्वयन हुुने क्रममा छन्।

भूकम्पबाट पीडित जनताका लागि छोटो समयमा आफ्नै पहलमा केही स्थानमा घर निर्माण तथा तराईका गरिब मुसहरका लागि समेत पक्की घर बनाएर जनताको मन जित्न सफल हास्य कलाकार सीताराम (धुर्मुस) कट्टेल तथा कुन्जना घिमिरे। लामो समयसम्म लोडसेडिङ भोगिरहेका नेपाली जनतालाई राम्रो ब्यस्थापनबाट लोडसेडिङ हटाउन सफल कुलमान सिं घिसिङ।

पत्रकार जगतमा पनि भिन्दै किसिमको पहिचान बनाएर अघि बढेका रबि लामिछाने। यी प्रमुख रुपमा बाहिर आएका केही प्रतिनिधि पात्र हुन्। यीभन्दा अरु पनि धेरै समाजसेवी हाम्रो समाजमा छन्। तर सबै ब्यक्तिहरु मिडियामा आउन सक्तैनन् या चाहँदैनन्। माथि उल्लेखित ४ ब्यक्तिहरुलाई नचिन्ने कोही पनि छैनन्। उनीहरुको समर्थन र सहयोगमा जनता उठ्नु स्वाभाविक हो।

सरकार तथा यस्का अंगहरुले आफ्ना कमजोरीलाई आँकलन नगरी हतारमा गरिने प्रतिक्रियाबाट धेरै कुरा बिग्रँदै गएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या केसमा राम्रोसँग छानबिन नगरी हतारमा रवि लामिछानेलाई धरपकड गरी प्रहरी हिरासतमा राखेपछि सर्वसाधारण सशंकित भए। ठूलो समूह आाक्रोसित भएर सडकमा उत्रिए। तर, रबि लामिछाने धरौटीमा रिहा भएपछि बातावरण मत्थर भयो।

सरकार तथा यसका अंगहरुले आफ्ना कमजोरी आँकलन नगरी हतारमा गरिने प्रतिक्रियाबाट धेरै कुरा बिग्रँदै गएको छ। जनता फोहोर स्थायी ब्यबस्थापन होस्, शहरमा राम्रो ट्राफिक ब्यबस्थापन होस्, मेलम्चीलगायत गाउँघरमा खानेपानीको समयमा ब्यबस्था होस् तथा कृषिको लागि बाँझा खेतबारीमा सिचाइँको प्रबन्ध रफ्तारमा होस् भन्ने चाहन्छन्। सरकार भने राम्रोसँग होमवर्क पनि नगरी हतारमा गुठि बिधेयक, प्रेस काउन्सील बिधेयक जस्ता अधुरा जनआकाँक्षा बिरोधी प्रस्ताबहरु ल्याएर जनता भड्काउने कार्य गरिरहेको छ।

आफूले पाएको अधिकार प्रयोग गरी पूर्ब राजा बेलामौकामा जिल्लामा जान्छन् अनि आफ्ना समर्थक जनताबाट स्वागत सम्मान पाउँछन् तर सरकार पूर्ब राजाबिरुद्ध अनाबश्यक चर्चा गरी जनता भड्काउने प्रयास गर्छ। सरकार आफ्ना कमजोरी लुकाउन अरुको कमजोरी देखाउन चाहन्छ। भ्रष्टाचारले देश आक्रान्त छ। सर्बसाधरण जनताको जीवनमा कुनै सकारात्मक परिबर्तन आएको छैन। अर्कोतर्फ नेताको जीवनमा सुख र सुबिधाले ठूलो फड्को मारिसकेको छ। घुस नखाने कर्मचारी अझै पनि पीडित छन् तर भ्रष्ट र नेताका वरिपरि घुुम्ने कर्मचारीका आलिसान बंगला तथा आधुनिक गाडीहरु छन्। उच्चपदस्थ केही भ्रष्ट कर्मचारी भ्रष्टाचारमा कारबाही परे पनि अदालतबाट सफाइ पाएका छन्। यस्को मतलब अख्तियारबाट केही तदारुकताका साथ कारबाही भए पनि नीतिगत भ्रष्टाचार गर्ने नेतामन्त्री तथा बरिष्ठ कर्मचारीलाई कारबाही गर्ने नीतिनियम बनाउन नसक्नु सरकारको नीयत हुुनसक्छ। मन्त्रीपरिषदबाट भएका गलत निर्णयहरु माथि कारबाही गरिँदा आफैँ पनि पर्न सकिने डर भएपछि कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ प्रधानमन्त्रीज्यूू? भ्रष्टाचारको मुहान माथि नै छ।

प्रधानमन्त्रीज्यू, सोच्नुस् त सर्बसाधारण जनता उपचार कसरी गरिरहेका छन्? एउटा सानो अप्रेसन गर्नुपर्‍यो भने खेतबारी बेच्नुपर्ने बाध्यता हून्छ। सरकारी अस्पतालमा महिनौँ कुर्नुपर्छ, त्यहाँ पनि आबश्यक उपकरण नभएर निजिमा जाने बाध्यता पर्छ। कमसेकम यहाँको कार्यकालमा सरकारी अस्पताल (बीर अस्पताल) लाई अत्याधुुनिक गुणस्तरीय तथा यस्को बेडको संख्या पर्याप्त बढाउनुहोस्। कुुनै समय निश्चित गरेर एउटा राम्रो सरकारी अस्पताल जनताका लागि तयार गर्नुहोस्। जसमा सबै गरिब जनतादेखि राष्ट्रपति तथा मन्त्री-सचिवहरुले पनि उपचार गर्न सकून्। जसबाट जनता धेरै लाभान्वित हुनेछन्। परिणामस्वरुप सरकारप्रति जनताको सकारात्मक भावना बढ्नेछ। डाडुपन्यु हातमा छ, जनहीतमा केही गतिला परिणाममुखी कार्य गरेर देखाउनुहोस्। यस्तो दुई तिहाइको सरकार बन्ने मौका बारबार आउने छैन।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्