शिवपुरी बाबाको जन्मोत्सव

स्वधर्मरुपी पुस्तक पढ्न विवेकरुपी बत्ती

शिवपुरी बाबा।

आध्यात्मिक जीवन र भौतिक जीवन, शायद हामीहरूमध्ये धेरै जसोले दैनिक व्यवहारमा कुनै न कुनै रुपमा अपनाएका नै छौं होला। भौतिक सम्पन्नताले मानिसलाई वैभव, सुख सुविधा आदि प्रदान गरेकै छ तैपनि समाजमा केही न केही निराशा व्याप्त भएको छ भन्न अत्युक्ति पनि नहोला। यस निराशालाई हटाउने उपाय भनेकै आध्यात्मिकताको बाटो पहिल्याउनु हो।

यो ध्रुव सत्य हो कि जीवन गुजारा गर्न, समाजमा मान, प्रतिष्ठा आर्जनका लागि धन नभई हुँदैन। तर व्यक्तिगत स्वार्थमा मात्र आफूलाई सीमित नराखीकन समाजमा आफूले गर्नुपर्ने कर्तव्यतिर केही कमी भयो कि भनेर सोच्नु आवश्यक छ।

विज्ञापन

श्री शिवपुरीबाबा आफ्नो शिक्षा स्वधर्ममा मनुष्यको तीन कर्तव्यलाई जोड दिँदै भन्नुहन्छ, ‘शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन मानिसले पालना गर्नुपर्छ। यी तीन अनुशासनलाई क्रमबद्ध रुपमा पालना गर्दै अगाडि बढेमामात्र आफ्नो शरीर रक्षा हुन्छ, समाजप्रति आफ्नो कर्तव्य पूरा हुन्छ र परमात्मा चिन्तनमा लाग्न समय पनि मिल्छ। परमात्माको चिन्तन नगरीकन मनुष्य जीवन सफल बनाउन सकिन्न। जीवन गुजाराका लागि कति समयसम्म काम गर्ने, कति कमाउने? कति समय बाहिर दिने, कति साथीभाइसँग सम्पर्क गर्ने आदि विषय आफैंनै निर्धारण गर्नुपर्छ। आफ्नो शरीरलाई कति खानाको आवश्यकता पर्दछ, त्यति मात्र लिनुपर्छ। घटबढ केही गर्नु हुन्न।’

आफूसँग भएको धनको सदुपयोग भएन भने त्यो धनको के काम? कमाउने काममात्र गर्दा उसले आफ्नो परिवारको सुख, सुविधा पूरा गर्न सक्ला तर समाजप्रति, देशप्रति आफ्नो कर्तव्य पूरा गर्न सक्तछ त? यो प्रश्न उठ्नु स्वाभाविक हो। त्यसैले समाजप्रतिको कर्तव्य पूरा गर्न ऊ स्वयं लागिपर्नैपर्छ। आफ्नो चोखो आम्दानीबाट उसले कमसेकम १० प्रतिशत दान दिनुपर्छ। मनले, वचनले, कर्मले सबको भलो होस् भन्ने सद्भावना राख्नुपर्छ। गरिव, दीनदुःखीलाई तथा समाजको भलाइका लागि काम गरेका विद्यालय, संघ, संस्था आदिमा मदद गर्नुपर्छ। उपरोक्त कार्यहरूगर्दा उसले विवेक प्रयोग गर्नुपर्छ।

आफूले दिएको दानको सदुपयोग हुनुको सट्टा दुरुपयोग भयो भने उल्टो प्रारब्ध भोग्नुपर्छ। जव व्यक्तिले आफ्नो जीवनलाई विवेकपूर्ण रुपमा सदुपयोग गर्न थाल्छ, समाजमा उसको स्थान बेग्लै हुन्छ। ‘स्वधर्मरूपी पुस्तक पढ्न विवेकरूपी बत्तीको प्रयोग गर्नुपर्छ’, श्रीबाबा आज्ञा हुन्थ्यो।

मानिसले उपरोक्त कर्तव्य गरेर जगेडा भएको समयमा आफू जन्मेको किन हो? आफ्नो असली स्वरूप कुन हो? यो श्रृष्टिकर्ता को हो? संसार के हो? आदि विषयको चिन्तनमा आफूलाई केन्द्रित गनुपर्छ । परमात्माको चिन्तनमा समय नलगाए यस प्रश्नको उत्तर उसले पाउन सक्तैन। परमात्मालाई उसले तीन किसिमबाट सम्झन सक्तछ। धारणा, ध्यान र समाधि।

श्री शिवपुरीबाबाको उपदेश अनुसार परमात्माको अनेक रूप, लीला आदि स्मरणलाई धारणा भनिन्छ। कुनै एक विषय, वस्तु वा रूपको एकनाशले स्मरण गरिरहनुलाई ध्यान भनिन्छ भने चित्तमा एकाग्रता ल्याएर बाहिरी संसारको चेतनाबाट आफूलाई विमुख गराएर भित्री चेतनामा डुबेर तेलको धारा बगेजस्तै परमात्माको चिन्तनमा लाग्नसके उहाँको दर्शन पाइन्छ र मनुष्यको जीवनको परमलक्ष्य प्राप्त हुनजान्छ।

छोटकरीमा भन्ने हो भने धारणा हामीले भोजनका लागि जम्मा गर्ने खाद्यवस्तु, ध्यान ती खाद्यवस्तु सफा गरी पकाउने तथा समाधि खाना खाने जस्तो हो। खाद्यवस्तु जम्मा गर्न अलि समय लाग्छ, पकाउन त्यसभन्दा कम तथा खाना खान केही समयमै सकिन्छ। धारणाको अभ्यासले ध्यान सजिलो हुन्छ र ध्यानको राम्रो अभ्यासले समाधि सहज बन्नजान्छ।

अब प्रश्न उठ्छ, के त परमात्माको दर्शन पाएपछि मानिसको सबै काम पूरा हन्छ त? हो, तर आफ्नो प्रारब्ध भोग गरिसकेपछि ऊ सदाका लागि मुक्त हुन्छ। जथाभावी खर्च गरेरमात्र हुँदैन। तर, सत्संग, परमात्मा चिन्तन आदिमा समय बिताउन सक्यो भने यस्तो खर्च गरेर कष्ट उठाएर भए पनि व्यक्तिले आफ्नो उन्नति गर्न सक्तछ।

श्रीबाबाको भौतिक जन्म भदौ शुक्लपक्ष मूल नक्षत्रमा भएको थियो। उहाँका केही अनुयायीहरू शायद २०,२१ जना आफ्नो घरमा तयार भएका मिठाई, नमकिन आदि लिएर आउनु हुन्थ्यो र श्रीबाबाको वरिपरि बसेर खानु हुन्थ्यो।

यसै प्रसंगमा उहाँ आज्ञा हुन्थ्यो, ‘हेर, यस्तो जमघट गर्दा पैसा खर्च हुन्छ, दुःख हुन्छ, तर यसै मौकामा तिमीहरू एक आपसमा सत्संग गर्न पाउँछौ, मनमा उठेका शंका समाधान गर्न सक्छौ। एक आपसको अनुभव मलाई बताएर केही शंका छ भने समाधान गर्ने मौका पाउँछौ, त्यसैले केही नोक्सान भएर त्यसभन्दा उच्च लाभ हुन्छ भने त्यस्तो काम गर्न केही बाधा हुँदैन।’

aamodita@gmail.com

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्