काबुलमा मारिएका दुई नेपालीको शव ल्याउन प्रचण्डको पहल

फाइल तस्बिर

काठमाडौँ – अफगानिस्तानको काबुलमा गएको सोमबार भएको बम बिस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् ।

तीजको राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती बिस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम बिस्फोटमा मृत्यु भएको थियो ।

मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् । यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए ।

प्रचण्डको टेलिफोन लगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन् ।

‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । ४५ दिनको बिदा सकेर काबुल फर्किएको नवौँ दिनमा थापाको आत्मघाती आतङ्कवादीको हमलामा परि मृत्यु भएको थियो । विगत १० वर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्