क्यारेबियन प्रिमियर लिग सन्दीपको टोलीको पहिलो खेल आज राती

काठमाडौँ– क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको जारी संस्करणमा नेपालका सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्राइडेन्ट्स आफ्नो पहिलो खेलमा आइतबार राती उत्रँदै छ।

बार्बाडोसले गुयाना एमाजन वारियर्ससँग भिड्न लागेको हो। प्रतियोगितामा ट्रिनबागो नाइट राइडर्स दुई खेलबाट चार अ‌ंक जोडेर शीर्षस्थानमा छ। गुयानाको पनि दुई खेलबाट चार अंक छ। सन्दीप आबद्ध बार्बाडोस ट्राइडेन्ट्समा जेसन होल्डर, एलेक्स हेल्स, वाहब रियाज, इमाद वासिम, जन्सन चार्ल्सलगायत छन्। गुयानामा सोएब मलिक, सिमरन हेटमेयर, ब्रान्डन किङ, किमो पल, सदाब खानलगायत खेलाडी छन्।

विज्ञापन

प्रतियोगितामा सन्दीपको यो दोस्रो सहभागिता हो। इन्डियन प्रिमियर लिग-ईपीएलमा सहभागितासँगै चम्किएका सन्दीपलाई गत वर्ष सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सले सीपिएलमा उतारेको थियो। त्यतिबेला सन्दीपले सात विकेट लिएका थिए। प्रतियोगिता बीचमै छाडेर फर्कनुअघि सन्दीपले बलियो छाप छाडेका थिए। त्यस संस्करणमा सन्दीप आबद्ध सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स तेस्रो भएको थियो।

यसपटक सन्दीपलाई ट्राइडेन्ट्सले आबद्ध गर्‍यो। सन् २०१४ मा उपाधि र लगत्तै अर्को वर्ष उपविजेता बनेको यो टोली त्यसयता विजेता बन्न सकेको छैन। पछिल्ला दुई संस्करणमा क्रमश पाँचौँ र छैटौँ भएको थियो।

सन् २०१८ को सुरुवातमा आईपीएलमा आबद्ध भएपछि सन्दीपको चर्चा आकाशिएको थियो। यो प्रतियोगिता कुनै पनि नेपाली क्रिकेटर सहभागी पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट प्रतियोगिता थियो। यसबीचमा सन्दीपले विश्वका सबै ठूला व्यवसायिक क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

तर तीमध्ये कुनैपनि प्रतियोगितामा विजेता बन्न सकेका छैनन्। अस्ट्रेलियाको विग बासमा सन्दीप आबद्ध मेलबर्न स्टार्स फाइनलसम्म पुगेको थियो। उपाधि भिडन्तमा सन्दीपले शानदार प्रदर्शन गरेपनि स्टार्स विजेता बन्न सकेन।

सन्दीपले पछिल्लोपटक खेलेको व्यवसायिक क्रिकेट प्रतियोगिता क्यानडामा आयोजित ग्लोबल टीट्वेन्टी हो। प्रतियोगितामा दोस्रो सहभागिताका रुपमा यसपटक टोरन्टो नेशनल्सबाट खेलेका सन्दीपले चार खेलमा ५ विकेट लिए ८.७३ बलिङ इकोनोमीसहित। टोरन्टो प्ले अफसम्म पुगेपनि क्वालिफायरमा छनोट भएन।

त्यसअघि सिंगापुरमा आयोजित टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेलेर उनी सोझै क्यानडा पुगेका थिए। एसियाली छनोट नेपालका लागि विर्सनलायक रहेको थियो। विश्वस्तरको छनोटमा पुग्ने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली तेस्रो भएर निराश बन्यो। प्रतियोगितामा सन्दीपले चार खेलमा ७ विकेट लिएका थिए, ८.०७ बलिङ इकोनोमीसहित।

सन्दीपले यसै वर्ष खेलेको इन्डियन प्रिमियर लिग पनि उनका लागि व्यक्तिगतरुपमा सम्झनलायक रहेन। महँगो बलिङ इकोनोमीपछि प्रतियोगितामा उनले केवल ६ खेल मात्र खेल्न पाए। ती खेलमा उनले ८ विकेट हात पारे ९.१२ बलिङ इकोनोमीसहित। प्रतियोगिताका आधाभन्दा बढी खेलमा उनी मैदान उत्रन पाएनन्।

अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेटमा पाइला टेकेको करिब १८ महिनाको अवधीमा सन्दीपले उल्लेख्य विकेट लिएका छन्। तर पछिल्लो समय उनको बढ्दो बलिङ इकोनोमीका कारण ‘प्लेइङ सेट’मै पर्नु उनका लागि चुनौती बनिरहेको छ।

सन्दीपले ४८ टिट्वेन्टी खेलमा ६४ विकेट लिएका छन्। आईपीएलमा १३, बिग बासमा ११, पाकिस्तान सुपर लिगमा ११ र  राष्ट्रिय टोलीबाट १६ विकेट लिएका छन्। अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगलगायत प्रतियोगिताबाट बाँकी विकेट हात पारेका हुन्।

प्रतियोगितामा ६ टोली छन्। डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुने छ भने तेस्रो र चौथो टोली एलिमिनेटरका लागि भिड्नेछन्।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्