‘एनसेलबारे सर्वोच्चको आदेशले अर्बाै घोटाला’

काठमाडौँ – सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ एनसेलको शेयर खरिद बिक्रीबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसलाले अर्बै घोटाला भएको दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा गुरुङले सर्वोच्चले आफ्नै पूर्व फैसलाविरुद्ध गरेको आदेशलाई सच्याउने प्रक्रिया थाल्न सरकारसँग माग गरेका छन्। ‘भदौ ९ गते एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्चले दिएको आदेशले अर्बैको घोटाला गराएको छ।

माघ २३ गतेको आदेश विपरीत छ। यो आदेशप्रति सरकारले पुनरावलोकनका लागि अपिल गरोस्, गुरुङले भने। गएको माघ २३ गते सर्वोच्चले एनसेल खरिद विक्रीको पुँजीगत लाभकर तिर्ने दायित्व एनसेलकै भएको ठहर गरेको थियो।

उक्त आदेशको पूर्ण पाठ प्राप्त गरेपछि ठूला करदाता कार्यालयले चैत २६ पुँजीगत लाभकर, जरिवाना, ब्याजसहित ऐनसले ६२ अर्ब तिर्नुपर्ने र त्यसअघि बुझाएको २३ अर्ब घटाएर बाँकी ३९ अर्ब सात दिनभित्र बुझाउन निर्देशन दिएको थियो।

ठूला करदाता कार्यालयको यस्तो निर्णयविरुद्ध एनसेलले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले भदौ ९ गते ६२ अबै असुल गर्ने गरी भएको आदेश बदर गर्दै पुन निर्धारण गर्न आदेश दिएको थियो।

उक्त आदेशपछि राज्यकोषलाई करिब १८ अर्ब घाटा हुने बताइएको छ। सर्वोच्चको आदेश विवादित बनेपछि संसदको कानुन न्याय तथा मानव अधिकार समितिले पनि अध्ययन गर्ने निर्णय शुक्रबार गरेको छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्