शिवपुरी बाबाको जन्मोत्सव

शिवपुरी बाबाले सिकाएको अदभूत ‘स्वधर्म’ के हो?

त्वदियं वस्तु गोविन्द तुभ्यमेव समर्पये ।

तेन त्वदङ्घ्रिकमले रति मे यच्छ शाश्वतीम् ॥

॥ श्री गोविन्दार्पणमस्तु ॥

पशुपति ध्रुवस्थली । २०१९ माघ १५ गते सोमबार, माघ शुक्लपक्ष तृतीया (जनवरी २८, १९६३) को दिन बिहान ६:१५ बजेतिरको समय । उहाँको सेवामा जीवन समर्पण गर्नुभएका माधवबाजे र केही भक्तहरुको उपस्थिति । बिछ्यौनाबाट उठेर बस्नुभयो र पानी खान माग्नुभयो । साविक बमोजिम दाहिने कोल्टो फेरेर दाहिने हत्केलामा आफ्नो टाउको अड्याउनुभयो र हिन्दीमा “स्वधर्मको पालना गर्नू, भगवानको पूजा गर्नू, बस् यत्ति नै, अरु केहि पनि होइन । अब म गएँ ।” भन्नुभयो र १३७ बर्षको मानवदेह छाड्नुभयो । (विष्णुप्रसाद तिमिल्सीना, माधव बाजेको छोरा )

दक्षिण भारतको केरलामा उहाँको जन्म (इ.स. १८२६) भदौ महिनाको मूल नक्षत्रको दिन भयो। तिथि अनुसार आजकै दिन (आइतबार) उहाँको जन्मोत्सव हो । महान आत्माहरुको जन्मदिनको उत्सव साधकहरुको लागि अत्यन्त शुभदिन हुन्छ । “माधव ! यो फूलको थुँगा पशुपतिनाथलाई चढाएर आऊ । आज मेरो जन्मदिन हो । त्यसपछि मात्र थाहा भयो, बाबाको जन्मदिन ।” (विष्णुप्रसाद तिमिल्सीना, माधव बाजेको छोरा ) ।

बच्चाहरु च्याँ च्याँ रुँदै जन्मन्छन्, उहाँ चेतनासहित मुसुक्क हाँस्दै धर्तिमा पदार्पण गर्नुभयो । “हाँस्दै जन्मेको कुरा सुनेपछि उहाँको हजुरबुबा अच्युतम्, जो प्रख्यात ज्योतिषी एवं योगी हुनुहुन्थ्यो, भविष्यवाणी गर्नुभएछ, ” ल अब योगी हुने लक्षण भएको बच्चाले हाम्रो घरमा जन्म लिएछ, हाम्रो कुल यिनैमा टुङ्गिने देखिन्छ । ”

१२ बर्षको उमेरमै चारै वेदको अध्ययन हजुरबुबासँगै पुरा गर्नुभयो । सानै उमेरमा बुबा आमा बित्नुभएकोले हजुरबुबा र हजुरआमाबाट हुर्किनु भयो । नर्वदा नदीको किनारमा फैलिएको घना अमरकण्टक जंगलभित्र पसेर निर्गूण ब्रह्मको ध्यान तपस्या गर्नुभयो । त्यो महान क्षण पनि आइपुग्यो, पच्चीस बर्षको अनवरत साधनापछि ब्रह्म-साक्षात्कार गर्नुभयो । परमात्माको दर्शनले लवालव भरिएर अनन्त ज्ञानको ज्योति लिएर फेरि समाजतिर फर्कनु भयो । औपचारिकताको लागि दक्षिण आद्य शंकराचार्यद्वारा स्थापित श्रृङ्गेरी मठमा सन्यास दीक्षा लिनुभयो । र , त्यसपछि शुरू भयो तीर्थाटन र विश्वयात्रा ।

सन् १८७५ देखि १९१५ सम्मको विश्वभ्रमणमा संसारका महारानी विक्टोरिया, अमेरिकाका राष्ट्रपति थियोडर रुजवेल्ट, जर्मनका कैजर विल्हेल्म द्वितीय, नेदरल्याण्डकी महारानी एम्मा, अरु देशका राजा, महाराजा, राष्ट्राध्यक्ष, शासक, ख्यातिप्राप्त वैज्ञानिक, विद्वान, प्राज्ञ, किसानहरु, साधारणजन जिज्ञासुहरु धेरै धरै मानिसहरु भेट्नु भयो । तुर्की सुल्तान अब्दुल हमिद द्वितीयसँग भने भेट भएन।

महारानी विक्टोरियाको उहाँ विशेष पाहुनाको रुपमा सन् १८९६ देखि १९०१ सम्म बेलायत बस्नुभयो । महारानीले आफू नमेरसम्म देश नछाड्न गरेको अनुरोध बाबाले स्वीकार्नु भयो। महारानीमा मृत्यु पश्चातको जीवनबारे कौतुहल थियो । केहि दिन बसेपछि पनि लियो टल्सटायले आफ्नो घरबाट जाने अनुमति नदिएकाले उहाँ राती नै टल्सटायको घर छोडेर हिँड्नुभएको थियो ।

बाबाले पवित्र तीर्थस्थल मक्का, जेरुसेलम, भ्याटिकन सिटी आदिको दर्शन पनि गर्नुभयो ।

अमेरिकामको सर्वधर्म सम्मेलनमा गरिने भाषणको लागि विवेकानन्दलाई सुझाव पनि दिनुभएको थियो ।

जर्ज बनार्ड शा, “तपाईं पूर्वीया जोगीहरुलाई समयको मतलवै छैन । ” उहाँले पनि ठट्टा गर्नुभयो, “तपाईं पश्चिमाहरु समयको दास हुनुहुन्छ । हामी अनन्तमा हिँड्छौं।”

स्विजरल्याण्डमा बाबासँग आइन्स्टाइनको भेटमा बाबाले तर्क गर्नुभयो, “तपाईंहरु १+१=२ भन्नहुन्छ । तर निरपेक्षरुपमा भन्नुपर्दा परमात्मा मात्र हुनुहुन्छ । सापेक्षरुपमा कुनै दुइटा वस्तु वा जीव पनि एउटै हुँदैनन् । त्यसैले १+१=२ ठिकै भए पनि सहि भने होइन ।”(राईट लाईफ, रेणुलाल सिंह)

जीवनलाई सन्तुलित र संयम बनाएर सुख, सन्तोष र शान्ति स्थापित गर्दै जीवन र जगत के हो, अस्तित्व के हो, जीवनको मूल लक्ष्य के हो यसको समाधान गरी परम शान्ति प्राप्त गर्न सिकाउने र बाटो देखाउने साधन नै ‘स्वधर्म’ हो ।

हिँडदै जानेक्रममा संसारको सबैभन्दा अग्लो ठाउँमा रहेकाे टीटिकाका कुण्ड पनि पुग्नु भएको रहेछ । उहाँभन्दा अघि कुनै मानव पनि त्यहाँ पुगेको रहेनछ ।

बाबाले बालगङ्गाधर तिलकलाई अध्यात्म र ज्योतिषशास्त्र सिकाउनुभएको थियो । बाबालाई भेटेपछि स्वामी अरविन्दोमा ठूलो आन्तरिक परिवर्तन घटित भयो । दक्षिणेश्वरमा रामकृष्ण परमहंसलाई भेट्नुभयो । त्यहाँ रामकृष्ण परमहंसलाई समाधिको आनन्दमा मात्र नडुब्न र होशपूर्वक भगवद साक्षात्कार गर्ने समाधि के हो भन्ने बारे सचेत गराउनुभएको थियो । अरूणाचलमा रमण महर्षिलाई भेट्नुभयो । रमण महर्षि प्राय: मौनमा डुबिरहने र नबोल्ने भएकोले सँगै बसेपनि बाबाको कुराकानी भएन । भक्तको त्यो भेटबारेको जिज्ञासामा बाबा भन्नुभयो,”डाक्टरलाई बिरामीले केही बताएन भने औषधि दिने चलन छैन ।”

संसारका ठूलाबडा मानिसहरुसँग संगत उठबस गरी आनन्द लिन र रवाफ देखाउन खोज्ने आडम्बर बाबामा पटक्कै थिएन । यो उहाँको बाहिरी कर्तव्य मात्र थियो जुन उहाँले पुरा गर्नुभयो । यस्ता घटना र कुराकानीबारे बेनेटको जिज्ञासामा बाबाले यसको कुनै महत्व छैन, व्यक्तित्वको बारेमा हैन शिक्षाको बारेमा मात्रै लेख्नु होला भनेर सचेत गराउनु भएको थियो । (पृष्ठ २४, अनन्तको यात्रा, जे.जी. बेनेट एवं ठाकुरलाल मानन्धर) । बेनेटले बाबाको विश्वभ्रमण र उहाँको भेटबारे कितावमा जे जति उल्लेख गर्नु सक्नुभयो, भक्तहरुले टिपोट गरेर राखेका यताउती टुक्राटाक्री मात्र हुन् ।

बाबाको देहावसानको ९ दिन अघि एक जर्मन विद्वानले सोध्नुभयो, “यदि नयाँ तरिकाले जिउन दिईयो भने तपाईँ आफ्नो अनुभवको आधारमा जीवनको तरिकामा परिवर्तन गर्नुहुन्छ ? ” बाबाले भन्नुभयो, ” अहँ । अहिले जसरी जिइरहेको छु त्यसरी नै जिउँनेछु । ” अनि उनले भने, ” मैले यो प्रश्न संसारका १४४ महान व्यक्तित्वहरुलाई राखेको थिएँ । जिउने तौर-तरिका परिवर्तन गर्दिनँ भन्ने तपाईं मात्र एक व्यक्ति हुनुहुन्छ । म तपाईंलाई स्यालुट गर्छु ।” (पृष्ठ ४, राइट लाइफ, रेणुलाल सिंह)

एकजना महात्मा शिवपुरीडाँडामा बाबासँग दर्शनभेट गर्न आउनुभएको थियो र केही दिन पनि बस्नुभएको थियो । एकसाँझ ती महात्माले माधव बाजेलाई भन्नुभयो, “माधव ! तिमीले मलाई भर्खरको उमेरको देख्छौ , तर मेरो उमेर सात सय बर्षको भइसकेको छ । परमात्मा-दर्शन नभई र सिध्दि मात्र प्राप्त गरेर केही काम लाग्दो रहेनछ । तिमी यस्ता महान आत्माको सेवा गर्दैछौ । तिमी भाग्यमानी रहेछौ । आज एकरात म यहाँ बस्छु । भोलि बिहानै म यहाँबाट हिँडेपछि हरिद्वार पुगेपछि चिठी पठाउँछु । जवाफ नपठाउनू किनकी म तपस्या गर्न हिमालय गइसकेको हुनेछु । ” भोलिपल्ट पुर्‍याउन जाँदा डाँडातल बुढानीलकण्ठभन्दा केही माथिसम्म आइपुगेपछि महात्मा अलप हुनुभयो । केहि हप्तापछि चिठी आयो । बाबाले मुसुक्क हाँस्दै भन्नुभयो, “कुरा यस्तै हो ।” (पृष्ठ४८, स्वधर्म, विष्णुप्रसाद तिमिल्सीना)

जीवनलाई सन्तुलित र संयम बनाएर सुख, सन्तोष र शान्ति स्थापित गर्दै जीवन र जगत के हो, अस्तित्व के हो, जीवनको मूल लक्ष्य के हो यसको समाधान गरी परम शान्ति प्राप्त गर्न सिकाउने र बाटो देखाउने साधन नै ‘स्वधर्म’ हो ।

शिवपुरीबाबाले २५ बर्षको अनवरत जंगलमा कठोर साधना र ४० बर्षको विश्वभ्रमणपछिको अनुभवबाट (सात समुद्रमा गोता खाएर निकालेको सियोजस्तो) निकालेको निचोड , जुन तीन अनुशासनको पालना सहित सत्यको खोज(भगवानको ध्यान)  गर्न निर्देश गरिएको शिक्षापद्धति हो – स्वधर्म ।

सत्यको खोजमा लागेका होऊन् वा जीवनलाई सुख, समृध्द, आनन्दमय बिताउन चाहने होऊन्, यो स्वधर्म पालन अनिवार्य छ । त्यसैले हरेकको लागि यो आवश्यक छ ।

बनजंगल गएर कठोर जीवन जीउनुभन्दा प्रकृतिमाताले दिएको जीवनमा मर्यादापूर्वक सुव्यस्थित बनाएर सत्य(भगवत) दर्शन गर्नु स्वधर्मको उद्धेश्य हो । स्वधर्मले जीवनलाई नकार्दैन, बरु सही तरिकाले उपयोग गर्न सिकाउँछ, उपभोग हैन ।

मानिसले जीवनोपार्जन गर्न पेशा, व्यवसाय गर्दछ । शरीरलाई स्वाभाविकरुपमा भोजन, निद्रा, मैथुन, श्वासप्रश्वासको आवश्यकता पर्दछ । अनि फुर्सत भएको बेलामा मनमा अनगिन्ती प्रश्नहरुले घेर्दछन् – यी देखिएका वस्तुहरु के हुन् , नदेखिएका वस्तुहरु पनि त होलान्, म कहाँबाट आएँ, यो संसार के हो, आदित्यादि । जीवन यापनको क्रममा उसले सोचेजस्तो हुदैंन, पाउँदैन । अनि ५२ घुस्सा ५३ लात खाएर, अनेकानेक ठक्कर खाएर वैराग्य पनि पलाउँछ । यी विविध अवस्थाहरुमा पलहरुमा के कसो गर्ने भेऊ नपाएर अल्मलिन थाल्छ र बेचैन हुन्छ । यस्तो अवस्थालाई हल गर्न, समस्याहरु निराकरण गर्न र दिशानिर्देश गर्न चाहिन्छ – स्वधर्म ।

गोरूलाई किल्लामा बाँधेजस्तै निश्चित कर्तव्यहरुको काँडेतारले बाँध्ने ।  कर्तव्यहरु कति पूरा गरियो, नियम अनुसार कति गरियो गरिएन, हरेकपल्ट निरीक्षण गर्ने र सुधार गर्ने । निरन्तर यसो गर्नाले कर्तव्यमा पारङ्गत भईन्छ । बुद्धि तीक्ष्ण हुन्छ ।

शिवपुरी बाबा जीवनको उत्तरार्द्धमा।

यी कर्तव्य र कर्महरु हरदम योजना, निरीक्षण र सुधार कसरी गरिन्छ भन्ने बारे बाबाले ठाकुरलाल मानन्धरलाई फूल ल्याउनेबारे उहाँले सिकाउनु भएको उदाहरणले प्रष्ट पार्दछ भन्ने मलाई लाग्दछ। यो उदाहरण यसकारण पनि महत्वपूर्ण छ कि सद्गुरूहरुको सत्संगबाट अपरिपक्व शिष्यले कसरी सिक्छ र चाँडै प्रगति पनि गर्दछ भन्ने दर्शाउँदछ । यो उदाहरण जे. जी. बेनेट एवं ठाकुरलाल मानन्धरद्वारा लिखित पुस्तक ‘अनन्तको यात्रा’ बाट साभार उद्धरण गरिएको छ ।

बाबाले ठाकुरलाल मानन्धरलाई फूल ल्याउनु भनी आज्ञा भयो ।

भोलिपल्टै उहाँ बजारमा जानुभयो र एक रुपैयाँको फूल किनेर जेबी रुमालमा पोको पारी साइकलको ह्याण्डलमा झुण्डयाएर लग्नु भयो ।

मुँसुक्क हाँस्दै बाबाले भन्नु भयो – ” तपाईंको बुद्धि अहिले खस्रो छ, रुमालमा पोको पारेर किन फूललाई बिगार्नु भएको ? फेरि यी फूल चाहिनेभन्दा बढी पनि भयो । अनि यो फूलदानीलाई हेर्नुहोस् त । यो हिजो तपाईंको अगाडि नै थियो । तपाईंले ल्याएको चौथाइ भाग मात्र पनि अटाउँदैन । पैसा पनि खेर गयो । ”

ठाकुरलालले भन्नु भयो- “यो फूलदानीको लागि चाहिने कुरा मलाई थाहा भएन । ”

बाबा – “तपाईंमा विवेक-विचार रहेनछ । तपाईंले यी फूलहरु किन चाहियो होला, के का लागि भनी सोध्नुभएन । त्यसो गर्नु भएको भए काम शुरू गर्नभन्दा अगाडि केही विचार आउँथ्यो होला । रुमालमा बेस्करी कसेर ल्याएकोले यसको रूप पनि बिग्रियो, डाँठ पनि भाँच्चिएको छ । यिनीहरुलाई हात लगाउन पनि जान्नुभएन । फूलदानीमा उभ्याएर राख्न पनि भएन ।”

भोलिपल्ट ठाकुरलालले आधा रुपैयाँको फूल किनेर राम्ररी सम्हालेर लग्नु भयो ।

बाबा – ” हेर्नुहोस्, अब तपाईंले सुधार गर्नुभयो । के कारणले सुधार गर्नुभयो ? गुरूसँगै बसेमा विद्यार्थीले यसरी सिक्दै जान्छ । ”

तैपनि आधाभन्दा कमले फूलदानी भरियो ।

पैसा कम खर्च भएकोमा सुधार त भयो । तर पनि फूलका डाँठहरु अझै छोटा छन् र फूलदानीको घाँटी कत्रो छ भनी विचार गरेको भए यसो हुदैनथ्यो भन्दै  बाबाले फेरि सुधार गर्न सम्झाउनु भयो । अब २५ पैसाको मात्र विचार गरेर फूल किन्नु भयो ।

बाबा – ” तपाईंले ९०% सुधार गर्नुभयो । अझै यी फूलहरु राम्रा गुणका छैनन् । तपाईंलाई फूलको गुणस्तर थाहा नभएकोले यस्तो भएको हो ।” बाबाले फूलको गुणस्तरको बारेमा पनि ज्ञान दिनुभयो ।”

ठाकुरलालले राम्रा मालीहरुको संगत गर्नुभयो, सिक्नुभयो । अनि गुणस्तर फूलहरु चाहिँदो परिमाणमा मात्रै ल्याउन सफल पनि हुनुभयो ।

यसरी असल शिक्षकको संगतबाट शिष्यको बुद्धि तीक्ष्ण हुँदै जान्छ र हरेक कर्तव्य कर्ममा विवेक प्रयोग गर्न पारङ्गत हुँदै जान्छ ।

कर्तव्य पालना गर्दै बुद्धि तीक्ष्ण बनाउने, मनलाई तालिम दिएर प्रत्येक कर्तव्य, कर्म गर्दा २६ दैवीगुणले भर्दै बलियो बनाउने, त्यो बलियो मनले ध्यान, समाधिको अभ्यास गर्दै निर्मल बनाएर ईश्वर साक्षात्कार गर्ने । यी तीन अभ्यास नै बाबाले सिकाउनुभएको स्वधर्मको शिक्षाको निचोड हो ।

संसारमा समयक्रमसँगै आएका संसारका अरु धर्महरु उदाउँछन्, बिलाउँछन्  तर स्वधर्म सार्वकालिक छ, यो सृष्टि हुँदादेखि नै शुरू भयो । र, अनन्त चलिरहनेछ ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्