अर्बपति विनोद चौधरीद्वारा संसदमै अर्थमन्त्री खतिवडाको आलोचना

काठमाडौँ – नेपाली कांगेका सांसद विनोद चौधरीले पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने निर्णय भए त्यसले मुलुकमा गम्भीर चुनौती थप्ने चेतावनी दिएका छन् । उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुरा हल्लामा मात्रै सिमीत होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

प्रतिनिधिसभाको बैठकले सांसद चौधरीले ७५३ वटा सरकार चल्न पैसा चाहिएको छ भन्दैमा जथाभावी कर लगाउन नमिल्ने बताए ।

विज्ञापन

‘अब त पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने कुराहरु बाहिर आएका छन् । म विश्वास गर्छु कि, यो हल्लैमात्र होला । किनकि त्यसले एउटा गम्भीर विकृति निम्त्याउने कुरा निश्चित छ । आफ्नो परिवारका सदस्यलाई समेत सम्पत्ति हस्तान्तरण गर्दा यदि कर तिर्नुपर्ने अवस्था आयो भने त्यसले एउटा नयाँ सामाजिक चुनौती जन्माउने निश्चित छ’, सांसद चौधरीले भने ।

उनले अर्थमन्त्री युवराज खतिवडाले कर लगाउने नयाँ–नयाँ उपाय खोजिरहेको आरोप लगाए ।

‘अर्थमन्त्रीज्यूलाई कर लगाउने नयाँ–नयाँ उपाय खोज्नुपर्ने बाध्यता मैले बुझेको छु । तर, करलाई यदि हामीले उत्पादनसँग जोड्न सकेनौँ रव्यापारलाई प्रतिस्पर्धी बनाउन सकिएन भने खासगरी भारत र चीनजस्ता मुलुकका बीचमा लगभग खुला रुपमा वस्तु र सेवाहरु आदानप्रदान हुने भौगोलिक स्थितिको पृष्ठभूमिमा हामीले तय गरेका हाम्रा योजनाहरु केवल कागजमा सीमित रहने निश्चित छ’, चौधरीले भने ।

उनले अगाडि भने, ‘७५३ वटै सरकारलाई डोजरदेखि मोटर किन्नका लागि पैसाको जोहो गर्ने क्रममा अर्थमन्त्रीज्यूले गर्नुभएका नयाँ नयाँ राजस्वका प्रयोगहरुको मारमा कहीँ उद्यमी, व्यवसायी र भएका उद्योग व्यवसायसमेत धरासायी नहुन् । अर्थमन्त्रीजी यहाँ सुन्दै हुनुहुन्छ, उहाँको ध्यान आकृष्ट गर्न चाहन्छु र सभामुखमार्फत् यो सन्देश गम्भीरताका साथ सरकारले ग्रहण गरोस् भन्ने कुरा राख्न चाहन्छु ।’

उनले औधोगिक विकासका कुरा सरकारी घोषणामा मात्रै सिमीत रहेको बताए ।

‘७ वटै प्रदेशमा औधोगिक क्षेत्र खोल्छौँ भन्ने उद्घोष हुन्छ । एउटै खुलेको थाहा छैन । कति लामो प्रक्रिया लाग्ने हो ? विशेष आर्थिक क्षेत्र खुल्यो भैरहवामा तर एउटा मात्र उद्योग सञ्चालनमा छ । अरु कोही जान चाहँदैन भन्ने कुरा छापामा आएको छ । गार्मेन्ट उद्योगका लागि विशेष आर्थिक क्षेत्र बनाइयो तर, कसैको पनि निवेदन परेको छैन भन्ने कुरा छापाबाट प्रष्ट देखिरहेका छौँ’ उनले भने ।

‘यी पूर्वाधारमा सफलतापूर्वक उद्योग स्थापना गरेर सफलतापूर्वक सञ्चालन गर्न सकिने भएको भए लाइन लाग्थे उद्यमी–व्यवसायी । विदेशी लगानी अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत घटी छ । ६ खर्बभन्दा बढीको कृषिजन्य वस्तुहरु नेपाल आयात भएको छ । गत ५ वर्षको तथ्यांकले राम्रोसँग देखाएको छ, हाम्रो निर्यात क्रमशः निश्चित रकमले घट्दो छ’, सा‌सद चाैधरीले भने ।

उनले धान्नै नसकिने करका दरहरु प्रस्तावित गरिएकोले नेपालको निर्यात क्रमशः घट्ने क्रमबाट अगाडि बढिरहेको बताए ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्