मेस्सीलाई जिवनभर क्लबमा राख्न बार्सिलोना इच्छुक

म्याड्रिड : स्पेनिस क्लब बार्सिलोना आफ्ना महान् खेलाडी लियोनल मेस्सीलाई जिवनभर क्लबमा राख्न इच्छुक देखिएको छ। खेलाडी जिवनबाट सन्याशपछि पनि मेस्सीलाई क्लबमै राख्न बार्सिलोना तयार रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्।

बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले मेस्सीसँगको वर्तमान सम्झौतामा उनी चालु सिजनको अन्त्यमा ‘ फ्रि ट्रान्सफर’ हुन सक्ने अवस्था पनि उल्लेख रहेको बताएपछि बार्सिलोनामा मेस्सीको भविस्यलाई लिएर केहीदिन यता लगातार समाचारहरु आइरहेका छन्।

विज्ञापन

स्थानीय अखबर मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोना मेस्सीको भविस्यलाई लिएर कत्ति पनि चिन्तित छैन। उसको दावी छ : बार्सिलोना मेस्सीलाई आजिवन अनुबन्ध गर्ने तयारीमा छ। मेस्सी र बार्सिलोनाबीचको चालु सम्झौता सन् २०२२ मा सकिने छ।

बार्सिलोना मेस्सी क्लबमै रहनेमा शतप्रतिशत विश्वस्त रहेको दावी गरिएको छ। सन् २०२२ को कतार विश्वकपसम्म बार्सिलोनाबाटै खेल्ने र त्यसपछि मात्र मेस्सीले आफ्ना बाँकी इच्छाहरु पुरा गर्नेबारे सोच्न सक्ने बताइएको छ। केही अन्तर्राष्ट्रिय सन्चार माध्यमको दावीलाई मान्ने हो भने मेस्सी खेलाडी जिवनबाट सन्याश लिनुअघि अर्जेन्टिनाको न्युवेल्स ओल्ड ब्वाइजबाट पनि खेल्न चाहन्छन्।

बार्सिलोनाले गर्ने आजिवन सम्झौताले मेस्सीलाई अस्थायीरुपमा क्लब छाड्ने अधिकार दिने छ भने उनि पछि पुन क्लबमा फर्कन सक्नेछन्। बार्सिलोनामा उनले आफूले चाहेको भूमिकामा काम गर्न सक्नेछन्। मेस्सीले बार्सिलोनाका लागि ६ सय ८७ खेल खेल्दै ६ सय ३ गोल र दुई सय ४२ असिस्ट गरेका छन्। ३२ वर्षीय मेस्सी सन् २००१ देखि बार्सिलोनामा छन्। त्यसअघि ६ वर्ष उनले घरेलु क्लब न्युवेल्स ओल्ड ब्वाइजमा बिताएका थिए।

 

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्