डेंगुको जाेखिम बढेपछि वीरगञ्ज महानगरले सुरु गर्‍यो टायरमा जमेकाे पानी फाल्ने अभियान

वीरगञ्ज– डेंगुका बिरामीको संख्या बढ्न थालेपछि वीरगञ्ज महानगरपालिकाले महानगर भित्र रहेका काम नलाग्ने टायरको व्यवस्थापन र टायरमा जमेको पानी फाल्ने अभियान सुरु गरेको छ।

टायरमा जमेको पानीलाई खन्याएर टायर सुरक्षित स्थानमा राख्ने कार्यको शुरुवात गरेको महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुण महतोले जानकारी दिए।

विज्ञापन

उनले बढदै गएको डेंगुको संक्रमणलाई रोक्न महानगरका घर–पसल वरिपरि रहेका टायरहरु भित्र जमेको पानीलाई खन्याउने तथा त्यसलाई सुरक्षित स्थानमा राख्ने कार्यको थालनी गरिएको बताए।

‘दुई दिनदेखि नियमित रुपमा महानगरपालिकामा घर तथा पसल वरिपरी देखिएका खाली टायरहरुलाई खाजेर नष्ट गर्दै आएका छौँ’, महतोले भने, ‘डेंगु रोग सार्ने लामखुट्टे उत्पादन हुने मुख्य स्रोत भनेको टायर भित्र जमेको पानी नै भएकाले यस्तो शुरुवात गरेका हौँ।’

उनले डेंगु रोग फैलाउने एडिस लामखुट्टेले टायरमा जमेको पानीमा फुल पार्ने र त्यसको लार्भाहरु विकसित हुने भएकाले यस किसिमका सामानहरुलाई सकेसम्म नष्ट गर्न र नसके त्यसमा पानी जम्न नदिन सुझाव दिए।

स्थानीयबासीहरुले पनि आफ्नो घर वरिपरी खाल्डोमा, खाली टायरमा, गमला लगायतमा पानी जमेको भए त्यसलाई तुरुन्तै खन्याएर सफा गर्नुपर्ने कुरामा महतोले जोड दिए।

उनले डेंगु रोगको लामखुटेलाई नियन्त्रण गर्नको लागि चाँडै महानगरको ३२ वटै वडाहरुमा औषधी पनि छर्किने जानकारी दिए।

‘डेंगको नियन्त्रणका लागि लामखुट्टेलाई नियन्त्रण गर्न महानगरको ३२ वटै वडाहरुमा औषधि पनि छर्किन्छौँ’ ,महतोले भने, ‘अहिले औषधी खरिद प्रक्रियामा रहेकाले खरिद हुने बित्तिकै महानगरका सबै वडाहरुमा छर्किन्छौँ।’

यस्तै डेंगुको संक्रमण बढदै गएपछि वीरगञ्ज महानगरपालिकाले महानगरका तीन वटा अस्पतालहरुलाई डेंगु परिक्षण गर्ने किट पनि निशुल्क उपलब्ध गराएको छ।

महानगरपालिकाले वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र तराई अस्पतालमा निशुल्क रुपमा डेंगु परिक्षण गर्ने किट उपल्बध गराएको स्वास्थय शाखा प्रमुख महतोले जानकारी दिए।

पछिल्लो समयमा पर्सा र बारामा डेंगुका बिरामीहरुको संख्या बढदै गएको छ।

अहिले वीरगञ्जको नारायणी अस्पताल, एडभान्स अस्पताल, तराई अस्पताल, नेशनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरमा गरी २५ जना डेंगुका बिरामीहरुको उपचार भइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्