भेटियो चन्द्रमामा ल्याण्डर विक्रमको लोकेसन

६ सेप्टेम्बरको राति (७ सेप्टेम्बरको बिहान) झण्डै १ बजेर ३६ मिनेटदेखि सम्पर्कविहीन भएको चन्द्रयान–२ को ल्याण्डर विक्रमको लोकेसन फेला परेको छ।

स्मरणीय छ- चन्द्रमामा ‘ल्याण्डिङ’ गर्ने क्रममा चन्द्रसतहबाट २.१ किमि माथिको दूरीमा पुग्दा ल्याण्डर विक्रमसँग इसरोका वैज्ञानिकहरुको सम्पर्क विच्छेद हुन पुगेको थियो।

विज्ञापन

‘यो त इसरोलाई मात्र होइन, यसबारे अलिकति पनि जानकारी हुने सबैलाई थाहा थियो, ल्याण्डर विक्रम चन्द्रधरातल बाहेक अन्यत्र कतै जान सक्दैन।’

ल्याण्डिङका बेला ल्याण्डर विक्रमको चारवटा इन्जिन प्रज्वलित गराएर यसको गति कम गर्दै चन्द्रसतहमा ओराल्ने प्रयास हुँदै थियो। चन्द्र अर्बिटमा ल्याण्डर ४ सेप्टेम्बरदेखि नै ३५x१०१ किमिको अर्बिटमा रहेर २ हजार मिटर प्रति सेकेण्डको गतिले परिक्रमा गरिरहेको थियो।

वैज्ञानिकहरुको लक्ष्य यसमा जडान गरिएका पाँचवटा मध्ये चारवटा ‘प्रपल्सन सिस्टम फायर’गरेर क्रमशः यसको गति कम गर्दै चन्द्रमाको दक्षिणी ध्रुवस्थित दुईवटा क्रेटरकाबीच ओराल्नु रहेको थियो।

अप्रेसन शुरु भयो, ल्याण्डर गति कम गर्दै ओर्लिन थाल्यो। इसरोको नियन्त्रण कक्षमा रहेको डिस्प्लेमा यान कति गतिले कति किमि ओर्लिसकेको जानकारी क्षणकै दशांशमा परिवर्तित हुँदै गैरहेको थियो। यानले ७ किमि माथिको पडाव पार गरेर अघि बढेको जानकारी स्क्रिनमा देखियो। यानको गति १६ सय, १४ सय, १३ सय हुँदै ६७५ मिटर प्रति सेकेण्डसम्म कम भएको तथ्यांक इसरोको कम्प्युटरमा अंकित हुदै थियो।

तर, त्यसैबेला स्क्रिनमा ल्याण्डर विक्रम ओर्लदैं गरेको रातो रेखा हरियोमा परिवर्तित भई भित्रपट्टि बांगिएर टुगिंयो। इसरोका सयौं वैज्ञानिकको निधार खुम्चियो। त्यसबेला विक्रम चन्द्रसतहबाट २।१ किमि माथि थियो।

ल्याण्डरले पठाइरहेको संकेत आउन रोकिएपछि यो त विदित नै भइसकेको थियो, ‘ल्याण्डर विक्रममा केही गडबडी उत्पन्न भएको छ।’ जानकारहरुका लागि यो गडबडी अरु केही नभएर ‘सफ्ट ल्याण्डिंग’ ‘क्र्यास ल्याण्डिंग’ मा परिणत भएको बुझ्न पर्याप्त थियो।

इसरोको योजना मुताबिक ल्याण्डरलाई चन्द्रसतहदेखि ७०० मिटर माथि ल्याएर १०–१२ सेकेण्डका लागि स्थिर गर्नु रहेको थियो। यस अवधिमा ल्याण्डरले अवतरण गर्ने स्थलको सर्वे गर्नु रहेको थियो। यसपश्चात ल्याण्डरको मध्य भागमा जडित पाँचौ प्रपल्सन सिस्टमलाई पनि ‘फायर’ गरेर २ मिटर प्रति सेकेण्डका गतिले अवतरण गराउने योजना थियो इसरोको।

तर, ल्याण्डरबाट जुनबेला संकेत आउन छाड्यो, त्यसबेला यसको गति झण्डै ६७५ मिटर प्रति सेकेण्ड अर्थात झण्डै २४०० किमि प्रति घण्टा रहेको थियो। यस गतिले यानलाई चन्द्रसतहमा पुग्न ३ सेकेण्डकै समय पर्याप्त थियो।

भनौं, बंगलुरुको नियन्त्रण कक्षमा रहेका वैज्ञानिकले सन्देश दिन रोकियो भन्ने एक आपसमा चर्चा गर्नु पूर्व नै ‘ल्याण्डर’ ले चन्द्रसतह छोइसकेको थियो।

७ सेप्टेम्बरमा सम्बन्ध विच्छेद भएको ल्याण्डरसँग फेरि सम्पर्क हुन सकेन।

तर, यो सबका बीच एउटा झिनो आशा के थियो भने, ल्याण्डरले गति नियन्त्रण आफैं गरिरहेको थियो। सम्भावना यो पनि थियो ल्याण्डरले गति कम गर्दै अवतरण गर्‍यो, अवतरण गर्नुपूर्व चन्द्र धरातलमा ल्याण्डरको गतिले धुलोको मुस्लो उडेर यसका सेन्सरलाई ढाकिदियो। यान सुरक्षित ओर्लियो, वा गतिले यो थाहा हुन सकेन। इसरोको योजना यानलाई ७ किमि प्रति घण्टाको गतिमा ल्याएर ओर्लने बेलामा झण्डै गतिशून्य अवस्थामा ल्याई चन्द्रधरातलमा टिकाउनु थियो।

यानले गति कम गरेर (सन्देश आउन रोकिएपछि) चन्द्र अवतरण गरेको झिनो आशा इसरोलाई अझै बाँकी छ। तर, गति कम नभएको भए ल्याण्डर विक्रम चन्द्रसतहसँग ठक्कर खाएर नष्ट भयो।

इसरोले सम्पर्क विच्छेद भएपछि ल्याण्डरको अवस्था अज्ञात रहेको भनी मुख्ययान अर्बिटरबाट यसको खोजी गर्ने काम जारी राखेको थियो। अर्बिटर सुरक्षित रुपमा चन्द्र अर्बिटमा रहेर चन्द्र परिक्रमा गरिरहेको छ।

यसै क्रममा आज आइतवार ८ सेप्टेम्बरमा इसरो प्रमुख के. सिवनले पत्रकार सम्मेलन गरी ल्याण्डर विक्रमको लोकेशन थाहा भएको जानकारी दिएका छन्। उनका अनुसार अर्बिटरबाट प्राप्त ‘थर्मल’ तस्वीरले ल्याण्डरको पत्ता लागेको हो। हुन त अहिलेसम्म ल्याण्डर विक्रमसँग सम्पर्क हुन सकेको छैन। के. सिवनले भने– हामी ल्याण्डरसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं। उनले भने, अहिलेसम्म हामीलाई ल्याण्डर कुनै क्रेटरमा त पसेको होइन भनी शंका रहेको थियो तर, प्राप्त तस्वीरले हाम्रो यो शंका निर्मूल भएको छ। ल्याण्डर हामीले सोचको स्थानभन्दा ५०० मिटर पर देखिएको छ। ल्याण्डर चन्द्र धरातलमै छ। हामी सन्देश पठाएर ल्याण्डर विक्रमको कम्युनिकेसन सिस्टमलाई ‘अन’ गर्ने प्रयास गरिरहेका छौं।

अर्बिटरबाट प्राप्त भएको यी तस्वीरले इसरोलाई ठूलो आशा जगाएको छ। ल्याण्डर विक्रम यदि क्षतविक्षत भएको छैन र यसभित्रबाट रोभर प्रज्ञानले निस्केर चन्द्रसतहको केही जानकारी वा तस्बिर पठाउन सक्यो भने यसलाई ‘सफ्ट ल्याण्डिङ’ नै मानिने छ। हुन त यसको सम्भावना थोरै मात्र छ।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू