विराटनगर विमानस्थलको स्तरोन्नति गरिने

मोरङ– प्रदेश एकको राजधानी विराटनगरस्थित विराटनगर विमानस्थलको स्तरोन्नति हुने भएको छ।

विमानस्थल स्तारोन्नतीका लागि गठित संघर्ष समितिसँग आइतबार काठमाडौँमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले छलफलका क्रममा विमानस्थलको स्तरोन्नतीका लागि आफू सकारात्मक रहेको बताएका छन्।

विज्ञापन

छलफलमा सहभागि संघर्ष समितिका संयोजक पुन्य भट्टराईका अनुसार मन्त्री भट्टराईले केही दिनमा डीपीआरको काम सम्पन्न हुने र त्यसपछि विराटनगरमा विस्तृत प्रतिवेदनमाथि छलफल गरी अघि बढ्ने सहमति भएको जानकारी दिए।

विमानस्थलको डीपीआरको काम ९५ प्रतिशत सम्पन्न भइसकेको बताएका संघर्ष समितिका संयोजक पुन्य भट्टराईले असोजबाट स्तरोन्नतीको काम अघि बढाउन मन्त्रालय सकारात्मक रहेको बताए।

डीपीआरपछि विमानस्थलको सीमाङ्कनको काम असोजबाट सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ। हाल विमानस्थल १ सय १५ विघा क्षेत्रफलमा फैलिएको छ। विमानस्थलको धानवमार्ग २ हजार ४ सय मिटरको बनाउनका लागि थप १ सय ५० विघा क्षेत्रफल आवश्यक रहेको विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए।

यसक्रममा ८० प्रतिशत उब्जाउ खाली जमिन र बाँकी २० प्रतिशत नीजि रहेको प्रमुख सिटौलाको भनाइ छ। हाल विमानस्थलको धावन मार्ग १ हजार ५ सय मिटर लम्बाईको रहेको छ।

विमानस्थलको स्तरोन्नति भएपछि विराटनगरबाट भारतको गुवाहटी, कोलकाता तथा दिल्लीसम्म उडान गर्न सकिने विमानस्थल प्रमुख सिटौलाको भनाइ छ।

त्यसैगरि छलफलका क्रममा मन्त्री भट्टराईले काठमाडौँको एयर ट्राफिक समस्या समाधानका लागि ट्वीनएटर विमानलाई विकेन्द्रीकृत गर्ने उल्लेख गरेका थिए।

छलफलमा सहभागि पर्यटन व्यवसायी फडिन्द्र अधिकारीले ट्वीनएटर विमानलाई विराटनगर, नेपालगञ्ज तथा भैरहवाबाट सञ्चालनमा ल्याउने तैयारी मन्त्रालयले गरिरहेको जनाए।

छलफलका क्रममा पूर्व उद्योग तथा आपूर्ति मन्त्री शिवकुमार मण्डल, पर्यटन व्यवसायी रविन गौतम, नेकपाका स्थानीय नेता भोगेन्द्र यादव, पारुल क्षेत्री रहेका थिए।

प्रदेश एकमा रहेको १४ वटा विमानस्थलमध्ये विराटनगरबाट पाँचवटा विमान कम्पनीले काठमाडौँ र तुम्लिङटारको लागि मात्र उडान भर्दै आएका छन्।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू