पेन्सन बुझ्ने जनप्रतिनिधिलाई दोहोरो सुविधा दिन विधेयक संशाेधन

बुटवल– प्रदेश ५ को प्रदेश सभाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दोहोरो सुविधा पाउने बाटो खुल्ला गर्ने गरी विधेयक संशाेधन गरेको छ।

संसद बैठकले सरकारी जागिरबाट सेवा निवृत्त भई पेन्सन बुझ्दै आएका जनप्रतिनिधिलाई मासिक सुविधासँगै विगतमा बुझ्दै आएको पेन्सन लिने बाटो खुल्ला गर्ने गरी विधेयक संशाेधन गरेको हो।

विज्ञापन

सुविधा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभा बैठकले सर्वसम्मत पारित गरेको हो।

विधेयकको नागरिकस्तरमा विरोध भए पनि प्रदेश सभामा भने सांसदहरुले विरोध गरेनन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौन समर्थन जनायो।

विधेयकमाथिको छलफलका क्रममा भने राष्ट्रिय जनमोर्चाकी तारा जिसी र समाजवादी पार्टीका सन्तोष पाण्डेले विरोध जनाएका थिए।

विधेयकको दफावार छलफलका क्रममा समाजवादी पार्टीका सांसद पाण्डेले दोहोरो सुविधा दिनु र लिनु अनैतिक हुने भन्दै विरोध जनाएका थिए।

उनले जनप्रतिनिधिको गरिमा राख्न नैतिकताका आधारमा पेन्सन लिनेले भत्ता सुविधा लिन नहुने बताएका थिए। दोहोरो सुविधा दिने विधेयक ल्याउनुअघि व्यापक छलफल गर्नुपर्नेमा सरकारले त्यसो नगरेको भन्दै सांसद पाण्डेले असन्तुष्टि जनाए। दोहोरो सुविधाले राज्यलाई दीर्घकालसम्म व्ययभार थपिने सांसद पाण्डेको तर्क छ।

यसअघि बिहिबारको संसद बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले जनताका आधारभुत समस्यातर्फ ध्यान नगएको भन्दै जनप्रतिनिधिहरुलाई सेवासुविधा थप्ने कार्यको विरोध गरेकी थिइन्।

जनप्रतिनिधि आफ्नो इच्छाले जनताको सेवा गर्न र देशको विकास गर्न आएका हुन् भन्दै उनले प्रदेश सरकारले सेवा सुविधा सम्वन्धी व्यवस्थामा संशाेधन गर्न थालेकोमा विरोध गरेकी थिइन्।

संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद जिसीले जनता खानेपानी र स्वास्थ्य सेवाबाट बञ्चित रहेको अवस्थामा त्यसतर्फ ध्यान नदिएको भन्दै करोडौँ बजेट सक्ने गरी सेवा सुविधा थप्ने निर्णय खारेज गर्न माग गरेकी थिइन्।

प्रदेश ५ सरकारले बनाएको सेवा सुविधासम्बन्धी ऐनअनुसार प्रदेश ५ का गाउँपालिकाका अध्यक्षले मासिक ३० हजार पारिश्रमिक, उपाध्यक्षले मासिक २७ हजार पारिश्रमिक, वडा अध्यक्षले मासिक २० हजार पारिश्रमिकसहित अन्य सुविधा पाउँदै आएका छन्।

त्यस्तै नगर कार्यपालिकामा नगरपालिकाका प्रमुखले मासिक ३५ हजार पारिश्रमिक, उपप्रमुखले मासिक ३० हजार पारिश्रमिक, वडा अध्यक्षले मासिक २५ हजार पारिश्रमिकसहित विभिन्न सुविधा पाउँदै आएका छन्।

त्यस्तै उपमहानगरपालिकामा उपमहानगरपालिकाका प्रमुखले मासिक ४० हजार पारिश्रमिक, उपप्रमुखले मासिक ३५ हजार पारिश्रमिक, वडा अध्यक्षले मासिक २६ हजार पारिश्रमिकसहित अन्य सुविधा पाउँदै आएका छन्।

भदौ २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू