युरोकप २०२० छनौट

विश्वकप खेल्न नपाएको इटाली युरोकप यात्रामा बलियो

पछिल्लो विश्वकप फुटबलमा छनौट हुन नसकेको इटाली आउँदो वर्ष हुने युरोकप फुटबलका लागि भने सहज रुपमा स्थान बनाउन सक्ने अवस्थामा पुगेको छ ।

युरोकप फुटबलको छनौट चरण अन्तर्गत आइतबार राति भएको खेलमा इटालीले फिनल्याण्डलाई पराजित गरेको छ । समूह जे अन्तर्गतको खेलमा इटालीले अवे मैदानमा भएको खेलमा २–१ को जित निकालेको हो । उसका लागि इमोबिल र जोर्गिन्होले गोल गरे । फिनल्याण्डका लागि पुकीले एक गोल फर्काए ।

विज्ञापन

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५९ औँ मिनेटमा इमोबिलले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ७२ औँ मिनेटमा फिनल्याण्डले पेनाल्टी पायो र त्यसमा पुकीले बराबरी गोल फर्काए । ७९ औँ मिनेटमा इटालीले पेनाल्टी पायो र त्यसमा जोर्गिन्होले गोल गर्दै टिमको जित निश्चित गरे ।

समूह चरणका हालसम्मका सबै ६ खेल जितेको इटाली १८ अंकसहित शीर्षस्थानमा छ । १२ अंकसहित फिनल्याण्ड दोस्रो स्थानमा छ । सोही समूहको खेलमा अर्मेनियाले बोसनिया–हर्जगोबिनालाई ४–२ ले पराजित गरेको छ भने ग्रिस र लिचेस्टाइनले १–१ को बराबरी खेलेका छन् ।

अरु खेलमा स्वीट्जरल्याण्डले जिब्रालटारलाई ४–० ले हरायो भने जर्जिया र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्