झण्डै ३९ सय जनामा डेंगु संक्रमण, डा. सन्दुक रुइतलाई पनि डेंगु

काठमाडौँ – डेंगुको संक्रमण देशका अधिकांश जिल्लामा संक्रामक रुपमा फैलिएको छ । साउन महिना लागेयता हालसम्म झण्डै ३९ सय जनामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

साउन १ देखि २२ गतेसम्म देशका विभिन्न जिल्लामा गरी तीन हजार ८ सय ९९ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । डेंगुका कारण सबैभन्दा बढी प्रभावित भएको जिल्ला चितवन र कास्की हुन् । चितवनमा एक हजार ३६ र कास्कीमा ७१५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २५४ जनामा डेंगु संक्रमण भएको छ ।

विज्ञापन

प्रादेशिक रुपमा हेर्दा प्रदेश तीनमा दुई हजार १०, गण्डकी प्रदेशमा ८९६, प्रदेश एकमा ८३१, प्रदेश पाँचमा ९७, प्रदेश दुईमा ३९, सुदूरपश्चिम प्रदेशमा २३ तथा कर्णाली प्रदेशमा तीनजनामा संक्रमण पुष्टि भएको छ । डेंगुका कारण अस्पतालमा भीड बढेको छ ।

डेंगु संक्रमण मन्त्रीदेखि वरिष्ठ डाक्टरलाई पनि भएको छ । कृषिमन्त्री चक्रपाणि खनाल, वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहितलाई डेंगु संक्रमण भएको छ ।

डेंगुबाट बच्नका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउन थालेको छन् । उपायहरु अपनाउँदा अपनाउँदै पनि धेरै मानिसहरु सङ्क्रमणको जोखिममा रहेको चिकित्सकहरुले बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

डे‌ंगु केहाे? यसबाट कसरी जाेगिने?

डेंगु एक प्रकारको भाइरल ज्वरो हो। यो डेंगु भाईरस (डिइएन भी) ले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ। डेंगु भाइरसको चार प्रजाति छन् । जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन् ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवनभर सङ्क्रमित रहन्छ ।

एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ। तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन्।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्