प्रदेश २ को राजधानीमै शौचालयको अभाव

फाइल तस्बिर

जनकपुरधाम – प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा बस्ने मानिसको संख्या लाखौँ छ । यसका अतिरिक्त रोजगारी र पढाईका लागि बस्नेकोसंख्या पनि उत्तिकै छ । जनसंख्याको चापाचाप भएको राजधानीमा सार्वजनिक शौचालय कति होला ?

तपाईँलाई लाग्ला यत्र तत्र सयौँ सार्वजनिक शौचालयहरु होलान् । तर कतै केही कामको सिलसिलामा प्रदेशको राजधानीमा हिँड्दै गर्दा शौच गर्नु परिहाल्यो भने तपाईँले सहजै पाउनुहुन्न । यसका लागि होटल या रेष्टुरा छिर्नैपर्छ । किनभने उपमहानगर भित्र पुगनपुग ६ वटाजति मात्रै छन् सार्वजनिक शौचालय ।

विज्ञापन

प्राचिन मिथिलाको राजधानी एवं प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको जानकी मन्दिरको दर्शन गर्न दिनहुँ तिर्थालु भक्तजनहरु आउ–जाउ गर्छन् । नेपाल–भारतसहित तेश्रो मुलुकका पर्यटक या दर्शनार्थी यहाँ आउने गर्दछन् । तर उनीहरु राजधानीमै शौचालय नभएर प्रताडित हुनुपरेको छ ।

शुक्रबार महोत्तरी जिल्लाको औरही नगरपालिकामा बसोबास गर्दै आएका रामछविला महतो जानकी मन्दिरको दर्शन गर्न रामान्दचोकमा झरे । त्यसपछि जानकी मन्दिर पुगेर पूजापाठ गरी फर्किने क्रममा शौचालय खोज्न भौँतारिए । जसोतसो जानकी मन्दिरमा शौचालय भेटाए तर फोहोर शौचलयमा जाने मन भएन । अन्त्यमा एउटा होटेलमा गएर उनले आफ्नो भारी बिसाएको सुनाए ।

जनकपुरधाम धेरै पहिले आएका महतोले यहाँ आउनु भन्दा पहिला जनकपुरधामलाई लिएर आफ्नो मनमै यस ठाउँको परिकल्पना गरे जस्तो भेटेनन् । उनले जनकपुरधाम प्रदेशको राजधानी समेत रहेकाले यो व्यवस्थित सहर रहेको सोचेका उनको मनको कुरा मनमै रह्यो ।

शौचालय नभएपछि बाध्यतावस सडकको छेउमै दिसा–पिसाब गर्नु परेको भन्दै महतोले भने, ‘म पुरुष भएको कारणले खाली ठाउँ या सडककै छेउमा पिसाब गरेँ तर मेरो ठाउँमा कुनै महिला भएको भए उनका लागि ठूलो समस्या हुन्थ्यो ।’

यस्ता घटना प्रत्येक दिन यहाँ आउने तिर्थालु भक्तजन तथा पर्यटकसँग हुने गरेको छ । सार्वजनिक शौचालय नभएपछि नगरको विभिन्न क्षेत्रमा खाली ठाउँ रहेको क्षेत्रमा लजाई लजाई दिसा पिसाब गर्ने गरेको छ जसको कारण नगरको विभिन्न क्षेत्र दुर्गन्धित भएको देखिन्छ । एका तर्फ अहिले दुर्गम क्षेत्रहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइरहेका छन् भने अर्को तर्फ ऐतिहासिक नगरी तथा प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा शौचालयको अभाव रहेको छ ।

जनकपुरधामको विकासका लागि जनकपुरधाम उपमहागरपालिकाले ‘जनकपुर इज नट स्लिप’ नीतिलाई प्राथमिकतामा राखेको छ भने अर्कोतिर अति आवश्यक रहेको शौचालयतर्फ ध्यान जान सकेको छैन् ।

सरोकारवालाहरुले यसमा ध्यान नदिएपछि र्सावजनिक शौचालयको अभावमा नगर नै दुर्गन्धित हुँदै गएको छ । जनकपुरधाममा एक त शौचालय छैन्, जुन छ त्यो दुर्गन्धित भएपछि त्यहाँ मानिस जान नचाहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रमेश झाले बताए ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता कुमारी मिश्रका अनुसार जनकपुरधामको विभिन्न वडामा खानेपानी मन्त्रालयको सहयोगमा विभिन्न ठाउँमा ३० वटा सार्वजनिक शौचालय निर्माण गर्न लागेको बताईन् । तर सरकारी कार्यालयमा रहेका शौचालयहरु पनि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू