सम्पादकीय

अतिवादी आदेश

नयाँ जोश र जाँगरसँगै निकै आश जगाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको एउटा आदेशमा अव्यवहारिकपन देखापरेको छ ।

पशुपतिनाथ (बागमती) मा विगत एक दशकदेखि हुँदै आएको रात्रीकालीन आरतीको प्रारम्भमा राष्ट्रगान बजाउने उर्दी जारी भए यता त्यसले पशुपति आर्यघाट परिषरमा नमिठो विवाद र परिस्थिति सिर्जना गरेको छ ।

विज्ञापन

राष्ट्रगान राष्ट्रको एउटा महत्वपूर्ण चिनारी र आम नेपालीहरुको संकल्प सुक्त हो । औपचारिक सरकारी, अर्ध सरकारी, शैक्षिक संस्थामा परम्परागत रुपमा राष्ट्रगानबाट दैनिकी सुरु हुने गर्छ ।

त्यसबाहेक संसद, प्रदेशसभासँगै स्थानीय तहका औपचारिक कार्यक्रमको प्रारम्भ राष्ट्रगानबाट भएमा त्यसलाई अस्वभाविक भन्न मिल्दैन । तर, पशुपतिमा गंगा आरतीअघि राष्ट्रगानलाई बाध्यकारी बनाएर सरकारले के सन्देश दिन खोजेको हो, त्यो स्पष्ट हुनु जरुरी छ ।

हिन्दू परम्परा र संस्कारमा मृत्युपूर्व र अन्त्येष्टिमा धार्मिक ग्रन्ध, मन्त्रोच्चारण तथा भजन श्रवणको आफ्नै मान्यता छ । पशुपति आरती स्थल र आर्यघाट महासमशान बिच केवल बागमती नदी बग्छ । मलामी र अन्त्येष्टिमा संलग्नहरुबाट के अपेक्षा राख्ने त्यहाँ राष्ट्रगान बज्दा ? उनीहरु पनि त्यसमा सहभागी हुने ? त्यसो नगर्दा अवज्ञा मानिएला कि नमानिएला ?

मन्त्री भट्टराई ज्यू, यो निर्णयमा कतै अतिराष्ट्रवाद भन्दा बढी संवेदना र मानवीय पक्षको सर्वधा अभाव त छैन ? यो कुनै रुपमा धार्मिक या १० वर्षदेखि चल्दै आएको गंगा आरती परम्परालाई राष्ट्रवादका नाममा बिथोल्ने कदम त हैन ?

गुठी विधेयक र सत्ताले ‘होली वाइन’ संस्कृतिप्रति देखाएको मोहले सही या काल्पनिक रुपमा त्यस्तो अवधारणा बन्यो जनमानसमा भने त्यो अत्यन्त प्रत्युत्पादक बन्न सक्नेछ ।

मृत्युको मर्यादा हुन्छ । पार्थिव शरीरको अन्त्येष्टि समेत त्यहाँ नियमित रुपमा हुने हुँदा ‘राष्ट्रगान’ को बाध्यताबाट त्यो ठाउँलाई मुक्त गर्ने कि ?

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्