गोहीको आँशु नझार्न प्रचण्डलाई लक्ष्मण थारुको चेतावनी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाबारे आइतबार दिएको अभिव्यक्तिप्रति थारु नेता लक्ष्मण थारुले कडा आपत्ति जनाएका छन् । उनले थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई अब यस्ता अभिव्यक्ति दिन नसुहाउने बताए ।

आइतबार थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु विद्रोहको रुपमा चर्चा गरेका थिए । उनले टीकापुर घटना राजनीतिक भएको बताउँदै उक्त घटनाको राजनीतिक समाधान निकालिनु पर्ने बताएका थिए ।

विज्ञापन

तर प्रचण्डको यो भनाईप्रति नेता थारुले आपत्ति जनाउँदै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् ।

‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने तर बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन् अब भ्रममा नरहे हुन्छ’, थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ?’

उनले प्रचण्डले चाहेको भए टीकापुर घटनाले यसअघि नै समाधान पाइसक्ने थियो भन्दै अहिले जथाभावी बोलेर थारुहरुलाई उत्तेजित नपार्न आग्रह गरे ।

‘प्रचण्डले साँचो अर्थमा थारुका मुद्दा बोकेको भए अहिलेसम्म टीकापुर घटनाले राजनीतिक समाधान पाइसक्थ्यो, तर उनले थारुहरुप्रति मुखमा रामराम बगलीमा छुरा जस्तै प्रवृत्ति देखाए’ नेता थारुले भने ।

उनले थारुहरुलाई अझै पनि दास सम्झने चिन्तन प्रचण्ड लगायत नेताहरुमा कायमै रहेको आरोप लगाए।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू