लक्ष्मीमार्ग गोल्डकपको उपाधि राशि दोब्बर

मोरङ-उपाधि पुरस्कारको राशि दोब्बर बनाउदैं लक्ष्मीमार्ग अन्तष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करण असोजको पहिलो साताबाट हुने भएको छ।

प्रतियोगिताका अध्यक्ष विक्रम राईका अनुसार तेश्रो संस्करणको उपाधि हात पार्ने टोलीले ५ लाख रुपैया, उपविजेताले २ लाख ५० हजार हात पार्नेछन्।

विज्ञापन

गत संस्करणमा विजेता टोलीले मोरङ फुटबल क्लबले २ लाख २२ हजार रुपैया र उप-विजेता झापाको विर्तामोड युनाइटेडले १ लाख ११ हजार रुपैया हात पारेको थियो।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष राईले गोल्डकपमा भारतको एक टोलीसहित ८ क्लबले उपाधिका लागि स्पर्धा गर्ने बताए।

प्रतियोगितामा भारतको रोयल क्लब, रुपन्देही ११, धरान ११, एपीएफ काठमाडौं, झापा ११, मदन भण्डारी स्पोटर्स एकेडेमी काठमाडौं, नेपाल पुलिस क्लब, र आयोजक डाँगीहाट युथ क्लब मोरङले स्पर्धा गर्ने छन्।

अध्यक्ष राईले एन्फाको नयाँ नियम अनुसार ‘ग’ श्रेणीमा परेको यस गोल्डकपमा गतवर्षको विजेता टोली मोरङ फुटबल एकेडेमीलाई समेट्न नसकिएको जानकारी दिए।

गतवर्ष मोरङले झापाको टोलीलाई पराजित गर्दै उपाधि हात पारेको थियो।यसपटक मोरङका खेलाडीलाई समेट्दै आयोजक डाँगीहाट युथ क्लबले सहभागिता जनाउने उनले स्पस्ट पारे।

आयोजकले गोल्डकपमा विज्ञापनबाट ३३ लाख रुपैया संकलन हुने र ३१ लाख ४ हजार रुपैया खर्च हुने अपेक्षा गरेको छ। अध्यक्ष राईले भने ‘असोज ११ गतेसम्म हुने गोल्डकपमा १ लाख ९६ हजार रुपैया बचत हुनेछ।’

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्