फुटबलका रोनाल्डोलाई आदर्श मान्ने नाडाल कसरी टेनिसका बादशाह बन्दैछन्?

आइतबार यूएस ओपनको उपाधि जितेपछि नाडाल।

न्युयोर्क- सन् २००३ र २०१० विश्व लन टेनिसले लामो समयसम्म स्मरण गर्ने वर्ष बन्नेछन्। सन् २००३ को तेस्रो ग्रान्डस्लाम विम्बल्डन जितेर रोजर फेडेररले एकल ग्रान्डस्लाम इतिहासमा नयाँ अध्याय सुरुवात गरे। त्यो उनको पहिलो ग्रान्डस्लाम उपाधि थियो।

त्यसयता उनले लगातार पाँचपटक विम्बल्डन जिते, सन् २००७ सम्म। वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा पनि फेडेररको यस्तै दुर्लभ क्रम रह्यो। उनले सन् २००४ देखि २००८ सम्म लगातार पाँचपटक यो प्रतियोगिता जिते। सन् २०१० सम्म आइपुग्दा उनी विश्व टेनिसमा सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बने।

सन् २०१० को पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा बेलायती एन्डी मुर्रेलाई हराउँदै पिट साम्प्रासको नाममा रहेको सर्वाधिक १५ एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीको कीर्तिमान तोड्दा फेडेररको उमेर २९ वर्ष थियो। त्यतिबेलासम्म उनले अस्ट्रेलियन ओपन चार पटक, फ्रेन्च ओपन एक पटक, विम्बल्डन ६ पटक र अस्ट्रेलियन ओपन पाँचपटक जितेका थिए। त्यसबीचमा उनी ६ पटक ग्रान्डस्लामको फाइनलमा पुगेर हारेका थिए।

धेरैको अनुमान थियो : शानदार लयमा रहेका फेडेररको कीर्तिमान तोडिन वर्षौँ लाग्ने छ। ‘एक्टिभ’ खेलाडीमध्ये फेडेररपछि नाडाल उनको सबैभन्दा नजिक थिए। नाडालको नाममा केवल ६ वटा एकल ग्रान्डस्लामको उपाधि थियो। नाडाल र फेडेररलाई पछिल्लो समय हैरान पारिरहेका नोभाक जोकोभिचले केवल एकपटक ग्रान्डस्लाम उपाधि जितेका थिए।

फेडेररलाई सबैभन्दा बढी डर कसैको थियो भने उनी नाडाल नै थिए। त्यसबीचमा फेडेररले ग्रान्डस्लामको फाइनलमा ब्यहोरेका हारमध्ये पाँचवटा नाडालसँग नै थिए। विम्बल्डनमा उनको लगातार पाँच उपाधिको क्रम नाडालसँग फाइनलमा पराजित भएर तोडिएको थियो, सन् २००८ संस्करणमा।

फेडेररले साम्प्रासको नामको विश्व कीर्तिमान तोडे लगत्तै विश्व पुरुष टेनिसमा नयाँ ‘सिन’ देखियो। विगतको नाडाल-फेडेरर प्रतिस्पर्धा अब नाडाल-नोभाक जोकोभिचका रुपमा देखिन थाल्यो। सन् २०१० देखि २०१४ को बीचमा नाडालले ८ पटक र जोकोभिचले ६ पटक एकल ग्रान्डस्लाम जिते।

त्यस अवधीमा नाडाल लगातार पाँचपटक फ्रेन्च ओपन विजेता बने। लगातार तीन ग्रान्डस्लामको फाइनलमा जोकोभिचसँग पराजित भए अनि तीनवटा ग्रान्डस्लाम प्रतियोगिता चोटका कारण गुमाउन पुगे। सन् २०१० को फ्रेन्च ओपनदेखि उनी लगातार ९ वटा ग्रान्डस्लाममध्ये केवल एउटामात्र मात्र फाइनल पुग्न सकेनन्।

सन् २०१४ को फ्रेन्च ओपन विजेता बनेर यो प्रतियोगिता लगातार पाँचपटक जित्ने पहिलो खेलाडि भए। त्यसपछिका लगातार ११ ग्रान्डस्लाम प्रतियोगितामा नाडाल विजेता बन्न सकेनन्।  तर नाडालले अन्तिमपटक ग्रान्डस्लाम जित्दा फाइनलमा पराजित भएका जोकोभिच त्यसपछि विश्व टेनिसको शिखरमा रहे।

सन् २०१४ को फ्रेन्च ओपनदेखि लगातार ९ ग्रान्डस्लाममध्ये ८ वटामा फाइनल पुगे भने ६ वटा जित्न सफल भए। सन् २०१५ को विम्बल्डनदेखि लगातार चार वटा ग्रान्डस्लाम जितेर जोकोभिचले विश्व टेनिसमा दुर्लभ सफलता हात पारे। यो त्यस्तो सफलता थियो जुन नाडाल र फेडेरर दुवैले हात पार्न सकेका थिएनन्। तर त्यसपछि जोकोभिच लगातार ८ ग्रान्डस्लाम प्रतियोगितामा विजेता बन्न सकेनन्, २०१८ को फ्रेन्च ओपनसम्म। यसबीचमा  एकपटक भने फाइनलसम्म पुगेका थिए।

यो अवधी फेडेररका लागि सम्झनलायक रहन सकेन। सन् २०१० को अस्ट्रेलियन ओपनपछि सन् २०१७ को अस्ट्रेलियन ओपन सुरु नहुँदासम्म  ग्रान्डस्लाम टेनिसमा  फेडेरर एकपटक मात्र विजेता भए,  ४ पटक फाइनलमा पुगेर निराश बने। ती हारमध्ये तीनवटा जोकोभिचसँग र एउटा नाडालसँग थिए। सन् २०१६ का दुई वटा ग्रान्डस्लाम भने चोटका कारण गुमाउन पुगेका थिए।

पछिल्ला तीन वर्ष भने नाडाल र जोकोभिच पुरानै लयमा फर्किएका छन्। फेडेररले पनि पुनरामगनको प्रयाश गरेपनि त्यो नाडाल र जोकोभिचको स्तरमा देखिन सकेको छैन। नाडाल करिब तीन वर्षपछि कुनैपनि ग्रान्डस्लामको फाइनल पुगेका थिए,  सन् २०१७ को अस्ट्रेलियन ओपनमा। उनको उपाधि भिडन्त थियो फेडेररसँग। फेडेररले पाँच सेट खेलेर प्रतियोगिता जिते।

तर लगत्तै वर्षको दोस्रो ग्रान्डस्लाम जितेर नाडाल फ्रेन्च ओपनमा आफ्नो पुरानो शाखतर्फ फर्किए। यो प्रतियोगिता फेडेररले चोटका कारण गुमाएका थिए। तर वर्षको तेस्रो ग्रान्डस्लाममा भने फर्किए। मारिन सिलिचलाई फाइनलमा हराएर खेल जिवनको १९ औँ एकल ग्रान्डस्लाम जिते। त्यो वर्ष यूएस ओपन भने नाडालले जिते।

लगत्तै सन् २०१८ को अस्ट्रेलियन ओपन, फाइनलमा सिलिचलाई हराउँदै फेडेररले रक्षा गरे। फेडेररको पुन उपस्थिती नरहेको फ्रेन्च ओपन भने नाडालको पोल्टामा पुग्यो। विम्बल्डन जितेर  जोकोभिच पुरानो लयमा फर्किए। जोकोभिचले पछिल्ला ६ मध्ये ४ वटा ग्रान्डस्लाम जितेका छन्। यो वर्षका चारमध्ये दुई वटा ग्रान्डस्लाम जोकोभिचले जिते। अस्ट्रेलियन ओपनको फाइनलमा नाडाल र विम्बल्डनको फाइनलमा फेडेररलाई हराए। नाडाललाई सोझो सेटमा हराएका जोकोभिचले फेडेररसँग भने पाँच सेट खेल्नु परेको थियो, चार घन्टा ५७ मिनेटसम्म संघर्ष गर्दै।

पछिल्लो करिब एक दशक विश्व पुरुष टेनिस पूर्वानुमानभन्दा बेग्लै स्थानमा छ। फेडेरर ३८ वर्षको उमेरमा पनि ग्रान्डस्लाम उपाधि थप्ने प्रयाश गरिरहेका छन्।अनि कुनै समय फेडेररको छेउछाउ समेत नरहेका नाडाल र जोकोभिच, यस्तो स्थीति देखिएको छ की, जतिबेला पनि विश्व कीर्तिमान तोड्न सक्छन्।

आइतबार राती भएको यूएस ओपनको फाइनल नाडालले जितेपछि आफ्नो कीर्तिमान तोडिन सक्ने फेडेररको भय अझ बढेको छ। अब, नाडाल फेडेररभन्दा केवल एउटा ग्रान्डस्लाम उपाधिले मात्र पछाडि छन्।  फेडेररभन्दा उमेरमा करिब ६ वर्ष कान्छा सर्बियन जोकोभिचको नाममा १६ एकल ग्रान्डस्लाम उपाधि छ।

उनी उचाईमा नाडाल र फेडेररभन्दा एक इन्चले मात्र अग्ला छन्। पछिल्लोपटक, आइतबार राती यूएस ओपन जितेकाले पनि हुन सक्छ, यतिबेला भने नाडालको चर्चा बढिरहेको छ।  फेडेरर र जोकोभिच दुवैलाई निकै गाह्रो बनिरहेको फ्रेन्च ओपनमा नाडालको दबदबाले यी स्पेनिस खेलाडीको चर्चा विश्व टेनिसमा विषेश भइरहने दुई मत छैन। किनभने फेडेरर र जोकोभिच दुवैले एक एकपटक मात्र जितेको फ्रेन्च ओपन नाडालले १२ पटक हात पारेका छन्।

जितको खुसीमा नाडाल

टेनिस र फुटबलको पृष्ठभूमि, रोनाल्डोको फ्यान 

स्पेनको मालोर्का टापुमा जन्मिएका नाडाल खेलमय वातावरणमा हुर्किए। उनका काका मिगुयल एन्जेल नाडालले स्पेनको राष्ट्रिय फुटबल टोलीबाटै खेलेका थिए। उनका अर्का काका टोनी नाडाल व्यावशायीक टेनिस खेलाडी थिए।  बुबाको मन भने व्यापारमा भिजेको थियो।   सानैमा नाडालको मन भने काकाहरुले ताने।

बार्सिलोनाका खेलाडी रहेका काका मिगुयलले नाडाललाई साथमै लिएर हिँड्थे। त्यतिबेला उनको ब्राजिलका रोनाल्डोसहित विश्वका चर्चित खेलाडीहरुसँग भेट भइरहन्थ्यो। पछिसम्म पनि नाडालले आफ्नो आदर्श खेलाडी भनेर रोनाल्डोको नाम लिन्थे। नाडालको  प्राकृतिक क्षमता  बुझेर टोनी नाडालले उनलाई तीन वर्षकै उमेरमा टेनिस सिकाउन थाले।

तरपनि, नाडाललाई तिमी के बन्छौ भन्दा रोनाल्डोजस्तै फुटबल खेलाडी भनेर जवाफ फर्काउँथे। ८ वर्षको उमेरमा यू-१२ क्षेत्रिय टेनिस च्याम्पियन हुँदासमेत नाडालको फुटबल मोह उत्तिकै थियो।  १२ वर्षको उमेरमा नाडालले उमेरस्तरको स्पेनिस र युरोपियन टेनिस उपाधि जितेपछि उनका बुबाले एक दिन सोधे : तिमी फुटबलर बन्ने की टेनिस खेलाडी ?

नाडालले जवाफ दिए : म टेनिस छान्छु।

दुवै हातले सट प्रहार गर्न सक्ने नाडाललाई बायाँ हातले राम्रो सँग खेल्न सकेमा कति फाइद हुन सक्छ भनेर काका टोनीले राम्रोसँग बुझाईसकेका थिए। नाडाल अहोरात्र कोर्टमै विताउन थाले।

स्पेनिस टेनिस संघले नाडाल १४ वर्षको हुँदा बार्सिलोना बसाई सर्न उनलाई आग्रह गर्‍यो। छोराको पढाई विग्रने चिन्ताले नाडालका परिवार यो मान्न तयार भएनन्। टोनी पनि भन्ने गर्थे : मलाई विश्वास लाग्दैन की राम्रो खेलाडी बन्न तिमी अमेरिका जानुपर्छ। घरमै बसेर (मालोर्का) पनि यो सम्भव छ।

बार्सिलोना बसाई नसर्दा नाडालमाथी हुने आर्थिक लगानीको भार उनका परिवारमा पर्ने निश्चित थियो। तर यो जोखिम मोल्न परिवार तयार भयो। सन् २००१ मा आयोजित प्रदर्शनी खेलमा नाडालले पूर्व ग्रान्डस्लाम विजेता प्याट कासलाई पराजित गरे। त्यसभन्दा दुई वर्षअघिदेखि  मात्र, नाडालभन्दा पाँच वर्ष जेठा फेडेरर ग्रान्डस्लाम टेनिसमा उत्रन थालिसकेका थिए।

नाडालले ग्रान्डस्लाम टेनिसमा सहभागिता जनाएकै वर्ष सन् २००३ मा फेडेरर पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन भए, विम्बल्डनका रुपमा। त्यसअघि उनी यो प्रतियोगितामा सेमिफाइनलसम्म पनि पुग्न सकेका थिएनन्।  ग्रान्डस्लाम खेल्न थालेको दुई वर्षपछि नाडाल पनि यो प्रतियोगिता जित्न सफल भए।

सन् २००५ को फ्रेन्च ओपनको फाइनल सोझो सेटमा जितेर १५ वर्षको उमेरमा ग्रान्डस्लाम विजेता बने। त्यही ग्रान्डस्लाममा अर्को वर्ष उनले फाइनलमा फेडेररलाई हराएर उपाधि रक्षा गरे। सन् २००५ देखि २०१४ सम्म नाडाल एकपटक मात्र फ्रेन्च ओपन जित्न असफल भए। नाडालले फ्रेन्च ओपनबाहेक पहिलोपटक विम्बल्डन सन् २००८ , अस्ट्रेलियन ओपन सन् २००९ र यूएस ओपन सन् २०१० मा जितेका हुन्। उनले अस्ट्रेलियन ओपन भने फेरी जित्न सकेका छैनन्।

आइतबार राती नाडालले यूएस ओपनको उपाधि पक्का गर्न कोर्टमा करिब पाँच घन्टा सघर्ष गरेका थिए, पुरा पाँच सेट खेल्दै।

 

 

 

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्