अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानलाई अर्को सफलता, जित्यो टेस्ट क्रिकेट

चटगाउँ : अफगानिस्तानले बंगलादेशसँगको एकमात्र टेस्ट खेलको शृंखला जितेको छ।  सोमबार सम्पन्न खेलमा अफगानिस्तान दुई सय २४ रनले विजयी भयो। तीन सय ९८ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिन सोमबार एक सय ७३ रनमा समेटियो।

बंगलादेशलाई सस्तोमा समेट्न अफगानिस्तानका रसिद खान एक्लैले ६ विकेट लिए। उनले पहिलो पालीमा पाँच विकेट हात पारेका थिए। दोस्रो पालीमा अफगानिस्तानका जाहिर खानले पनि तीन विकेट हात पारे। बंगलादेशका कप्तान सकिब अल हसनले ४४ र सदम्यान इस्लामले ४१ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्।

विज्ञापन

बंगलादेश  पहिलो पालीमा २ सय ५ रनमा समेटिएको थियो। अफगानिस्तानले पहिलो पालीमा तीन सय ४२ र दोस्रो पालीमा २ सय ६० रन जोडेको थियो। पहिलो पालीमा अफगानिस्तानका रहमत शाहले सतक बनाएका थिए। टेस्ट क्रिकेटमा कुनैपनि अफगानी ब्याट्सम्यानको यो पहिलो सतक हो।

टेस्ट क्रिकेटमा अफगानिस्तानको यो केवल तेस्रो खेल थियो। यसअघि भारतसँगको एकमात्र टेस्ट खेलको शृंखला हारेको थियो भने आयरल्यान्डसँगको एकमात्र टेस्ट खेलको शृंखला जितेको थियो गत मार्चमा।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्