धनगढी-बझाङको सेती नदीमा निर्माण थालिएका ६ वटा पक्किपुल अलपत्र परेका छन्। नदीको विभिन्न स्थानमा निर्माणाधिन पुल लामो समय देखी अलपत्र अवस्थामा छन्।

ठेकेदारहरुको ढिला सुस्तीका कारण पुल निर्माणको काम सम्पन्न नहुँदा बझाङका धेरै मानिसले पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। ठेकदारको लापर्वाहीका कारण एक दशक अघी ठेक्का सम्झौता भएको तल्कोट गाउँपालिकाको देबसैन पक्की पुल निर्माण कार्य अझै पुरा हुन सकेको छैन।

बर्षमा १ महिना मात्रै काम गर्ने सो पुलको ठेकदार कम्पनी अन्य समय वेपत्ता हुने गरेको छ। यसैगरी सुदरमुकाम चैनपुरमा रहेको पानकोट पक्की पुलको काम पनि बर्षौं देखी अलपत्र अवस्थामा छ।

पुल निर्माणका लागि आधार पिल्लर निर्माण सम्पन्न भएको लामो सयम सम्म पनि सो क्षेत्रमा पुलको अन्य काम अघि नबढ्दा स्थानीय पिल्लर हेरेर चित्त बुझाईरहेका छन्।

यसैगरी थलारा गाउँपालिका स्थित सेती नदीमै निर्माणाधिन झनाना पक्की पुलको काम पनि अलपत्र अवस्थामा रहेको छ। पुलको ठेक्का पाएका नबराज थापालाई समयमै पुल निर्माण सक्न पटक–पटक ताकेता गरिएपनि उनले काम अघि बढाएका छैनन्।

यस्तै सेती लोकमार्ग जोड्ने तमैल पक्की पुलको काम ठेक्का भएको तीन बर्ष पुरा भएपनि पुरा हुन नसकेको स्थानीयको गुनासो छ। के एस निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको तमैल पुलको लागत १३ करोड रहेको छ।

सेती नदीमै निर्माणका लागि ठेक्का भएको रायल सिमार जोड्ने सेती नदीको पक्की पुलको निर्माण कार्य अहिले सम्म २५ प्रतिशतमा मात्र सिमित रहेको छ। पुलको ठेक्का पाएको कालिका चन्दा एण्ड बसन्त जेभीका प्रतिनीधी अशोक मल्लले पुल निर्माण कार्य यसै बर्ष भित्रै सम्पन्न हुने दावी गरेका छन्।

यसैगरी सेती नदीमै निर्माणाधिन देवशैन पुलको अवस्था पनि उस्तै छ।झण्डै १२ करोडमा ठेक्का भएको याथुङ्गहाङ्ग निर्माण कम्पनीले जिम्मा लिएको सो पुल सम्म पुग्ने बाटो नै नभएको भन्दै बर्षौं देखी काम अलपत्र अवस्थामा रहेको छ।

जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको पानकोट पुलको निर्माणको जिम्मा लिएको जागृती निर्माण सेवाले डिजायन स्टमेट अनुसारको काम गर्न नसके पछि पुनंः डिजायन परिबर्तन गरेर पुल निर्माणको जिम्मा दोश्रो कम्पनिलाई दिइएको पुल हेर्ने जिम्मा पाएका ईन्जिनियर हरिशंकर जोशीले बताए। यस पुलको लागत ११ करोड रहेको छ।

गत वर्ष ठेक्का भएको रायलको पक्की पुलको निर्माण कार्य कालिका चन्दा एण्ड बसन्त जेभीले लिएको छ। यस पुलको लागत १५ करोड रहेको छ। दैबसैन , चैनपुर, तमैल र झनाना पुल निर्माण कम्पनीले सम्झौता अनुसारको समयमा काम नभएपछि म्याद थप्दै काम गरि रहेका छन् भने रायल पुल निर्माणको समयाबधि भने अझै केही महिना बाँकी छ।

सेती नदीका पारि पट्टी रहेका थलारा, खप्तड छान्ना, जयपृथ्बी नगरपालिकाको साबिकको हेमन्तबाडा, लुयाटा र कैलास , साथै मष्टा र तल्कोट गाउँपालिकाका प्राय जसो सबै गाउँबस्तीहरुमा सड्क सञ्जाल जोडिएको छ।

सेती नदीमा पक्की पुल नहुदा यातायातका साधनहरु पारिपट्टी जान सकेका छैनन्। हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागी काठेपुल राखेर यातायातका साधनहरुले ओहोर दोहोर गरेपनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका बन्द रहने गरेका छन्।

सेती नदीमा पक्की पुल नबन्दा त्याहाँका हजारौ जनताले कष्ट भोग्नु परेको छ। त्यस क्षेत्रका स्थानीहरुलाई बिरामीहरु ल्याउन, सामानहरु ढुवानी गर्न हिडडुल गर्न समेत समस्या भएको स्थानीय करन धामीले बताए।

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग देउरा हुदै चैनपुर जोडिए पनि सेती पारि पक्की पुल निर्माण नहुदाँ जिल्लाको एकतर्फ यातायात संचालन छन् भने अर्को पट्टी यातायातका साधान जान सकेका छैनन्।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्