गौरादह र बिर्तामोड बम विस्फोटको जिम्‍मा विप्लव नेकपाले लियो

झापा- झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन्।

विज्ञापन

जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषले पत्रकारलाई बताए।

झापाका स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणमा खर्च गर्नुपर्ने जनताको पैसामा गाडी चढ्ने, बेरुजु रकम बढाउने, भ्रष्ट्राचार र अनियमितता गर्ने भ्रष्ट नेतृत्व विरुद्ध जनताको आवाज उठिरहेको बेला जनताकै पक्षमा नेतृत्व गरेर कारबाही सुरु गरेको उनले बताए।

लगानी गरेर आफू मालिक हुने सहकारीको नियम विपरीत, राज्यका नीति अनुसार नचलाउने, जनताको लगानीमा आफू मालिक भएर सहकारी चलाउने र जनतालाई ऋणको भार थपेर आत्महत्याको बाटोतर्फ प्रेरित गर्ने जनगुनासो आउन थालेपछि पार्टीले ठुला सहकारीलाई कारबाही गर्ने अभियान सुरु गरेको मनिषले बताए।

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्