नेपालगञ्ज रंगशाला प्रवेशमा शुल्क

नेपालगञ्ज-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि करोडौको भौतिक संरचना पाएको नेपालगञ्ज रंगशालामा प्रवेश गर्न परिचयपत्र अनिवार्य गर्ने कार्यविधि बनाइएको छ।

असोज १ गतेदेखि लागु हुने कार्यविधिमा रंगशाला प्रवेश गर्ने जो कोहीले अनिवार्य परिचयपत्र बनाउनु पर्ने व्यवस्था गरिएको छ।

विज्ञापन

सर्वसाधारणदेखि नियमित खेलाडी, खेलकुदका पूर्व कर्मचारी, पदाधिकारी एवं संघ संस्थाका अध्यक्षले समेत शुल्क तिरेर नाम ‘दर्ता’ भएपछि मात्रै रंगशालाभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो । वार्षिक शुल्कका अलावा मासिक शुल्क पनि तोकिएको छ।

‘वार्षिक शुल्क तिरेर नाम दर्ता गरेपछि परिचय पत्र बन्छ। त्यसपछि कुन खेल खेल्ने हो। त्यसको छुट्टै मासिक शुल्क तिर्नु पर्छ, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्तकुमार शर्माले भने, रंगशालाभित्र प्रवेश गरेपछि जो कोहीले मर्यादित तथा सम्मानित महसुस गर्न र रंगशालालाई खेलकुदको मन्दिरको रुपमा स्थापित गर्न कार्यविधि बनाएका छौं।’

आठौंपछि नेपालगञ्ज रंगशाला सेल्फी खिच्ने थलो बनेको छ । यहाँ बनेका ५० करोड आसपासका ठूल्ठूला संरचनाले रंगशालाको रौनक बढाएको छ । निर्देशक शर्माका अनुसार, अहिलेको अवस्थामा काठमाडौंपछि भौतिक पूर्वाधारले भरिपूर्ण नेपालगञ्ज रहेको छ।

भौतिक संरचनाको संरक्षण, जो पायो, त्यसलाई रंगशाला प्रवेशमा कडाई गर्न र रंगशालामा दैनिक आउने खेलाडी तथा अन्यलाई व्यवस्थित गर्न परिचयपत्रको व्यवस्थाले सहज हुने अधिकारीहरुको विश्वास रहेको छ।

विभिन्न संघ संस्था र व्यक्तिका लागि छुट्टाछुट्टै वार्षिक र मासिक शुल्क कायम गरिएको छ । रंगशालामा जगिङ गर्न जानेलाई पनि वार्षिक र मासिक शुल्क तोकिएको छ।

जगिङ गर्न जानेले वार्षिक एक हजार रुपैय तिरेर नाम दर्ता गरी परिचयपत्र पाउँछन्। त्यसपछि मासिक पाँच सय रुपैया तिर्नुपर्छ । जगिङमा पनि २५ वर्ष भन्दा कम उमेरकालाई पाँच सय रुपैया दर्ता र मासिक दुई सय रुपैया तोकिएको छ।

नियमित प्रशिक्षणका लागि आउने खेलाडीलाई वार्षिक ६ सय रुपैया दर्ता राखिएको छ । उनीहरुले मासिक तिर्नु पर्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा खेलकुदका पूर्व कर्मचारी, पदाधिकारी र संघका अध्यक्षहरुलाई एक हजार दुई सय रुपैया वार्षिक दर्ता शुल्क राखिएको छ ।

क्षेत्रीय खेलकुदले २५ वर्ष भन्दा कम उमेर र त्यसमाथिका लागि फरक फरक शुल्कको व्यवस्था गरेको छ । जस्तो, जो कोहीले रंगशालामा गएर जगिङ गर्छु, ब्याडमिन्टन, भारोत्तोलन खेल्छु भन्यो भने उसलाई वार्षिक शुल्क पाँच हजार र मासिक दुई हजार रुपैया शुल्क कायम गरिएको छ।

ब्याडमिन्टनमात्रै खेल्न दर्ता दुई हजार र मासिक एक हजार पाँच सय, भारोत्तोलनमा दुई हजार दर्ता र एक हजार मासिक शुल्क तोकिएको छ । २५ वर्षभन्दा कम उमेरकालाई जगिङ, ब्याडमिन्टन, भारोत्तोलन सबै खेल्न वार्षिक पाँच सय र मासिक एक हजार, ब्याडमिन्टनमा पाँच सय दर्ता र पाँच सय मासिक, भारोत्तोलनमा पाँच सय दर्ता र पाँच सय मासिक, बास्केटबलमा पाँच सय दर्ता र दुई सय मासिक र ह्याण्डबलमा पाँच सय दर्ता र दुई सय रुपैया मासिक शुल्क तोकिएको छ।

आधुनिक रंगशालामा फुटबल प्रशिक्षण भने प्रतिबन्ध लगाइएको छ । प्रतियोगिताहरुमात्रै खेल्न पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । अन्यत्र फुटबल मैदान नभएको र रंगशालामा अभ्यास गर्न नपाउने भएपछि फुटबल खेलाडी भने मर्कामा पर्ने भएका छन्।

क्षेत्रले शुल्कमा भेदभाव भने गरेको छैन । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित खेलकुदका लागि मैदान सरसफाई वापत प्रति दिन दुई हजार, खेलसँग आवद्धलाई दैनिक पाँच हजार, खेलसँग आवद्ध नभएका संघ संस्थालाई दैनिक दश हजार र खेलकुद बाहेक अन्य कार्यक्रमका लागि प्रति दिन ३० हजार रुपैया लिने व्यवस्था गरिएको छ ।

कबर्ड हल, पौडी पोखरी, भारोत्तोलन हल, सुटिङ हल, ह्याण्डबल मैदान, बास्केटबलका लागि पनि राखेपदेखि खेलकुद आवद्ध संघ संस्था र आवद्ध नभएकालाई फरक फरक शुल्क निर्धारण गरिएको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, कार्यालय प्रमुख विष्णु शर्मा, लेखापाल मिनबहादुर जिसी उपस्थित भएर गरिएको पत्रकार सम्मेलनमा कार्यविधि बनाएपछि संकलित रकम छुट्टै कोषमा राखिने जानकारी दिइयो । ‘यो त थोरै सहयोग लिएका हौं।

यसले सरसफाई गर्नसमेत पुग्दैन, निर्देशक शर्माले भने, ‘निशुल्क आइरहेकाहरुलाई शुल्क तिर्नु पर्दा शुरुमा अप्ठेरो लागेपनि दीर्घकालिन रुपमा यसले नेपालगञ्ज रंगशालाको भौतिक संरचनाको संरक्षणमा सघाउ नै पुर्‍याउँछ।’

भदौ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्