विश्वकप छनौट

नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – विश्वकप २०२२ का लागि एसियाली छनौटको दोस्रो चरण अन्तर्गत नेपालले मंगलबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतसँगको फराकिलो हारबाट विश्वकप छनौट यात्रा सुरु गरेको नेपाली टोलीका लागि मंगलबारको खेल दबाब पूर्ण छ । गएको बिहीबार राति बेलुका भएको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो ।

फराकिलो हारबाट स्तब्ध भएको नेपाली टोली त्यो पीडाबाट उठ्ने प्रयाससहित आइतबार बेलुका चाइनिज ताइपेइसँग प्रतिस्पर्धाका लागि मैदानमा प्रवेश गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका पाँच बज्न पाँच मिनेट बाँकी हुँदा ताइपेइ रंगशालमा सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार भएको खेलअघिको पत्रकार सम्मेलनमा कुवेतसँगको खेलमा केही गल्ती भएकाले पराजित भएको बताए । चाइनिज ताइपेइसँगको खेलमा सो गल्ती सच्याएर टिम लयमा फर्किने आश रहेको बताएका छन् । उनले रक्षापंक्तिलाई बलियो बनाउने रणनीति लिँदै आएका छन् ।

फिफा बरियतामा आफूभन्दा १० स्थानमात्रै माथि रहेको कुवेतसँग ७–० ले पराजित भएको नेपाली टोलीले प्रतिस्पर्धा गर्न लागेको चाइनिज ताइपेइ त्यो भन्दा उच्च बरियताको टिम हो । नेपाल फिफा बरियतामा १६६ औँ स्थानमा छ । चाइनिज ताइपेइ ४१ स्थानमाथि अर्थात १२५ औँ स्थानमा छ ।

नेपालले पछिल्ला पाँच खेलमा एक खेलमा पनि जित निकाल्न सकेको छैन । कुवेतसँगको सहित पछिल्ला पाँच खेल मध्ये तीन खेलमा पराजित भएको नेपाली टोली दुई खेलमा बराबरी गर्न सफल भएको छ ।

चाइनिज ताइपेइको पछिल्ला पाँच खेलको नतिजा भने केही भिन्न छ नेपालको भन्दा । उसले विश्वकप छनौट अन्तर्गत गएको बिहीबार भएको जोर्डनसँगको खेलमा हार बेहोरेको थियो । सोसहित पछिल्ला पाँच खेलमा उसले दुई खेलमा हार, दुईमा बराबरी र एकमा जित निकालेको छ ।

विश्वकप फुटबल २०२२ को एसियाली छनौटको दोस्रो चरणमा नेपाल रहेको समूह बी मा चाइनिज ताइपेइसहित जोर्डन, कुवेत र अस्ट्रेलिया छन् ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्