जर्मनी र नेदरल्याण्डस विजयी, उत्तरी आयरल्याण्ड स्तब्ध

युरोकप फुटबलको छनौट अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा जर्मनी विजयी भएको छ । समूह सी अन्तर्गतको खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन मार्सेल हाल्स्टेनबर्ग र सर्गी ग्नाब्रीले गोल गरेका हुन्। दुवै गोल दोस्रो हाफमा भएको हो । ४८ औँ मिनेटमा मार्सेल र इन्जुरी समयको दोस्रो मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् ।

जितपछि पाँच खेलबाट १२ अंक बनाएको जर्मनी समूहको शीर्ष स्थानमा उक्लिएको छ।

सोही समूह अन्तर्गत सोमबार राति नै भएको खेलमा नेदरल्याण्डसले इस्टोनियालाई ४–० ले पराजित गरेको छ।

डच टिमको जितमा रायन बाबेलले दुई, मेम्फिस डिपेयी र जर्जिनियो विनाल्डमले एक एक गोल गरे । जितपछि चार खेलबाट ९ अंकसहित नेदरल्याण्डस समूहको तेस्रो स्थानमा छ । १२ अंक नै रहेको उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा छ ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्