सन्दर्भ : आत्महत्या विरुद्धको विश्व दिवस

आत्महत्याका संकेत र सुरक्षाका उपायहरु

साङ्केतिक तस्बिर

काठमाडौँ – आत्महत्या विरुद्धको विश्व दिवस मंगलबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ ।

आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन (आइएएसपी) को आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष पनि आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदै छन् ।

विज्ञापन

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आय र मध्यम आय रहेका देश छन् । आत्महत्याका लागि खेतबारीमा हालिने बिसादी, डोरीको सहायताले झुण्डिने तथा आगो लगाउने बढी प्रयोग गरिएको छ ।

यस्तै अमेरिका, क्यानडा, जापानन, बेलायतसहितका देशमा पनि आत्महत्या बढेको छ । आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवाहरुमा बढी रहेको छ । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ ।

नेपालमा पनि आत्महत्या प्रमुख चुनौतिका रुपमा रहेकाले सचेतनाको खाँचो छ । आर्थिक वर्ष २०७५–७६ अन्तर्गत गएको चैतसम्मको तथ्यांकमा नेपालमा आत्महत्या गर्नेको संख्या ३९ सय ५८ रहेको छ । आर्थिक वर्ष २०७४–७५ मा यो संख्या ५३ सय ४६ र आर्थिक वर्ष २०७३–७४ मा ५१ सय ३१ थियो । नेपालमा आत्महत्या गर्नेमा ५६ प्रतिशतको हाराहारीमा १९ देखि ४० वर्ष उमेरका छन् ।

आत्महत्याबारे जानौँ

आफैले आफूलाई हानी गर्ने र आफ्नै ज्यान लिनुको रुप आत्महत्या हो । आत्महत्या सरुवा होइन र यसलाई रोक्न सकिन्छ । यसका लागि सचेतना आवश्यक छ र आफैलाई हानी गर्न उक्साउने वातावरणलाई हटाउनु पर्ने मनोविमर्शकर्ताले बताएका छन् ।

प्रायः आत्महत्या तत्कालको निर्णयबाट नभइ लामो सोच र तयारीपछि मात्रै हुने गरेको छ । आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग गरेमा उनीहरुको जीवन रक्षा गर्न सकिने मनोविमर्शकर्ताले बताउने गरेका छन् ।

आत्महत्याको सोच बनाएको व्यक्तिले सहयोगका लागि गुहार नलगाउने भएकाले उसको नजिकका व्यक्तिले बुझेर सहयोग गर्नु पर्ने हुन्छ । आत्महत्याको सोच बनाएकाहरुले सहयोग चाहन्छन् तर त्यसका लागि तत्परता भने देखाउँदैनन् । आफ्नै ज्यान लिने व्यक्तिहरु मर्न चाहेका हुँदैनन्, मात्रै उनीहरु पीडाबाट मुक्ति चाहन्छन् ।

यस्तोमा उनीहरुको पीडा हटाउने विकल्प खोज्नमा सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ।

आफूले चिने जानेका साथी वा परिवारका सदस्यमा आत्महत्याको सोच आएको थाहा पाएमा त्यसबारे कुरा गर्न हिचकिचाउने बानी रहेको छ । तर यसबारे कुरा गरेमा धेरै समस्या समाधान हुने साइकोलोजिस्टहरुको भनाई छ ।

व्यक्तिले अरु कुनै विकल्प नदेखेपछि अन्तिम विकल्पको रुपमा आत्महत्यालाई रोज्ने गरेका छन् । आत्महत्याको सोच आएका व्यक्तिलाई साथी, परिवार र समाजका व्यक्तिले आशको अलिकति उज्यालो मात्रै देखाउन सके आफ्नै ज्यान लिने विचार त्याग्छन् ।

समस्याबाट भाग्ने निराशाजनक विकल्पका आत्महत्या भएकाले व्यक्तिलाई समस्या समाधानको सकारात्मक विकल्पको खोजी गर्न सहयोग गरेमा आत्महत्या रोक्न सकिन्छ ।

आत्महत्या गर्न चाहने व्यक्तिले केही न केही छनक दिने भएकाले त्यसलाई बुझेर समयमै निराकरणको उपाय अपनाउनु पर्ने हुन्छ ।

आत्महत्या एकमात्रै नभइ जैविक, मानसिक र सामाजिक कारणले हुने गरेका छन् । दीर्घरोग, वंशाणुगत कारण, मानसिक रोग, डिप्रेशन, चिन्ता, गरिबी, बेरोजगारी, सपनाको बाटोमा अवरोधसहितका कारणले आत्महत्या हुने गरेको छ । यस्तै व्यक्तिको विचार, सोचाइ, सिकाईसहितले पनि आत्महत्याको जोखिम कस्तो छ भन्ने देखाउँछ ।

आत्महत्याका संकेतहरु

आत्महत्या गर्न चाहने व्यक्तिले जहिले पनि केही न केही संकेत दिएको हुन्छ । उसको नजिक रहेका व्यक्तिहरुले त्यस्ता संकेतलाई बुझेर सहयोग गरेमा आत्महत्या रोकिन्छ ।

आत्महत्याको सोच आएका व्यक्तिले बारम्बार मर्ने बारे बोल्ने गरेका हुन्छन् । यस्तै हानी गर्ने खालका सामग्रीहरुको खोजी पनि उनीहरुले गर्ने गरेका हुन्छन् । उनीहरुमा मृत्युमा गहिरो लगाब देखिन्छ ।

भविष्यबारे आशावादी कुरा नगर्ने, आफूलाई मन नपराउने वा आफैलाई घृणा गर्ने, एक्लै बस्न रुचाउने, परिवारका सदस्यबाट बाहिर जाने, बिदाईका कुरा गर्ने तथा अप्रत्यासित रुपमा शान्त हुनेसहितका लक्ष्यणहरु देखिन्छन् । यस्तो देखिएमा उनीहरुलाई सहयोग गनुपर्ने मनोविमर्शकर्ताले बताएका छन् ।

आत्महत्याको सुरक्षा

आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग सबैभन्दा खाँचो पर्ने विषय हो । त्यस्ता व्यक्तिले आफैले सहयोगको याचना नगरे पनि सहयोगको आश भने गरेका हुन्छन् । यस कारणले नजिकका साथी, परिवारका सदस्य तथा वरपरका व्यक्तिले सहयोगका लागि पहल गर्नु पर्छ।

आत्महत्याको सोच आएका व्यक्तिलाई सहयोग गर्नेले त्यो सोच आफैमा आएको जस्तो गरी उनीहरुलाई त्यसबाट बाहिर आउने उपाय छन् भन्न सक्नु पर्छ ।

यस्तै उनीहरुको सोचको सम्मानसहित अरु विकल्पको खोजी गर्न सहयोग गर्न सकिने मेडिकल साइकोलोजिस्ट अन्जन ढकालले बताए । विशेषगरी साथी, परिवार र समग्रमा समाजले नै यसको नेतृत्व लिनु पर्ने उनको भनाई छ ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्