प्रकाश वर्षबारे जान्नै पर्ने केही तथ्यहरु

प्रकाश अथवा रेडियो सन्देशले एक सेकेण्डमा २ लाख, ९९ हजार ७ सय ९२ किमि दूरी पार गर्छ। यो भनेको एक मिनेटमा एक करोड, ७९ लाख, ८७ हजार, ५ सय, २० किमी दूरी हो ।

एक घण्टामै यस गतिले एक अर्ब किमिको आँकडा पार गर्छ । २४ घण्टा अर्थात एक दिनमा प्रकाशले तय गर्ने दूरी झण्डै २६ अर्ब किमि हुनपुग्छ । १ वर्षको पनि हिसाब निकाल्ने हो भने, रेडियो सन्देश अथवा प्रकाशले हिँड्ने दूरी ९४ खर्ब, ५४ अर्ब ,२४ करोड, ५ लाख, १२ हजार किमि हुन आउँछ, खगोलविदहरुको भाषामा यही दूरी एक प्रकाश वर्ष हो ।

विज्ञापन

प्रकाश वर्षको प्रयोग समयसँग सम्बन्धित नभएर दूरीसँग सम्बन्धित रहेको छ । पृथ्वीमा रेडियोको विकास भएको पुगनपुग १२० वर्ष हुन लाग्यो । पहिलो पटक रेडियो बजेको जुनसुकै ध्वनि प्रसारित भएको भए पनि त्यो रेडियो सन्देशले पृथ्वीभन्दा १२० प्रकाश वर्ष अर्थात ११३४५०८८६१४४००० किमि भन्दा बढीको यात्रा गरेको छैन ।

ब्रह्माण्डमा यो दूरी कुनै खास दूरी होइन ,हो यतिका किमिभित्र कुनै सभ्यता (परग्रही) को बास छ भने उनीहरुले हाम्रो त्यो सन्देश ‘रिसीभ’ गरेका हुन सक्छन् । तर यति नजिकमै कुनै सभ्यता रहेको हुनसक्ने सम्भावना छैन ।

तर के तपाईलाई थाहा छ, हामी पृथ्वीबासीले ३ अर्ब प्रकाश वर्ष टाढाबाट आएको रेडियो सन्देश ‘रिसीभ’ गरेका छौँ ? अचम्म न मान्नुस भर्खरै चीनका खगोलविद्हरुले सूदूर अन्तरिक्षबाट आएको रेडियो संकेत प्राप्त गरेका छन् । चिनियाँ खगोलविद्ले यो सन्देश ३ अर्ब प्रकाश वर्ष टाढाको अन्तरिक्षबाट प्राप्त गरेका हुन् । चिनियाँ खगोलविद्ले ‘फास्ट रेडियो बस्टर्स ’ (एफआरबी) संकेत प्राप्त भएको बताएका छन् ।

३ अर्ब प्रकाश वर्ष दूरी भनेको पृथ्वी र सूर्यको दूरी भन्दा अर्बाैँ गुणा बढी दूरी हो । पृथ्वी र सूर्यको दूरी जम्मा १४ करोड ९६ लाख किमि छ । यसैगरी पृथ्वी र मंगलग्रहको अधिकतम दूरी ४० करोड, १० लाख ,किमि, पृथ्वी र बृहस्पति ग्रहबीचको अधिकतम दूरी ९६ करोड, ८० लाख, किमि, पृथ्वी र शनि ग्रहको दूरी १ अर्ब, ६९ करोड, ९४ लाख, ५६ हजार किमि र पृथ्वी एंव अरुण ग्रह बीचको अधिकतम दूरी २ ,अर्ब ९९ करोड, ५४ लाख, ८० हजार किमि र सबैभन्दा टाढाको वामन ग्रह यम (प्लूटो) को दूरी ७ अर्ब ,६९ करोड़, ९९लाख, १२ हजार किमि रहेको छ ।

तीन अर्ब प्रकाश वर्ष टाढाबाट आएको सन्देश, कल्पना गर्नुस यो सन्देश पृथ्वीमा आइ पुग्नुभन्दा ३ अर्ब वर्ष पहिला उत्पत्ति भएको थियो। उत्पत्ति स्थलदेखि यात्रा गरेर पृथ्वीसम्म आयीपुग्न यसलाइ ३ अर्ब वर्षसम्मको यात्रा गर्नु पर्यो ।

भनौँ, यो सन्देश उत्पत्ति हुँदा पृथ्वीमा प्रारम्भिक कोशिकाहरु मात्रै अस्तित्वमा रहेका थिए । मानिसको त कुरै नगरौँ ,पृथ्वीमा २ लाख वर्ष पहिला मात्रै मानिसको उत्पत्ति भएको अनुमान गरिन्छ । यो सन्देश पृथ्वीमा मानिसको उत्पत्ति हुनुभन्दा धेरै पहिला उत्पन्न भएको थियो ।

चिनीया विज्ञान एकेडमीको राष्ट्रिय खगोल वेधशाला (नेशनल एष्ट्रोनोमिकल आब्जरभेट्रीज अफ चाइना, चाइनीज एकेडमी अफ साइन्स) का शोधकर्ताहरुले ‘५०० मिटर अर्पाचर स्फेरिकल रेडियो टेलिस्कोप (APERTURE SPHERICAL RADIO TELESCOPE)  बाट यो रेडियो संकेत प्राप्त गरेका हुन् । प्राप्त भएको यस संकेतलाई उनीहरु सतर्कतापूर्वक परीक्षण गरिरहेका छन् ।

चिनियाँ वैज्ञानिकले आफ्नो सबैभन्दा ठूलो टेलिस्कोपमा अत्यधिक आधुनिक सम्वेदनशील ‘एफआरबी सिस्टमु जडान गरेका छन् ।

चीनसँग विश्वकै सबैभन्दा ठूलो ‘फिल्ड अर्पाचर रेडियो टेलिस्कोप’ छ । चिनिया भाषामा यस टेलिस्कोपको नाम (TIANYAN) राखिएको छ । ‘फिल्ड अर्पाचर रेडियो टेलिस्कोप’ को कोटिमा ‘तियानयान’ विश्वकै सबैभन्दा ठूलो ‘टेलिस्कोप’ हो ।

‘सिंगल डिश अर्पाचर टेलिस्कोप’ मा रुसको RATAN– 600 सबैभन्दा ठूलो ‘टेलिस्कोप’ हो ,‘तियानयान’ यसपछि दोस्रो नम्बर आउँछ ।

वैज्ञानिकहरुका अनुसार सूदूर अन्तरिक्षमा ‘फास्ट रेडियो बस्टर्स’ को उत्पत्ति धमाकाको रुपमा हुन्छ, तर यस्ता धमाकाको अवधि भने अत्यन्त न्यून, केही  ‘मिलीसेकेण्ड’ मात्रै हुन्छ ।

वैज्ञानिकहरुलाई सुदूर अन्तरिक्षमा यी धमाका हुनेबारेको कारण थाहा छैन । उनीहरुलाई ‘फास्ट रेडियो बस्टर्स’ संकेत प्रसारित हुने कारणबारे पनि केही थाहा छैन । उनीहरुको भनाइ छ– हामीले पटकपटक यस्ता रेडियो सन्देश ‘रिसिभ’ गर्दै जादा कुनै दिन हामी यी धमाका र यसबाट उत्पन्न भइ प्रसारित भएका यी रेडियो संकेतबारे बुझ्न सक्छौँ।

खगोलविद्ले अगस्ट महिनाको अन्तिमदेखि सेप्टेम्बरको पहिलो सातासम्म १०० भन्दा बढी पटक यस्ता रडियो बस्टर्स’ प्राप्त गरेका छन् ।

पृथ्वीमा पहिलो पटक ‘फास्ट रेडियो बस्टर्स’ संकेतबारे पत्ता लाउने अष्ट्रेलियाका डंकन लोरिमेर र उनका विद्यार्थी डेभिड नारकेभिक हुन् । उनीहरुले २००७ मा अष्ट्रेलियाको ‘फास्ट रेडियो डिश टेलिस्कोप’ बाट प्राप्त सं २००१ मा प्राप्त भएका डेटाको विश्लेषण गरी ‘फास्ट रेडियो बस्टर्स’ को खोज अनुसन्धान गरेका थिए ।

तीन अर्ब वर्ष पहिला ब्रह्माण्डमा के घटित भएको थियो ? जे आजसम्म त्यसका संकेत प्राप्त भइरहेका छन्। तीन अर्ब प्रकाश वर्ष टाढाको रेडियो संकेत हामी भर्खर प्राप्त गरी रहेका छौँ । हाम्रा वैज्ञानिकले ब्रह्माण्डको विस्तार ४६ पोइन्ट ५ अर्ब प्रकाश वर्षसम्म रहेको पत्ता लगाई सकेका छन्।

यदि हामीभन्दा १० अर्ब प्रकाश वर्ष टाढाबाट कुनै सन्देश प्रसारित भएको थियो भने (१० अर्ब वर्ष पहिला) त्यसलाई हामीसम्म आउन अझै ६–७ अर्ब वर्षको समय लाग्छ ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू