वर्तमान सरकार नेपाललाई कम्युनिष्ट राज्य बनाउन खोज्दैछः देउवा

मोरङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभापति देउवाले भने, ‘वर्तमान कम्युनिष्ट सरकार खराब नभए पनि सरकारले कम्युनिष्ट स्टेट ल्याउन खोजिरहेको छ। त्यसमा हाम्रो आपत्ति छ।’

विज्ञापन

ओली सरकार आएदेखि मुलुकका सम्पूर्ण कुरा भताभुङ्ग हुँदै गएको बताएका देउवाले प्रजातन्त्रको मुल्यमान्यतामाथि हस्तक्षेप भइरहेको हुँदा सरकारका गलत काम कारबाहीलाई कांग्रेसले स्वीकार नगर्ने स्पस्ट पारे।

विधिको शासन नहुँदा वर्तमान सरकारले भ्रष्टाचारलाई बढाएको, सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेको तथा मानवाधिकार जस्ता संवेदनशील विषयमा गम्भीर नभएको आरोप लगाएका थिए।

सञ्चार जगतमा हस्तक्षेपसँगै लोकतन्त्र खतरामा रहेको बताएका देउवाले भने, ‘हामी मिडिया काउन्सिल विधेयकको विपक्षमा छौँ। सरकारले पत्रकारहरुमाथि ठाडो हस्तक्षेप गरेको छ। प्रेसलाई अंकुश लगाउने कुण्ठित गर्ने प्रवृत्तिलाई कांग्रेसले विरोध गर्छ।’

स्वतन्त्र प्रेसमाथि अंकुश लगाउनु नै लोकतन्त्रमाथि खतरा रहेको उनले स्पस्ट पारे। विद्यमान अवस्थामा पार्टी भित्र अझैपनि गुट उपगुट रहेको भन्ने प्रश्नमा देउवाले प्रजातान्त्रिक पार्टी भित्र गुट उपगुट भन्दा पनि एकता भएको दाबी गरे। उनले भने, ‘हामीबीच वैमनष्यता छैन। हामी एक छौँ।’

सभापति देउवासहित पूर्वअर्थमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशसरण महत, सांसद विनोद चौधरी लगायत सुनसरीको इनरुवामा हुने कांग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आएका हुन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू