मुस्कान खातुनको मुर्झाएको अनुहार

मुस्कान खातुनको मुर्झाएको अनुहार

काठमाडौँ– गत शुक्रबार (भदौ २० गते) बिहान करिब ६ बजेतिर घरबाट विद्य‌ालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भयो।

कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानले एक युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि एसिड प्रहार भएको थियो। नारायणी अस्पतालमा भएको प्राथमिक उपचार पश्चात यतिबेला काठमाडौँको कीर्तिपुर अस्पतालमा उनको थप उपचार भइरहेको छ।

विज्ञापन

अस्पतालको सघन (आइसीयु) कक्षमा पुग्न भुईँतलाबाट भर्‍याङका खुड्किला चढ्दै जाँदा दुई मिनेट लाग्छ। भर्‍याङ सकिने बित्तिकै बाँयातर्फ हेर्दा सघन कक्ष देख्न सकिन्छ। त्यही सघन कक्षमा राखिएको छ, मुस्कान खातुनलाई।

सघन कक्षको तीनवटा ढोका पार गरेर जाँदा तेस्रो ढोकाको मुखैमा रहेको ४०६ नम्बरको बेडमा छिन्, मुस्कान। बेडमा निलो रङको कपडा लगाएर सुतिरहेकी मुस्कानका झुन्ड्याइएका दुवै हातको दृश्य हेर्दा पीडादायी देखिन्छ। उनको हातदेखि घाँटीसम्म ब्यान्डेज गरिएको छ। उनको छेउमा घरी बुवा रसुल अन्सारी पुग्छन् त, घरी आमा सहनाज खातुन अन्सारी पुग्ने गर्छिन्।

मुस्कान आफूलाई भेट्न आएका बुवाआमालाई एक मात्र प्रश्न गरिरहन्छिन्- ‘मेरो अनुहार कस्तो भएको छ, म निको हुन्छु कि हुन्न?’ मुस्कानको यो प्रश्नमा बुवाआमा एकै उत्तर दिन्छन्, ‘चिन्ता नलेऊ तिमी ठिक हुन्छौ, हामी तिमीलाई ठिक गराउँछौँ।’

मुस्कानकी आमा सहनाज खातुन।

सहनाज छोरीका अगाडि आँसु झारेर आफूलाई कमजोर साबित गर्न चाहदिँनन्। उनी आँखामा भरिएका आँसु लुकाउँछिन् र छोरीलाई ढाडस दिन्छिन्। उनी धेरै बेरसम्म मुस्कानको छेउमा बस्न सक्दिनन्। उनलाई डर लाग्छ, आफूले लुकाएका आँसु कतै मुस्कानका अगाडि छताछुल्ल पो हुने हुन् कि भन्ने। तर उनी छिनछिनमा उनलाई भेट भने गइराख्छिन्। घरी खाना खुवाउन जान्छिन् त, घरी जुस् खुवाउन।

सोमबार बिहानदेखि भने मुस्कानले थाेरै भएपनि खाना खान थालेकी छन्। मुस्कानले खाना खाएपछि आमाको मुहार उज्यालिएको छ। उनले भनिन्, ‘हिजाेसम्म जुस, झोल खानेकुरा खुवाएका थियौँ, आज अलिकति खाना खाएकी छे।’

दाँयापट्टिको ओठ जलेका कारण मुस्कानलाई खाना खाना र बोल्न असहज भइरहेको छ जसका कारण उनी मुख आँ गर्न भने सक्दिनन्। अहिले सहनाजलाई छोरीले एक गाँस खाना खाँदा संसार जितेजस्तो भएकाे छ।

मुस्कानको शल्यक्रिया भयो। घाँटी र हातमा एसिडले धेरै असर गरेको थियो। शल्यक्रिया पश्चात मुस्कान खतरा मुक्त भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘मुस्कान खतरा मुक्त भए पनि ठिक हुन धेरै समय लाग्ने डाक्टरहरुले भन्नु भा’छ’, मुस्कानकी आमाले यति भनिरहँदा उनका आँखाकाे पीडा प्रष्ट देख्न सकिन्थ्यो।

सहनाजको छेउमै बसिरहेका रसुलले थपे, ‘बरु कोही मर्‍यो भने केही समयपछि उसलाई बिर्सन सकिन्छ, तर यो एसिडको जति देख्यो त्यति मन दुख्ने अब मेरो छोरीले यसलाई जिन्दगीभर बोकेर हिँड्नुपर्ने भएको छ।’

यसरी भएकाे थियाे एसिड आक्रमण


अन्य दिन जस्तै शुक्रबार पनि मुस्कानले आफ्नो नित्यकर्म सकिन्। खाजा खाइन्। स्कुलका लागि तयार भइन्। झोला बोकेर स्कुलका लागि घरबाट निस्कन लाग्दा आमाले उनलाई रोकिन्। मुस्कानलाई भाइसँगै स्कुल जान भनिन्।

मुस्कानका भाइ पनि उनी पढ्ने स्कुलमै कक्षा ७ मा पढ्छन्। अन्य दिन दिदीसँगै स्कुल जाने भाइ त्यसदिन गृहकार्य नगरेको भन्दै स्कुल जान मानेनन्। स्कुल नजाने भए पनि आमाले दिदी (मुस्कान) लाई स्कुलको गेटसम्म छोडेर आउन भनिन्।

आमाको कुरालाई स्वीकार्दै भाइले लुगा लगाउन थाले। ढिलो गरेको देखेर मुस्कानले भाइलाई आफ्नो पछाडि–पछाडि आउँदै गर्न भन्दै भाइभन्दा अगाडि घरबाट निस्किइन्।

मुस्कान घरदेखि केही टाढा पुगेकी थिइन्। उनलाई पछाडिबाट कसैले आवाज दियो, ‘ओई, मुस्कान रुक् न, मुस्कान रुक् न!’ तर मुस्कानले आफूलाई स्कुलका लागि ढिलो भएको भन्दै उही रफ्तारमा हिँडिरहिन्।

एक युवकले मुस्कानलाई आवाज दिइरहेका थिए। आवाज अझै रोकिएन। ती युवकले मुस्कानलाई फेरि भने,‘मुस्कान नरुके पनि एक पटक यता हेर् न, मुस्कान एकपटक त पछाडि फर्की।’

मुस्कानले टाउका पछाडिपट्टि धुमाएकी मात्र के थिइन्, एक्कासी ती युवकले जगबाट एसिड ह्वात्तै अनुहारमा फ्याँकिदिए। मुस्कानले एसिड छेक्ने प्रयास गरिन्। तर एसिड उनको दाँया पट्टिको अनुहार, छाती र हातमा पर्‍यो। उनको शरीरमा एसिड पर्ने बित्तिकै उनी एकाएक भुइँमा बजारिएर लडिबुडी गर्न थालिन्। मुस्कानका पछाडि–पछाडि हिँडिरहेका भाइ डराए।

मुस्कान छट्पटिन थालेपछि सँगै पढ्न जाने साथीहरुले उनलाई अस्पताल पुर्‍याए।

मुस्कानका बुवा आल्मुनियमको काम गर्छन्। दिनभरि काम गरेर थाकेका उनी बिहान अबेरसम्म सुत्छन्। त्यसदिन पनि उनी ओछ्यानमै थिए। उनको फोनको घण्टी बज्यो। फोन उठाए। फोन उठाउँदा उठाउँदै मुस्कानमाथि एसिड प्रहार भएको खबर पाए रसुलले।

छोरीमाथि एसिड प्रहार भएको खबर सुन्ने बित्तिकै रसुल र सहनाज आत्तिए। रसुल एकै सासमा अस्पताल पुगे। उनी सँगसँगै अस्पताल पुगिन्, सहनाज पनि।

छोरी नारायणी असपतालको बेडमा बाबा पोल्यो, मेरो शरीरमा चिसाे पानी हाल्दिनुस् भनेर चिच्याइरहेकी थिइन्। छोरीको यस्तो अवस्था देखेर रसुल र सहनाज बेहोस भए। नहुन् पनि केही समय अगाडि घरबाट ठिकठाक स्कुल पढ्न हिँडेकी छोरीमाथि यो आपत्ति आइलाग्ला भन्ने उनीले कहाँ सोचेका थिए र!

सहनाजले भनिन्,‘यस्तो हुन्छ भन्ने थाहा भएको भए, म मुस्कानलाई स्कुल जानै दिने थिइन।’

 

के थियो घटनाको कारण?


करिब ६ महिनाअघि मुस्कानलाई माजिद आलमले प्रेम प्रस्ताव राखे। तर मुस्कानले यस्तो कुरामा आफूलाई चासो नभएको भन्दै अस्वीकार गरिन्। त्यसपछि आलमले मुस्कानलाई स्कुल आउने जाने क्रममा जिस्काउन थाले। यो कुरा मुस्कानले आमालई सुनाइन्।

आमाले बुवा रसुललाई सुनाइन्। रसुलले आलमलाई मुस्कानलाई पढाइबाहेक अन्य कुरामा चासो नभएको भन्दै नजिस्काउनू भनेर सम्झाए। आलमले पनि रसुलको कुरामा सहमति जनाउँदै हुन्छ भने। त्यसको केही समयसम्म मुस्कानसँग आलम न बोले, न मुस्कानलाई जिस्काए।

आलम केही समयपछि फेरि उही हर्कत देखाउन थाले। तर यो पटक भने रसुलेले राम्रो मनले सम्झाएनन्, आलमलाई एक लपेटो हाने। त्यो दिनदेखि फेरि आमलले मुस्कानलाई जिस्काउन छाेडे।

‘त्यसपछि मुस्कानलाई कसैले पनि डिस्टर्ब गरेन’, सहजानले भनिन्।

तर एसिड प्रहार हुनु भन्दा तीन दिन अगाडि रसुलले मुस्काललाई सोधेका थिए,‘अहिले तिमीलाई कसैले जिस्काउँछ कि नाइँ?’

‘कसैले पनि जिस्काउँदैन, अहिले सबै राम्रो छ बाबा’ भनेर मुस्कानले रसुललाई उत्तर दिएकी थिइन्।

एसिड छ्याप्ने वीरगञ्ज– २ छप्कैयाका सम्साद मियाँलाई प्रहरीले पक्राउ गर्‍यो। केही समयपछि प्रहरीले एसिड प्रहारका याेजनाकार सोही ठाउँका माजिद आलमलाई पनि पक्राउ गरेको छ।

मुस्कानका बुवा रसुल अन्सारी।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रेम प्रस्ताव स्वीकार नगरेका कारण मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे प्रहरीले जनाएको छ।

मुस्कानको सपना


नाै कक्षामा पढ्दै गरेकी मुस्कान पढाइमा अब्बल छिन्। उनी पढेर परिवारका लागि केही गर्न चाहन्छिन्। मुस्कान रसुल र सहनाजका पाँच सन्तान मध्यकी माइली हुन्।

मुस्कानकी १७ वर्षकी दिदीको बिहे भइसकेको छ। मुस्कान भन्दामुनि १२ वर्ष र ८ वर्षका दुई भाइ र ५ वर्षकी एक बहिनी छन्। मुस्लीम समुदायमा सानै उमेरमा बिहे गरिदिने र छोरी नपढाउनै चलन कायमै छ। तर मुस्काललाई त्यसको असर परेन। रसुल र सहनाजलाई छोरीलाई किन पढाउनु पर्‍यो भनेर आफन्तले समेत भन्ने गरेका थिए।

‘उसको धेरै पढ्ने सपना छ’, आमा सहनाजले भनिन्। मुस्कानलाई बिहेका लागि धेरै ठाउँबाट कुरा नआएको पनि होइन। घरमा बिहेको कुरा आउने बित्तिकै उनी आफू पढ्ने बताउँदै, बिहेको कुरा अस्वीकार गर्थिन्।

बुवाको दुःखलाई नजिकबाट नियालेकी मुस्कानले १२ कक्षा पास गरेपछि बुवाको काममा सहयोग गर्ने बताउँथिन्।

उनी बुवा आमालाई भन्ने गर्थिन्, ‘म धेरै पढेर जागिर खाएर तपाईहरुलाई सुख दिन्छु।’ उनको यस्तो कुरा सुनेर रसुल र सहनाजले मुस्कानलाई धेरै पढाउने सोच बनाएका थिए।

परिवारका माग


मुस्कान जुन पीडाबाट गुज्रनु परेको छ, उनीहरु पनि त्यस्तै पीडाबाट गुज्रनु पर्ने रसुलले बताए। उनले भने,‘कुनै कसुर विना नै मेरी छोरीले जुन दुःख भाेगिरहेकी छे, उनीहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।’

यसअघि सहनाजले एसिड प्रहारका समाचार सुने पनि देखेकी भने थिइनन्। टिभीमा हेर्दा उनलाई इण्डियामा यस्ताे हुँदोरहेछ भन्ने लागेकाे थियाे। तर आफ्नै छोरीलाई यस्तो होला उनले कहिले पो सोचिन् होला र? उनले भनिन्,‘मेरो नानुसँग यस्तो घटना घट्दा म मर्छु जस्तो भएको थियो।’

उनी फेरी थप्छिन्,‘अपराधीलाई जन्मकैदको सजाय हुनुपर्‍यो, होइन भने उनीहरुमाथि पनि एसिड हाल्दिनु पर्‍यो।’

के छ मुलुकी ऐनमा?


एक वर्ष अगाडि आएको मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।

कसुर गरेको हकमा सजायः कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।

त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।

नेपालमा कानुनी व्यवस्था फितलाे हुँदा यस्ता अपराधिक घटना भइरहेकाे सराेकारवालाले बताउने गरेका छन्।

भिडियो यहाँ हेर्नुहोस्:

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्