अन्तर्राष्ट्रिय फुटबलमा एक वर्षपछि नेपालको जित, ६ हार र दुई बराबरीको क्रम तोडियो

दुई गोल गरेका अन्जन विष्ट। फाइल तस्विर

काठमाडौँ–  सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले एक वर्षपछि पहिलो जित हात पारेको छ। विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले  चाइनिज ताइपेईलाई २-० गोलले हरायो।

नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अन्तिमपटक हात पारेको जित सन् २०१८ को सेप्टेम्बरमा बंगलादेशमाथी थियो जुन खेल नेपालले २-० गोलले जितेको थियो साफ च्याम्पियनसिपअन्तर्गत। यसबीचमा नेपालले ६ हार र दुई बराबरीको नतिजा निकालेको थियो।

विज्ञापन

यसबीचमा खेलेका अन्तर्राष्ट्रिय खेलमा नेपालले एक गोलमात्र गरेको थियो, मैत्रिपूर्ण खेलमा चाइनिज ताइपेईविरुद्ध। गत जुनमा भएको उक्त मैत्रिपुर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

मंगलबार चाइनिज ताइपेईको मैदानमा भएको खेलमा नेपालका अन्जन विष्टले दुवै गोल गरे। सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका अन्जनले उत्कृष्ट प्रदर्शन गरे। सिनियर राष्ट्रिय जर्सीमा अन्जनको तीन गोल पुगेको छ।

तेस्रो मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए। ६२ औँ मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर बनाएको थियो। पहिलो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ७-० गोलले पराजित भएको थियो।

पाँच टोली रहेको समूह ‘बी’ मा नेपाल, कुवेत, चाइनिज ताइपेई र अस्ट्रेलिया छन्। होम एन्ड अवे आधारमा खेलेपछि समूहको शीर्ष दुई टोली विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणमा पुग्नेछन्। नेपालले तेस्रो खेल १० अक्टोबरमा अस्ट्रेलियासँग उसको मैदानमा खेल्ने छ।

 

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्