दशै, तिहार अगावै विराटनगरको समस्‍या हटाउन नगरप्रमुखको निर्देशन

मोरङ- दशै, तिहार अगावै महानगरभित्र सडकसँग सम्बन्धित समस्या हटाउन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

महानगर प्रमुख पराजुलीले सोमवार र मंगलवार दुइदिन महानगर अनुगमनका क्रममा नजिकीदो चाडपर्व अघि बजार क्षेत्रको सडक कालोपत्रे गर्ने, र समस्या भएका स्थानको निकास निकाल्न निर्देशन दिएका हुन्।

विज्ञापन

विकास निर्माणको काममा सानातिना कुराले ब्यवधान गरेको बताउदै प्रमुख पराजुलीले सडक बिस्तार र विकासका काममा कुनै संझौता नगरिने बताएका छन्। नगरका कतिपय स्थानमा तोकिएको मापदण्ड विपरीत निर्माण भएका घर, पर्खाल स्थानीयले नभत्काँउदा सडकको ढल र नाला बनाउने काममा समस्या रहेको छ।

कतिपय स्थानमा रहेका मन्दिर र धर्मशालाहरुका कारण समेत विराटनगरका सडकको काममा अवरोध छ। महानगरमा एशियाली विकास बैकको आर्थिक सहयोगमा मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजना, क्षेत्रीय शहरी विकास परियोजना अन्तरगत नगरको भौतिक सुधारको काम जारी छ।

अनुगमनका क्रममा क्षेत्रीय शहरी विकास परियोजना अन्तरगतका बिज्ञ, परामर्शदाता वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्