केन्द्रिकृत मानसिकताबाट संघीयतालाई घाटा: मुख्यमन्त्री पोखरेल

काठमाडौं:  प्रदेश पाँचका मुख्य मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर पोखरेलले प्रशासनिक, राजनीतिक र आर्थिक तहसँगै आम जनतामा केन्द्रिकृत मानसिकताको वर्चस्व परम्परागतरुपमा रहँदै आएकाले संघीयता प्रतिकूल बहस र व्यवहार ब्याप्त रहेको बताएका छन्।

संघीयता कार्यान्वयनकै क्रममा प्रदेश सरकारको नेतृत्व गरी केही असामान्य प्रगति हासिल गरेता पनि प्रतिकूल वातावरणमा ती उपलब्धी बिलाएका मात्र हैन, सञ्चारको नजरबाट पनि ओझेलमा परेको उनले बताए। काठमाडौंमा केही पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘एउटा वर्ग पहिलादेखि नै खुलारुपमा संघीयताको विरोध गर्दै आएको भएतापनि आमुल परिवर्तन र संघीयताका पक्षधर शक्तिहरुले त्यो भ्रम चिर्न पर्याप्त काम गरेका छैनन्।’

विज्ञापन

शक्तिको श्रोत काठमाडौंमा नै रहेको मान्यता दिमागमा गाढेर राखेको जनमानसमा संघीयताबारे उदासिनता र अड्कलबाजी हुनु आश्चर्यको कुरा नभए पनि जनतालाई प्रभावकारी सेवा यो व्यवस्थामा दिन सकिने उनले दावी गरे।

कानुन निर्माण र केन्द्र तथा प्रान्तका अधिकारको साझा सूची या ‘कन्करेन्ट लिस्ट’मा पर्याप्त बहस र स्पष्टता नहुँदा अहिलेको द्विधायुक्त परिस्थिति उब्जेको उनको विश्लेषण छ।

यति हुँदाहुँदै पनि आफ्नो प्रदेश पाँचले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताए। राष्ट्रिय कुल गाहर्स्थ उत्पादन वृद्धिदर ७.१ को तुलनामा प्रदेशको वृद्धिदर ७.७ प्रतिशत रहेको र अनुकुल परिस्थिति रहेमा आफ्नो बाँकी ४ वर्षे कार्यकालमा वृद्धिदर १० प्रतिशत पुग्ने दावी पनि उनले गरे। यो विचमा नै प्रदेशमा करिब २ सय किलोमिटर सडकमा कालोपत्रे गरिएको दावी गर्दै केन्द्रले साढे ३ अरब रुपैयाँ अनुदान दिएमा विगत दशकौँदेखि लम्बित जनचासोका सबै परियोजना पुरा गर्न आफु सक्षम रहेको पनि उनले बताए।।

संघीयताको वचाउ गर्दै उनले यसलाई प्रभावकारी रुपमा अगाडी नबढाइए यसले समग्र परिवर्तित पद्धतिलाई नै आघात पुर्‍याउने आशंका पनि व्यक्त गरे।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्