पोखरामा डेंगीका बिरामी हजार माथि, अस्पताल खचाखच

सांकेतिक तस्बिर

पोखरा-पोखरामा डेंगीका बिरामी १ हजार नाघेका छन्। साउन १६ गते पहिलोपटक पोखरा ८ शिवालयचोकबाट १ जनामा देखिएको डेंगी मंगलबारसम्म १ हजार १ सय १७ जनामा देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर निरीक्षक याम बरालले बिरामीको पोखरास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
सबैभन्दा धेरै पोखराको ९ नम्बर वडामा डेंगीका बिरामी देखिएका छन्।

विज्ञापन

कार्यालयको अन्तिम रिर्पोट अनुसार उक्त वडामा २ सय ७० जना डेंगीबाट संक्रमित भएको बरालले जानकारी दिए।वडा ८ उस्तै जोखिममा छ।उक्त वडामा २ सय ३१ जनामा डेंगी देखिएको छ।

डेंगीबाट संक्रमितहरुमध्ये सबैभन्दा धेरै पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत छन्।जिएमसीमा मात्रै ३ सय ८९ जनाले उपचार गराइरहेको भेक्टर निरीक्षक बरालले जानकारी दिए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा ७९, फेवासिटीमा १ सय ८७, फिस्टेलमा १ सय २५, मनिपालमा ७४ जनाले उपचार गराइरहेको उनले बताए।अन्य निजी र सामुदायिक अस्पतालमा समेत बिरामीको चाप थपिदैँ गएको छ।

खोज्ने र नष्ट गर्ने अभियान निरन्तर चलाइरहेको भएपनि दिनप्रतिदिन डेंगीका बिरामी थपिदैँ जाँदा नियन्त्रणमै चुनौती थपिएको छ।अस्पतालमा बिरामीको चाप समेत बढ्दा उपचारमा समेत समस्या देखिने निश्चित प्रायःछ।

कार्यालयले सम्पूर्ण स्रोत साधन लगाएर डेंगी नियन्त्रणमा प्रयास गरिरहेको भेक्टर निरीक्षक यम बराल बताउँछन्।‘डेंगी नियन्त्रणकै लागि कार्यालयमा एक रुपैयाँ बजेट समेत छैन्,’ उनले भने, ‘तर कार्यालयका तर्फबाट व्यवस्थापन गर्दै अहिलेसम्म काम चलाइरहेका छौं।’

गण्डकी प्रदेश सरकारले २१ लाख रुपैयाँ विनियोजन गरेको भएपनि प्रक्रियागत रुपमा आइपुग्दा बिलम्ब भएको स्वास्थ्य निर्देशनालयका बरिष्ठ मेडिलक अफिसर डा भोजगार गौतमले जानकारी दिए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगी परिक्षण किट अभावमा बिरामीले निजी क्लिनिक र अस्पतालमा मँहगोमा खरिद गरिरहनु परेको छ।प्रदेशको २१ लाख बजेटमध्ये ५ लाख रुपैयाँ किट खरिदका लागि प्रस्ताव गरिएको भएपनि हालसम्म खरिद प्रक्रियामै समय लागिरहेको डा गौतमले जानकारी दिए।

‘बजारमा किटको माग अत्यधिक भएकाले पैसा भएपनि किट पाइहाल्ने अवस्था देखिएको छैन्,’ उनले भने, ‘अहिलेसम्म म्यानेज भइरहेको छ।खरिद प्रक्रिया मार्फत ५ लाख रुपैयाँ बराबरको किट प्रदेशमा आउँछ।’

निजी क्लिनिक तथा अस्पतालले किट अभावको बहानामा बिरामीबाट १ हजारदेखि माथिसम्म असुल्दै आएका छन्।गतवर्षसम्म सरकारले निशुल्क उपलब्ध गराउँदै आएको उक्त किट यसवर्ष उपलब्ध गराएको छैन्।

प्रयोगशालाबाट रक्त परीक्षण गराउँदा रिपोर्ट आइपुग्न समय लाग्ने र बिरामी बढी हतोत्साही हुने हुँदा किट सरल माध्यमको रुपमा प्रयोगमा आएको थियो। प्रदेशकै ठूलो गण्डकी अस्पतालमा किट अभाव हुँदा उपचारमा समेत समस्या भइरहेको चिकित्सकहरुले गुनासो पोखेका छन्।

भदौ २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्