नेपालगञ्ज – बीच बाटोमा शिव मन्दिर। मन्दिरको ठिक अगाडि राखिएको थियो, ताजिया। हेर्दा पनि सद्भाव झल्किने दृश्य थियो। यस्ता दृश्यलाई नेपालगञ्जको अर्को परिचय भन्दा पनि हुन्छ। सामाजिक सद्भावको नमूना।

अझ पाँच/पाँच मिनेटको दूरीमा मन्दिर, मस्जिद, गुरुद्वारा र चर्च भेटिन्छन्। धार्मिक विविधता रहेको नेपालगञ्ज समग्रमा सद्भावको शहर हो। एक अर्काको पर्वमा सहभागी भएर शुभकामना साटासाट गर्नु यहाँको विशेषता नै बनेको छ।

मुस्लिम समुदायले मंगलबार उल्लासमय वातावरणमा ताजिया बिसर्जन गरेका छन्। एकअर्कामा शुभकामना साट्दै ताजिया बोकेर अघि बढेका मुस्लिम समुदायले नजिकको कर्बलामा लगेर ताजिया बिसर्जन गरेका छन्। घरघरबाट निकालेको ताजियालाई सामूहिक रुपमा लगेर नजिकको कर्बलामा बिसर्जन गरिएको अगुवा सलाउद्दिन जसगढले बताए।

इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४१ को १० औँ तारिखका दिन मोहर्रम मनाउने गरिन्छ। मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो। हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औँ दिन विशेष महत्वको हुने गर्दछ।

इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन छ। ताजिया बिसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई खाना पकाएर खुवाउने गरिन्छ।