विश्वभरका कवि-गीतकारले हृदयबारे यतिका शब्द खर्चेका छन् जसको गणना गर्नु असम्भव नभए पनि सजिलो भने छैन। यस्तो हुनुका पछाडि भने विज्ञानको विधार्थी भएका नाताले, ‘मलाई यस्तो अदृश्य भाव सम्प्रेषण कवि हृदयसम्म कुनै अज्ञात मार्गबाट आइपुगेको प्रतीत हुन्छ,’ जसको वास्तविक सम्बन्ध भने जीव विज्ञानको प्रयोगशालासँग छ।

वैज्ञानिकले प्रयोगशालामा भ्यागुतामाथि एउटा प्रयोग गरेका थिए, प्रयोगमा उनीहरुले भ्यागुताको मस्तिष्क नष्ट गरेर सुक्ष्म अवलोकन गरे। परिणाम आश्चर्यजनकरुपले अप्रत्याशित प्राप्त भयो।

‘भयागुताको मस्तिष्क पूर्णरुपले मृत भए पनि ‘रक्त मांसल पुष्ट मुटु’ भने  आरोहअवरोहको स्वभावगत प्रक्रिया बेफिक्रीका साथ सञ्चालित गरिरहेको थियो । बस के थियो, वैज्ञानिकले निष्कर्ष निकाले – मुटुका गतिविधि सम्पादित हुनलाई मस्तिष्कको अपरिहार्यता छैन।’

हृदयको संकुचन स्वायत्त छ, हृदयलाई आरोह -अवरोहको सप्तम तालमा नृत्य  गर्न कुनै संगीतमर्मज्ञ वा नृत्यनिर्देशकको इशारा आवश्यक छैन। त्यो गीतकारले भन्छन नि, ‘दिल तो पागल है’,’दिल तो बच्चा है, ‘पागल दीवाना है।’ अब पागल, बच्चा, दीवाना र यस्तै आदि अन्य उपमा भएकालाई नियन्त्रणमा राख्नु सम्भव हुन्छ के?  कवि गीतकारले हृदयको यसै स्वायत्तपनको मर्म बुझी आफ्ना विभिन्न अभिव्यक्तिले यसको गुणगान गर्ने निरन्तरता कायम राख्दै आएका छन्।

पक्कै पनि कवि गीतकारलाई  शरीरको यस अंग विशेषबारेको वैज्ञानिक तथ्य थाहा छैन, ‘हृदयको आफ्नै तन्त्र एवं प्रणाली हुन्छ जसले आफ्ना समस्त क्रियाकलाप मस्तिष्कको सहयोग नभए पनि सुचारु राख्नसक्छ।’ आधुनिक विज्ञानभन्दा लौकिक विज्ञानको उदय धेरै पहिला भएको हो। यसै लौकिक विज्ञानको प्रकाशमा कवि गीतकारले  ह्रदयको महिमा  युगौंदेखि गाइआएका छन्।

सत्य के हो भने मुटुको ढुकढुकी मुटुभित्रै जन्मिञ्छन्। एउटा तरंगजसरी, लहरजसरी मुटुको एउटा  कुनामा उत्पत्ति हुन्छन् र सम्पूर्ण मुटुमा विशिष्ट क्रमले फैलिन्छन्। विशिष्ट क्रमले फैलिनुको अर्थ, ‘मुटुका बेग्लाबेग्लै भागमा रगत एकत्रित होस् र जम्मा भएको रगतलाई शरीरका विभिन्न अंगको आवश्यकता पूर्तिहेतु आपूर्ति गर्ने सहजता कायम होस्।’ आधुनिक विज्ञान भन्छ- मस्तिष्क न भए पनि मुटुको ढुकढुकी, आरोह-अवरोह निर्वाध सञ्चालित भइरहन सक्छन्। तर यसका लागि एउटा परिस्थति भने  रहिरहनु पर्छ, ‘त्यो हो निरन्तर अक्सिजनको आपूर्ति,’  अक्सिजन नै यसको आहारा हो, अक्सिजनको अभावमा यसका मांसपेशी र ढुकढुकी गर्ने तन्त्र बाँच्न सक्दैनन्।

तर तपाईँहामीले पढ्दै आएका छौँ, मस्तिष्कको अनुपस्थितिमा शरीरका कुनै अंग सञ्चालित हुन् सक्दैनन्। अब यस ज्ञान वा जानकारीलाई के गर्ने? बुझ्नुस्-  मानिसको शरीर संरचना अत्यन्त जटिल प्रक्रिया हो, एकपक्षको अध्ययनले यसको रहस्यधर्मिता उजागर हुँदैन।

यो बुझ्न समस्त शारीरिक कार्यप्रणाली बुझ्नु पर्छ। अब तपाईँलाई जिज्ञासा भयो होला, त्यसो भए मस्तिष्कले हृदय सञ्चालनमा कस्तो भूमिका राख्छ? हृदय सञ्चालनमा मस्तिष्कको भूमिका छ कि छैन? हृदयमाथि मस्तिष्कको नियन्त्रण हुन्छ  कि हुन्न?

मस्तिष्कले हृदयको ढुकढुकी घटाउन -बढाउन सक्छ, ढुकढुकीमाथि नियन्त्रण राख्छ, तर हृदयमा ढुकढुकी उत्पन्न हुनुमा मस्तिष्कको कुनै भूमिका हुन्न। मस्तिष्क हुनु र नहुनुमा हृदयको ढुकढुकीले खुशी अथवा दुखमनाउ गर्दैनन्।

यसमा संशय लिनु पर्दैन। यो सर्वविदित र सर्वस्वीकृत तथ्य हो, शरीरको एकमेव नियन्ता मस्तिष्क नै हो। शरीरका सबै अंगसम्म यसको पहुँच र प्रभावकारिता रहेको विज्ञानसम्मत प्रमाणिक तथ्य हो। तर हृदय र मस्तिष्कको अन्तर्सम्बन्धबारे तपाईँले बुझ्नुपर्छ। हृदयमाथि मस्तिष्कको नियन्त्रण छैन भन्ने होइन। मस्तिष्कले तन्त्रिकातन्त्रका माध्यमले हृदयमाथि पनि नियन्त्रण राख्छ।

मस्तिष्कले हृदयको ढुकढुकी घटाउन -बढाउन सक्छ, ढुकढुकीमाथि नियन्त्रण राख्छ, तर ह्रदयमी ढुकढुकी उत्पन्न हुनुमा मस्तिष्कको कुनै भूमिका हुन्न। मस्तिष्क हुनु र नहुनुमा हृदयको ढुकढुकीले खुशी अथवा दुखमनाउ गर्दैनन्।

एकजना कोही मानिस अस्पतालमा उपचारार्थ भर्ना छ। उसको रगतमा करोडौँ रसायन छन्। रगतमा भएका केही रसायनको मात्रामा तल-माथि हुन गयो, परिणामस्वरूप हृदयको ढुकढुकी थामियो। फलस्वरुप उसको मुटुले अन्य अंगलाई गर्दै आएको रगतको वितरण कार्य थामियो।

मस्तिष्कलाई पनि रगत आपूर्ति हुन सकेन। रगतबाट प्राप्त हुने अक्सिजन नपाएर मस्तिष्कका विभिन्न भाग मुत्योन्मुख भए। केही भाग तत्काल मृत्युवरण गरी शान्त भए र केही भाग सुस्तरी मृत्युगामी भई अन्ततः सम्पूर्णरुपमा मस्तिष्कले सदाका लागि परम शान्तिको अवस्थामा आफूलाई विलीन गर्‍यो।

डाक्टरले भने बिरामीसँग गर्ने आफ्ना प्रयास जारी नै राखिरहे। मुटु थपथपाए, केही  इञ्जेक्शन  लगाए र अन्य जानेका उपलब्ध सबै उपाय प्रयोग गर्दै  भने- दिल पुकारे आ रे आ रे…। बिरामीको हृदयले डाक्टरको पुकारमा पुनः आरोहअवरोह  प्रारम्भ गर्‍यो, मुटुको जीवन फर्कियो, तर मस्तिष्क परम शान्तिमा गइसक्यो। के मस्तिष्कका मृत भइसकेका कोशिका पुनः ब्युँतिन सक्छन्?  जबाब बडो निर्दय छ- ‘नो, नेभर ,इट्स  जर्नी ह्याभ बिन कम्प्लिटेड ,नो मोर होप।’

अब यस बिरामीको मुटु स्पन्दित भइरहेको छ। श्वासप्रतिस्वास  ‘भेन्टिलेटर’का माध्यमले चलिरहेको छ। शरीर तातो र रातो नै छ, किनकि रगतको आपूर्ति सुचारु भएको छ। तर मस्तिष्क भने जिउँदो छैन ,यो सधैँका लागि निदाइसक्यो। चिकित्सकीय भाषामा यस व्यक्तिको ‘ब्रेन डेड’ भइ सक्यो। ‘ब्रेन डेड’ अर्थात व्यक्ति अब छैन, अब चाहे यसको मुटु वर्षौँ  स्पन्दन गरिरहोस्, बाह्य  उपकरणले यसको श्वासप्रस्वास चलिरहोस्। मुटु चल्नु, श्वास चल्नु, रगत सञ्चालित हुनु आदिको अब यससँग कुनै अर्थ छैन, किनकि अब यो कहिल्यै चैतन्य हुँदैन। यसले कुनै अनुभूति गर्दैन; न सुख ,न दुख, न यसले कहिल्यै केही सोच्छ, न विचार गर्न सक्छ।

एउटा वैज्ञानिक उपकरणले यसका श्वास चलाइरहेको छ, जसले यसको मुटुलाई अक्सिजन आहारा उपलब्ध भएर यसको ‘जैविक पम्पिङ’ गर्ने कार्य भइरहेको छ। यी सबै कार्य उपकरणका माध्यमले भइरहेका छन्, चिकित्सकीय ‍दृष्टिमा यस व्यक्तिको मृत्यु भइसक्यो।  तर घर परिवारका समान्यजनले कसरी विश्वास गरुन्, ‘बिरामीको शरीर अझै तातो छ, रातो छ, श्वास चलिरहेको छ, मरिसकेको कसरी विश्वास लिउन्?’

उसको १५ वर्षीय छोरो भन्छ, बाबा अझै श्वास फेर्दै हुनुहुन्छ, मुटु ढुकढुक गरिरहेको छ, ल छातीमा कान लगाएर सुन त !

आफन्तजनले डाक्टरसँग सोध्छन्- के हाम्रो बिरामी कोमाबाट बाहिर आउन सक्दैन?  हतार नगर्नुस ,’भेन्टिलेटर’ न झिक्नुस्, कस्ता-कस्ता केसमा त मानिस बाँचेका छन्। तपाईहरु प्रयास गर्न नछाड्नुस्।

डाक्टर के गरोस्? उसलाई थाहा छ, बिरामी कोमामा होइन। उसको ‘ब्रेन डेथ’ भइसक्यो। ब्रेन डेथ र कोमा बेग्ला बेग्लै स्थिति हुन् र डाक्टरका लागि यी दुई स्थिति मात्रै होइनन्, उसका लागि ‘पर्सिसटेन्ट भेजिटेटिभ  स्टेट’ र ‘लक्ड इन सिन्ड्रोम’ अवस्था पनि छन्।

डाक्टर बिरामीका आफन्तजनलाई बुझाउने प्रयास गर्छ, बिरामी कोमामा होइन, उसको ‘ब्रेन डेथ’ भइसक्यो। वैज्ञानिक उपकरण र औषधिले सञ्चालित भइरहेको बिरामीको शरीर अब स्वयं पनि एक यन्त्रभन्दा बढी छैन। हो, यो हृदयकै पागलपन हो, दीवानापन हो, जिद्दीपन हो, बालसुलभ हठ हो, जे उसले वस्तुस्थितिलाई स्वीकार नगरी आफ्नो ढिपी जारी राखेको छ।

(चिकित्साशास्त्रमा एम डी (मेडिसिन) का साथै इम्युनोलोजीमा डीएम  गरेका स्कन्द शुक्ल बाथरोग विशेषज्ञका रुपमा कार्यरत छन्। लखनउ निवासी उनको साहित्यप्रति विशेष अनुराग छ, साहित्यका विभिन्न विधामा उनका कैयौँ पुस्तक प्रकाशित छन्।)

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्