ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई बर्खास्त गरे, तर बोल्टनको भनाई फरक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरेका छन् । ट्रम्पले कट्टर राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेको घोषणा गरेका हुन् ।
बोल्टनसँग आफ्नो विचार गम्भीर रुपले बाझिएकाले बर्खास्त गरेको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले ट्वीट गरेका छन्, ‘मैले बोल्टनलाई राजीनामा दिन आग्रह गरेँ, उनले मंगलबार बिहान राजीनामा बुझाए ।’
I informed John Bolton last night that his services are no longer needed at the White House. I disagreed strongly with many of his suggestions, as did others in the Administration, and therefore….
— Donald J. Trump (@realDonaldTrump) September 10, 2019
बोल्टनको ठाउँमा आउने व्यक्तिको नियुक्ति अर्को हप्ता गर्ने पनि ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले बर्खास्त गरेको बताए पनि बोल्टनले भने आफैले पद त्यागेको बताएका छन्, र आफ्नो भन्नु पर्ने कुरा बाँकी रहेको उल्लेख गरेका छन् ।
बोल्टनले राष्ट्रपति ट्रम्पले विदेश नीतिका सम्बन्धमा गर्न चाहेका विभिन्न परिमार्जनमा असहमति जनाउँदै आएका थिए । विशेष गरी अफगानिस्तान र इरानसँगको नीतिका सम्बन्धमा बोल्टनको विमत्ति छ ।
बोल्टन सन् २०१८ को अप्रिलदेखि राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए । माइकल फ्लीन र एचआर म्याकमास्टरपछि बोल्टन नियुक्त भएका थिए ।
ट्रम्पले ट्वीट गरेर बर्खास्त गरेको बताएको केहीबेरपछि नै बोल्टनले ट्वीट मार्फत नै आफ्नो भनाई प्रस्तुत गरेका छन् । आफूले राजीनामाको प्रस्ताव गरेको र ट्रम्पले ‘यसबारे भोलि कुरा गरौँला’ भनेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।
I offered to resign last night and President Trump said, “Let’s talk about it tomorrow.”
— John Bolton (@AmbJohnBolton) September 10, 2019
बोल्टनले फक्स न्युजका पत्रकार र वासिङ्गटन पोस्टका पत्रकारलाई आफूले राजीनामा दिएको भन्दै म्यासेज गरेका थिए । उनले ती म्यासेजमा लेखेका छन्, ‘मेरो बाँकी भनाई मैले राख्ने छु, मेरो अन्तरआत्माको चासो भनेको अमेरिकाको राष्ट्रिय सुरक्षा नै हो ।’