मनाङको हुम्डेमा नियमित उडानको तयारी

पोखरा – हुम्डे विमानस्थलमा पक्की धावनमार्ग बनेको झण्डै पाँच वर्षपछि नियमित उडान सेवा हुने भएको छ । मनाङमा समिट एयरले उडान भर्ने भएको हो ।

गण्डकी प्रदेश सरकारको समन्वयमा मनाङ उडान भर्न समिट एयरले चासो देखाएको हो । प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले मनाङमा औपचारिकरुपमै वायु सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘पहिलोपटक भदौ २७ गते मौसमले साथ दियो भने एउटा उडान हुन्छ,’ उनले भने, ‘असोज १० गतेबाट नियमित उडान गर्ने तयारी भइसकेको छ ।’ पोखराबाट मनाङ उडान अवरुद्ध हुँदा हिमालपारिका नागरिकले भोग्नु परेको समस्याको अन्त्य हुने उनको भनाइ छ । ‘नियमित उडान हुनासाथ पर्यटकीय गतिविधिमा बढोत्तरी हुन्छ,’ मन्त्री लम्साले भने ।

पोखराबाट सातै प्रदेशमा नियमित उडानका लागि सम्भावना देखिएकाले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति समेत लिइसकिएको उनले बताए । विस्तृत अध्ययन गरेर सबै प्रदेशका मुख्य सहरमा पोखराको सिधा हवाई सम्पर्क स्थापित गराउन मन्त्रालयले काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिए ।

परीक्षण उडानका लागि समिट एयरले भदौ २७ गते अनुमति लिएको नागरिक उड्यन प्राधिकरण पोखरा शाखा प्रमुख भोला गुरागाईले जानकारी दिए ।

‘मनाङस्थित विमानस्थलको अवस्था ठिक छ । अहिले १ जना कर्मचारी छन् । १ जना कर्मचारी थप हवाइजहाज कन्ट्रोलर पठाउँदै छौं,’ उनले भने, ‘टेस्ट फ्लाइट सम्पन्न भएपछि नियमित उडानका लागि सेडुअल स्वीकृत गराउने काम हुन्छ ।’ नियमित उडान भर्न प्राधिकरणले नै चाहेकाले पनि सम्भावना बढेको उनले सुनाए ।

अक्टोबरदेखि पर्यटकीय गतिविधि बढ्ने हुँदा तत्कालका लागि परीक्षण उडानमा तयारी थाल्न मनाङका प्रतिनिधि सभा सांसद पोल्देन छोपाङ गुरुङले निकायहरुमा समन्वय बढाएका थिए ।

मनाङमा नियमित उडान सम्भव भएकाले पनि सिजन सुरुवातमै हवाई सम्पर्क स्थापित गराउन पहल गरेको उनले बताए ।

५ वर्षअघि ६ सय मिटरको कच्ची विमानस्थल ९ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा पिच गरी विस्तार गरिएको भएपनि उडान हुन सकेको थिएन । त्यसअघि ट्विनअटर विमानले मात्रै उडान भर्दै आएको थियो ।

सन् २०१४ सेप्टेम्बरमा जर्मनीमा निर्मित तारा एयरको डोर्नियर डो–२२८ एयरक्राफ्टले सफल परीक्षण उडान गरेको थियो । तर नियमित उडान भर्न सकेन । उक्त विमानस्थल समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा छ ।

विसं २०३९ असोजबाट निगमले पोखरा–मनाङ–पोखरा उडान भर्न सुरु गरेको थियो । नियमति विमानस्थल सञ्चालनमा आए विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको उपस्थिति बढ्ने अनुमान गरिएको छ ।
समिट एयरका पोखरा स्टेसन म्यानेजर पोषणमणि त्रिपाठीले भदौ २७ गते पहिलो उडानका लागि सम्पूर्ण तयारी गरिसकेको बताए ।

विमानस्थल निरीक्षणपछि फ्लाइटको म्यानेजमेन्ट गरिएको उनले बताए । यात्रुको माग हेरेर नियमित उडानका लागि योजना बनाउन सकिने उनको भनाइ छ ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्