पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण

हत्या अवधिको अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित, अन्तिम वाक्य, ‘दम छ, मुख बन्द नगर्नुस्’

टर्कीको एक पत्रिकाले हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा थप नयाँ विवरण प्रकाशित गरेको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको सन् २०१८ को अक्टोबर २ मा हत्या भएको थियो । उनी साउदी सरकारका गम्भीर आलोचक थिए र उनको हत्या टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा भएको हो ।

विज्ञापन

टर्कीको पत्रिकाले खाशोग्गीको हत्याका बेला रेकर्ड भएको दाबी गरिएको अडियोको विस्तृत विवरण प्रकाशित गरेको हो । टर्कीको सरकारको पक्षमा रहँदै आएको सबाह पत्रिकाले अडियोको ‘ट्रान्स्क्रिप्ट’ प्रकाशित गरेको हो । सो अडियो हत्याका बेलाको रहेको दाबी गरिएको छ र हत्याको केही समयपछि टर्कीको गुप्तचर निकायका अधिकारीले प्राप्त गरेको बताइएको छ ।

प्रकाशित गरिएको ट्रान्स्क्रिप्टमा खाशोग्गीको अन्तिम वाक्य दाबी गरिएको कुरा पनि प्रकाशित छ।

खाशोग्गी बेपत्ता हुनु पूर्व अमेरिकामा बस्दै आएका थिए । आफ्नी टर्किस फियोन्सीसँग विवाहको प्रक्रिया मिलाउनका लागि स्थानबुल पुगेका बेला उनी बेपत्ता भएका थिए । लामो समयसम्म उनको अवस्थाबारे जानकारी भएको थिएन । सुरुमा हत्याबारे जानकारी नरहेको बताएको साउदी सरकारले अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि खराब नियत भएका एजेन्टहरुले हत्या गरेको बताएको थियो ।

खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) को हात रहेको आरोप छ । उनकै निर्देशनमा खाशोग्गीको हत्या भएको दाबी गरिन्छ । तर साउदी अरेबियाले भने लगातार यो कुरा अस्वीकार गर्दै आएको छ । एमबिएस वा कुनै पनि साउदी राजपरिवारका सदस्याको संलग्नता खाशोग्गीको हत्यामा नरहेको दाबी साउदी अरेबियाको छ।

साउदी अरेबियाले खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा ११ जना विरुद्ध मुद्दा चलाएको छ।

टर्किस पत्रिका सबाहले खाशोग्गीका सम्बन्धमा लगातार विस्तृत विवरण प्रकाशित गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ । उसले यो हप्ता खाशोग्गीको हत्याका सम्बन्धमा दुईवटा विवरण प्रकाशित गरेको छ । पछिल्लो विवरणमा फरेन्सिक विज्ञ, साउदीबाट पठाइएको समूहसहितका जानकारीहरु छन् ।

खाशोग्गी कन्सुलर कार्यालयमा छिर्ने बित्तिकै सशंकित भएको सबाहको रिपोर्टमा उल्लेख छ । त्यहाँ रहेको समूहले उनलाई रियाद फर्किन भनेको तर उनले अस्वीकार गरेको उल्लेख छ । खाशोग्गीको आफ्ना छोरालाई म्यासेज गर्दै गर्दा सो समूहले उनलाई तानेर लगेको पत्रिकाले दाबी गरेको छ ।

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

खाशोग्गीले आफ्ना हत्यारालाई अन्तिम पटक आफूलाई दम रहेकाले मुख बन्द नगर्न आग्रह गरेको र त्यसपछि बेहोस भएको पत्रिकाले दाबी गरेको छ । सबाहका अनुसार उनको टाउको छोप्ने गरी राखिएको झोलाका कारण खाशोग्गी ‘सफोकेट’ भएका थिए ।

टर्कीले एक वर्षअघि यो अडियो आफूसँग रहेको बताएको थियो । त्यसपछि उसले अडियो अन्तर्राष्ट्रिय समुदायलाई उपलब्ध गराएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितले यो अडियो सुनेको बताइन्छ ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्