राष्ट्रपतिले फिर्ता गरेको राहदानी सम्बन्धी विधेयकको संसदीय प्रक्रिया पुनः सुरु हुँदै

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबारदेखि फेरि प्रक्रियामा जाँदै छ। संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनु पर्ने भए पनि प्रतिनिधिसभाले मात्रै स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ (३) अनुसार पुनर्विचार गर्न गएको जेठमा फिर्ता पठाएकी थिइन् ।

प्रतितिधिसभाले पारित गरेको दुई महिनाभित्र राष्ट्रियसभाले जस्ताको त्यस्तै वा सुझावसहित स्वीकृत गरेर पठाउनु पर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभाले कुनै निर्णय नगरेपछि सभामुख कृष्णबहादुर महराले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको विधेयक फिर्ता भएको थियो । सो फिर्ता भएको विधेयकको संसदीय प्रक्रिया पुनः सुरु हुन लागेको हो । यो विधेयकको प्रक्रिया के हुने भन्ने सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बुधबार बस्ने बैठकले निर्णय गर्नेछ ।

विज्ञापन

संवैधानिक व्यवस्था अनुसार सरकारले यो विधेयकमा पुनर्विचार गर्नु पर्ने कुरा गर्ने प्रतिबद्धता जनाएमा सीधै संसदमा लैजान सकिने व्यवस्था छ । यस्तै पुनः संसदीय समिति मार्फत अघि बढाउन सकिने व्यवस्था पनि छ । संसदीय समितिको मार्ग रोजिएमा यो विधेयक पुनः अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानेछ ।

गएको वर्षको साउन २३ गते प्रतिनिधिसभा सचिवालयमा सरकारले दर्ता गरेको विधेयक प्रतिनिधिसभामा केही संशोधनसहित गएको वर्षको असोज १० गते पारित गरेको थियो । विधेयक राष्ट्रपति कार्यालयमा पुगेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले केही प्रावधानप्रति असहमति जनाउँदै फिर्ता हुनु पर्ने माग गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले सरकार, कानूनविद् तथा सांसदहरुसँग परामर्श गरी विधेयक फिर्ता पठाएकी थिइन् ।

विधेयकको दफा १२ मा सरकारको कुनै निकायले कुनै व्यक्तिको राहदानी नबनाउन लेखी पठाएमा रोकिने भन्ने प्रावधानप्रति विपक्षी कांग्रेसको कडा आपत्ति छ । यस्तै यसमा कानूनविदहरुले पनि असहमति जनाएका थिए ।

दफा १२ को ६ मा भनिएको छ, ‘कुनै सरकारी निकायबाट राहदानी रोक्का वा जारी नगर्ने भनी लेखी आएको ।’ उक्त प्रावधानले नागरिकको राहादानी बनाएर स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने मौलिक अधिकार कुण्ठित हुने विज्ञहरुको भनाई छ ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्