वाङ यीसँगको भेटमा प्रचण्ड पुत्रीको उपस्थिति र पार्टी विदेश विभाग बाहिर राखिएपछि नेकपामा खैलाबैला

काठमाडौँ– आफ्ना राष्ट्रपति सी जिङ पिङको भ्रमणको सुरक्षा व्यवस्था र त्यसको तयारीलाई लिएर नेपालमा करिब ४० घण्टा बिताएर मंगलबार स्वदेश फर्किएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्व तहबाट फेरि एकपटक अनुशासन उल्लघंन गरेको आरोप लागेको छ।

कुटनीतिक या वैदेशिक उच्चस्तरीय भेटघाटमा पार्टीको विदेश विभागको नेतृत्वलाई समेत सामेल गराउनु पर्ने परम्परालाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तोडेको आरोप पार्टी भित्र उठ्न थालेको छ।

विज्ञापन

पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र  उपप्रमुखहरु  विष्णु रिजाल र राम कार्कीलाई कुनै पनि जानकारी नगराई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग लामो छलफल गरेका थिए।

दाहालले यो भेटवार्तामा आफ्नी छोरी गंगा दाहाललाई समेत लगेका थिए। नक्सालस्थित होटल मिरियटमा करिब एक घन्टा लामो छलफल वाङ यी र दाहालबीच भएको थियो भने वाङ यी प्रधानमन्त्री ओेलीलाई भेट्न उनकै निवास बालुवाटारमा पुगेका थिए।

वाङ यी सँगको वार्तामा अमेरिकाद्धारा अघि सारिएको इन्डोप्यासेफिक रणनीतिमा चीनले जस्तै नेपालले पनि समर्थन नजाउने र हङकङ चीनकै भू–भागको हैसियतमा रहकाले त्यहाँ आन्तरिक स्थितिमा हस्तक्षप स्वीकार्य नहुने आफ्नो धारणा दाहालले प्रस्तुत गरेको चिनियाँ पक्षले जनाएको छ।

दाहालको सरकार र दलको नीति हो या उनका निजी भन्ने स्पष्ट हुनुपर्ने नेकपाका एक उपल्लो तहका नेताले बताएका छन्।

गत वर्ष संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले इन्डो प्यासेफिक रणनीतिलाई नेपालले समर्थन गरेको दाबीका साथ अमेरिकी विदेशमन्त्री जर्ज पाम्पियोले नेपाललाई धन्यवाद दिएका थिए, प्रधानमन्त्री ओलीलाई लेखेको एक पत्रमार्फत।

दाहालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सि चिङ पीङको नेपाल भ्रमण उचित समयमा हुने तर्फ संकेत गरेको छोरी गंगाले सञ्चार माध्यमबाट सार्वजनिक गरेकी थिइन्।

दाहाल र वाङ यी बीचको भेटवार्तामा गंगाको सहभागिता कुन हैसियतमा भयो ? त्यसले पार्टीभित्र असन्तुष्टि पैदा गरेको छ।

पर्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले नेतृत्वले आफ्नो विभागलाई खबर नै नगरी विदेशी उच्च भेटघाट गर्नु अनुचित भएको भन्दै त्यसबारे बुधबारको सचिवालय बैठकमा कुरा उठाउने सक्ने पार्टीको उच्च स्रोतले जानकारी दिएको छ।

वाङ यी र ओली तथा दाहालबीच भएको भेटवार्तामा पार्टीको प्रचार विभागलाई पनि खबर नगरिएको र त्यसलाई लिएर प्रचार विभागका प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सुर्य थापा पनि असन्तुष्ट बनेको बुझिएको छ।

भदौ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू